पीएम कप आगामी सातादेखि



काठमाडौं, (नेस)
तेस्रो संस्करणको प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रि«य क्रिकेट प्रतियोगिता आगामी सातादेखि शुरु हुने तय भएको छ ।

पटक पटक मिति सारिएको पीएम कप अन्ततः जेठ १० गतेदेखि मूलपानी र किर्तिपुरको मैदानमा आयोजना गरिने शनिबार राष्ट्रिय खेलकुद परिष (राखेप) ले जानकारी गरायो । यसअघि प्रतियोगिता जेठ १ गतेदेखि शुरु हुने भनिएपनि प्राविधिक कारण देखाइ जेठ ८ गतेबाट पक्कै थालनी गर्ने जनाएको थियो । तर यो मितिमा प्रतियोगिता आयोजना गर्न सकिएन ।

जेठ २५ गतेसम्म हुने पीएम कपलाई एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रयोजन गर्नेछ । सोही कार्यक्रमअन्तर्गत खेलतालिका र जर्सी पनि सार्वजिनक गरिएको छ । नेपाल पुलिसका कप्तान मञ्जित श्रेष्ठ, एपीएफ क्लबका उप कप्तान पृथु वास्कोटा, त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारी, प्रदेश तीनका कप्तान पारस खड्काले जर्सी सार्वजनिक गरेका थिए ।

प्रतियोगितामा ७ प्रदेश र तीन विभागिय गरि १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समुह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदुरपश्चिम र गण्डकी रहेका छन् । समुह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।

उद्धघाटन खेल जेठ १० गते मुलपानी मैदानमा नेपाल पुलिस क्लब र प्रदेश १ बीच हुनेछ । त्यसै दिन टीयू मैदानमा आर्मी र प्रदेश २ बीच प्रतिस्पर्धा हुने छ । राउन्ड रोविन लिग पछि समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । जेठ २२ र २३ गते सेमिफाइनल र २५ गते फाईनल खेल हुनेछन् ।

प्रधानमन्त्री कपको विजेताले उपाधिसहित २० लाख रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीले मोटर साइकल पाउने छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा एक हातले क्याच लिने दर्शकले ५० हजार रुपैयाँ पाउने छन् । १ करोड ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । गत वर्ष नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्