त्यसरी देश बन्दै बन्दैन



कृष्णप्रसाद दाहाल

(सांसद– नेकपा, मकवानपुर –१)

कृष्णप्रसाद दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । उहाँले २०४८ र २०५६ सालको पनि प्रतिनिधिसभाको निर्वाचन जित्नुभएको थियो । उहाँको सधैं कमल थापासँग नै प्रतिस्पर्धा हुँदै आएको छ । यसपालि थापालाई नै उहाँले हराउनुभएको हो । नेपाली कांग्रेसले मकवानपुर–१ बाट उम्मेदवारी दिएको थिएन ।

राप्रपासँग तालमेलपछि थापा कांग्रेसको पनि उम्मेदवार हुनुभएको थियो । यसअघि संविधानसभामा ४ वटा क्षेत्र रहेको मकवानपुरमा गत साल सम्पन्न निर्वाचनमा २ वटामात्र क्षेत्र भए । दाहालले जितेको यो ठाउँमा २०७० सालको संविधानसभामा इन्द्रबहादुर बानियाले जित्नुभएको थियो । अहिले बानिया अर्को क्षेत्रमा गएर प्रदेशसभामा निर्वाचित हुनुहुन्छ ।

संसदको अर्थ समितिका सभापतिसमेत रहनुभएका दाहाल सरकारले गरेका सबै काम जनताको पक्षमा भएको दावी गर्नुहुन्न । सरकारले अझै धेरै काम गर्न बाँकी छ भन्ने उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक राजनीतिक कुराकानी–

अहिलेको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?
अहिलेको राजनीतिक अवस्था खासै बिग्रिइहालेको छैन । तर मुख्य समस्या के हो भने सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् । कम्युनिस्टको सरकार बनेपछि केही पाउँला भन्ने सोच्नु पनि गलत होइन ।

काम गर्ने सिलसिलामा कतै केही कमजोरी भएको हुनसक्छ त्यसलाई आगामी दिनमा सुधार गर्दै लानुपर्छ । यसअघि भएका सरकार अस्थिर भए , बिकास , प्रगति र सम्बृद्धि हुन सकेन भनेर धैरै आलोचना भयो त्यसैले पनि सम्पूर्ण मतदाताले आफ्नो बिबेकको सही सदुपयोग गर्दै हामीलाई मतदान गर्नुभएको छ । अहिलेसम्म जे जति काम गरेका छौं त्यसको समीक्षा गर्नुपर्छ र आगामी दिनमा जनताको जिवन छुने गरी काम गर्नुपर्ने सरकारको र पार्टीको जिम्मेवारी रहेको छ ।

सरकार बनेको त १५ महिना भयो तरपनि सोचेअनुसारको काम भएको छैन, अब जनताले कहिलेसम्म पर्खिने ?
तपाइले गरेको प्रश्न अरुले पनि गर्ने गरेका छन् । तर सधैं प्रश्नमात्र गर्ने आफ्नो जिम्मेवारी निर्वाह नगर्ने समस्या पनि छ । तत्कालै केही देखिने गरी काम भएन भन्ने एउटा गुनासो हो तर दीर्घकालीन रुपमा हुने गरी काम गर्ने सिलसिलामा तत्काल केही नभएजस्तो, सरकारले नगरेजस्तो र पार्टी नै कतै अलमलिएको हो कि भन्ने प्रश्न आउनु स्वभाविकै हो तर सरकारको केही आधार तयार भइरहेको छ । सरकारले जुन प्रतिवद्धता गरेको छ त्यसलाई पूरा गर्न सकेनौं भने हाम्रो पनि अर्को विकल्प छैन । अहिलेको वातावरण त्यति असहज पनि छैन, सरकारले आफूले सोचेको काम गर्न सक्ने सम्भावना छ । साधन स्रोत र बिबेक त्यतैतिर खर्च गर्नुपर्ने हुन्छ ।

