ट्रेकिङमा जन्मिएको गीत भिडियोमा



लोकप्रिय सांगीतिक समूह नेपथ्यका गायक अमृत गुरुङले सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने क्रममा मनाङकै परिवेशमा बसेर एउटा गीत रचना गरेका थिए। यसको रेकर्ड त्यसको ४ वर्षपछि गरिएको थियो।

ऐना झ्याल एल्बमका निम्ति गरिएको गीतमा भनिएको नासै छ्याँबामनो ≈योल अर्थात् गाउँहरूमध्येमा मनाङको गाउँ राम्रो। अनि चेलीबेटीलाई सम्बोधन गर्दै अर्को लाइन जोडियो हो रिमै जो। गुरुङ भाषाको यो पहिलो अन्तरासँगै शुरू हुने नेपथ्यको चर्चित गीत नासै छ्याँबामाथि अब म्युजिक भिडियो बनाइएको छ। मनसुनका बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन्। बाटोमा मुक्तिनाथ दर्शन गर्छन्। जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ जान्छन्। यसरी ओहोरदोहोर गर्नेहरूको भावनालाई आधार बनाएर अमृतले लेखेको गीत हो यो।

वैशाख पूर्णे उभौली लाग्यो हिमाल काट्यो चरीले
चकितै पारी लाएको माया सम्झ्यो कि पापीले
मायाको याद मीठो
उजेलो उजेलो गीतमा उधौली उभौलीको विषय जोड्दै भनिएको छ। ‘मलाई धेरै अघिदेखि गुरुङ गीत गाउने इच्छा थियो’, अमृतको भनाइ छ– ‘त्यसै हिसाबले यसको रचना थालेको थिएँ। गीत पूरा हुने बेलामा भने नेपाली अन्तराहरू थपिन पुगे। त्यो बेला भाषा र जातका कुराले मुलुकको सामाजिक सद्भाव नै खलबलिने अवस्था देखेपछि मलाई असाध्यै नरमाइलो लाग्यो। त्यसैले गीतको पछिल्लो भागचाहिँ नेपालीमै पूरा गरेको हुँ। यो गीत विशेषतः पहाड र हिमालका बासिन्दाको बीचमा संवाद पनि हो।’

नेपाली संगीतमा संलग्न भएर नेपथ्यले २५ स्वर्णिम वर्ष बिताइसकेको छ। गत वर्ष रजत महोत्सवका अवसरमा ब्यान्डले आफ्ना गीतलाई म्युजिक भिडियो बनाउँदै शृंखलाबद्धरूपले सार्वजनिक गर्ने घोषणा गरेबमोजिम यो गीतको म्युजिक भिडियो तयार पारिएको हो। यो गीत गाइरहँदा आफूलाई जहिले पनि मनाङमा पैदल पुग्दाको क्षण अनुभूत हुने अमृत सुनाउँछन्।

प्रतिक्रिया दिनुहोस्