एउटा कुराचाँही समस्या के पनि छ भने हामीले निर्वाचनमा जाँदा अलिकति बढी आश्वासन पनि दियौं , त्यो गलत पनि होइन तर केही भएन, उनीहरु पनि उस्तै रहेछन् भनेर आत्तिइहाल्नुपर्ने अवस्था भइसकेको छैन किनभने हामीसँग अझै साढे ३ वर्ष बाँकी छ, यो समयमा गरेर देखाउनुपर्छ ।

सुरुवाती लक्षण त तपाइले भनेजस्तो छैन नि ?
हो सुरुवात राम्रो भएन । हिजोका दिनमा बिग्रेको व्यवस्था र अस्तव्यस्ततलाई व्यवस्थापन गर्न पनि केही समय लाग्यो । अर्को कुरा संविधानलाई कार्यान्वयन गर्ने सवालमा समय बित्यो । मौलिक हकसम्बन्धी कानुन बनायौं, संविधानसँग बाझिएका कतिपय कानुनलाई संशोधन र एकीकरण गरेका छौं, यी काम पनि नगरी नहुने थिए तर यो गरेको देखिएन ।

मानिसले सरकारबाट मैले के पाएँ मात्र भनेर प्रश्न गरेर हुँदैन, कानुन पनि जनताका लागि नै बनेको हो । शासन व्यवस्था सुचारु गर्न, शान्ति सुरक्षा कायम गर्न र मौलिक हकलाई कार्यान्वयन गर्न सरकार अग्रसर भयो भनेर बुझे पनि त हुन्छ नि । सधैं नकारात्मक सोच्ने र भएका कुरा नगर्ने परम्परागत मानसिकता हटाउनु जरुरी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो वर्ष सरकारको आधार वर्ष भएको र अब बिकास र प्रगतिमा दौडने भन्नुभएको छ आशा गर्न पनि सक्नुप¥यो । २ –३ वर्ष पर्खदा आमूल परिवर्तन हुन्छ भने हतारिएर वा अत्तालिएर जानु पनि राम्रो होइन ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि निकै ठूलो आलोचना भयो नि ?
आलोचना हुनु र सत्य हुनु कुरा एउटै होइन । सरकारले आर्थिक वर्षको वजेट ल्याउनुअघि नीति तथा कार्यक्रमबारे सम्बोधन गर्ने प्रचलन छ । तर राष्ट्रपतिले सम्बोधन गर्दा आएका केही शब्दप्रति आलोचना भयो तर त्यसरी शब्दको पछाडि कुद्नुभन्दा पनि नीति तथा कार्यक्रम कस्तो आयो, त्यो ठीक छ कि छैन भनेर बुझ्नु राम्रो हुन्थ्यो । कार्यक्रमले समयको माग र आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने लाग्छ मलाई । सम्बोधनमा छुटेका केही कुरालाई वजेटले समावेश गर्नुपर्छ । हुन त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धेरै नै विरोध गरेको छ । यो देश कम्युनिस्टको मात्र होइन सबै मिलेर देशको बिकास गर्न लाग्नुपर्छ । राजनीतिक द्धन्द्ध र असहमतिलाई थाँती राखेर अघि बढ्नु आजको आवश्यकता हो ।

अर्थ समितिले विभिन्न ठाउँमा गएर सुझाव संकलन गरेको छ त्यो कति प्रभावकारी भयो ?
अर्थ समितिले निकै मिहनेत गरेर अबको वजेट कस्तो आउनुपर्ला भनेर सुझाव संकलन गरेको हो । यो विषयलाई हामीले विभिन्न निकायमा जानकारी दिएका छौं, ती विषय समेटिन्छन् भन्ने लाग्छ । जनताको चाहना र अपेक्षा के रहेछ भन्ने समेटेका छौं । तर अलिकति ढिलो भयो, छिटो गर्न पाएको भए झनै प्रभावकारी हुने रहेछ तर जे गरेका छौं त्यो राम्रै होला भन्ने लाग्छ । सिंहदरवारमा मात्र बसेर योजना बनाउने हो भने त्यसले पक्कै पनि जनताको मन छुन सक्दैन र केही अनुभुति गर्ने वातावरण बनेन भने भोलिको दिनमा थप गुनासो आइरहन्छ ।

समितिले चाँही खास के गर्दैछ, बैठक बसिरहेको छ तर त्यसको औचित्य कसरी पुष्टि गर्नुहुन्छ ?
समितिले जति काम गरेको छ त्यसमा गुनासो आएको छैन । पटकपटक बैठक बोलाइन्छ र विभिन्न विषयमा हुने छलफलमा पनि स्वार्थ समूहको आफ्नै पारा हुँदोरहेछ । उनीहरु कहिलेकाँही प्रभावमा पार्न खोज्छन् तर त्यसलाई वास्ता गरेको छैन । जसले समितिलाई जे भन्नु छ, कार्यालयमा नै बसेर छलफल गरौं भन्छु । अझ यो समिति अरुभन्दा ठूलो र बढी जिम्मेवार भएकाले पनि धेरै ख्याल गर्नुपर्ने हुन्छ । अर्थ, कर, राजस्व, व्यापार र अन्य क्षेत्रले नै समग्र मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भएकाले पनि समितिमा हुने हरेक छलफल र निर्णयमा पारदर्शिता अपनाएका छौं । कहिलेकाँही कसैले मेरो यो काम यति पनि भन्ने गर्छन्, छलफलबाट टुंगो लगाउनुपर्छ भन्छु । कसैको दबाब र प्रभावमा बसेर काम गरेको छैन र त्यो बाटो लिन्न पनि ।

अहिले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि १० करोड चाहिन्छ भनेका छन् तपाई पनि यही पक्षमा हो कि ?
यो विषय पनि अर्को गम्भीर रुपमा देखापरेको छ । संसदबाट जनताले बिकासको पनि अपेक्षा गरेका छन् र हामीले गर्छौ पनि भन्यौं । जनताका सानाभन्दा साना समस्या पनि हामीले सुन्नुपर्छ । केही समहयोग गर्न सके समस्या हल हुन्छ भने गर्नु हाम्रो दायित्व हो । साँच्चै १० करोड नै दिने हो भने पनि त्यो कम हुन्छ किनभने हामीले क्षेत्रको लागि धेरै काम गर्नुछ ।

गत वर्ष दिएको ४ करोडको पनि एउटा अर्थ रहेको थियो तर सँगसँगै पैसा दुरुपयोग भयो, ठाउँमा पुगेन भन्ने गुनासो छ । के कारणले दुरुपयोग भयो भन्ने बुझेर त्यसलाई व्यवस्थित गर्नतिर लाग्नुपर्छ । समानुपातिक सांसदले हामीलाई पनि चाहियो भनेर आवाज उठाउनुभएको छ, यो विषयमा पनि आवश्यक छलफल हुनु जरुरी छ ।

तपाई सांसद भइकन त्यस क्षेत्रका जनताले के–के पाए ?
हुन त म हुनेबित्तिकै सबै कुरा भइहाल्ने होइन । तर मैले जानेको र बुझेको सीप र क्षमताले केही काम गरिरहेको छु । सडक बनाउन पहल गरेको छु, जनताको दैनिक आवश्यकतालाई ख्याल गर्दै बजेट माग्ने र लाने गरेको छु । किसानका पनि धेरै समस्या छन्, उनीहरुको पक्षमा लागेको छु । सुकुम्बासी र भूमिहीनको पींडाले पनि मलाई पोलेको छ । समग्रमा भन्ने हो भने क्षेत्रमा समस्या के छन् र के गर्नुपर्छ भन्ने मलाई थाहा छ । उताबाट आएका समस्यालाई बुझेर कहाँ जाँदा हुन्छ र कसलाई भन्दा हुन्छ त्यो अनुसार काम गरेको छु ।

मतदाताले जुन विश्वास दिनुभएको छ त्यसको अपमान गर्ने छैन । जागिर खाने कर्मचारी भए आज यहाँ र भोलि अर्को ठाउँ हुन सक्थ्यो उ जिम्मेवार नहुन सक्थ्यो तर मेरो त राजनीतिक थलो नै त्यही भएकाले दायाँबाँया गर्ने र जिम्मेवारीबाट भाग्ने भन्ने प्रश्न नै आउँदैन ।

प्रतिक्रिया दिनुहोस्