कर्मथलो बलिउड, नागरिकता र राहदानी अन्तैको



भनिन्छ कलाको कुनै जात, भाषा र देश हुँदैन। कला सबैले बुझ्ने भाषा भएका कारण पनि यसो भनिएको होला। कतिपय अवस्थामा कलाकारले कलाको माध्यमबाट आफ्नो राष्ट्रलाई विश्वसामु चिनाइरहेको पाइन्छ, तर बलिउडमा यस्ता धेरै कलाकार छन् जो राष्ट्रियताका कारण भारतीय नागरिक नभए पनि उनीहरूले आफ्नो अभिनय कलाद्वारा बलिउड नगरीलाई संसारसामु चिनाइरहेका छन्।

कट्रिना कैफ
बलिउडका तमाम सेलिब्रेटीबीच आफ्नो छुट्टै पहिचान बनाएकी नायिका कट्रिना कैफको जन्म हङकङमा भएको थियो। त्यसपश्चात् उनी आफ्नो परिवारका साथ विभिन्न देशमा बसिन्् भने पछि बेलायतमा बसोबास गर्न थालेकी थिइन्। उनका पिता एक ब्रिटिस व्यापारी थिए भने माता अधिवक्ता थिइन्। बेलायती नागरिक उनी शुरूमा फेसन मोडलको रूपमा काम गर्थिन्। फिल्ममा अभिनय गर्नुभन्दा अघि मोडलिङमा करिअर खोजिरहेकी कट्रिनाको बलिउड डेब्यु भने फिल्म बुममार्फत भएको थियो। बेलायती नागरिक भए पनि करिअरका कारण हाल भारतमा बसोबास गर्ने उनी भारत जानुअघि बेलायतमा केवल ३ वर्ष मात्र बेसकी थिइन्। हाल उनी बलिउडमा महँगो अभिनेतृका रूपमा काम गरिरहेकी छिन्।

आलिया भट्
छोटो समयमै बलिउडमा आफ्नो बलियो जग बसाउन सफल अभिनेतृ हुन् आलिया भट्। सन्् २०१२ मा फिल्म स्टुडेन्ट अफ द इएरमार्फत बलिउडमा अभिनेतृका रूपमा डेब्यु गरेकी उनी उक्त फिल्मपश्चात् लगातार पर्दामा छाइरहेकी छिन् भने अभिनयका कारण धेरै दर्शकको मनमा बस्न सफल छिन्। भारतमा नाम र शान कमाएकी उनी भारतीय नागरिक भने होइनन्। उनीसँग बेलायती पासपोर्ट रहेको छ। बलिउड निर्माता महेश भट् र ब्रिटिस अभिनेतृ सोनी रानदानकी छोरी उनले आफ्नी आमाबाट बेलायतको नागरिकता लिएकी थिइन्। उनले अक्षयकुमार र प्रीति जिन्टाको फिल्म संघर्षबाट बलिउडमा बाल कलाकारका रूपमा डेब्यु गरेकी थिइन्, जुन सन्् १९९९ मा प्रदर्शनमा आएको थियो। फिल्ममा उनले प्रीति जिन्टाको बचपनको अभिनय गरेकी थिइन्। उनले उड्ता पंजाब, डियर जिन्दगी, कपुर एन्ड सन्स, शानदारजस्ता लगातार हिट फिल्म दिइसकेकी छिन्।

एमी ज्याक्सन
बलिउड फिल्ममार्फत ख्याति कमाएकी नायिका एमी ज्याक्सन पनि अन्य देशकी हुन्। बेलायतमा जन्मेकी उनीसँग उताकै पासपोर्ट रहेको छ।

ज्याकलिन फर्नान्डिस
बलिउड नायिका ज्याकलिन फर्नान्डिस श्रीलंकन मुलकी हुन्। उनीसँग श्रीलंकन नागरिकता रहेको छ। सन्् २००६ मा मिस युनिभर्स श्रलिंकाको उपाधि चुमेकी उनले बलिउडमा सन् २००९ मा बलिउड डेब्यु गरेकी हुन्। बलिउडमा काम गरेको धरै समय भए पनि उनलाई हिन्दी भने बोल्न आउँदैन। फिल्म किकको सुटिङमा नायक सलमान खानले उनलाई हिन्दी सिकाएको किस्सा पनि सुनिएको थियो।

सनी लियोनी
पूर्वपोर्न स्टार, अमेरिकन मोडल तथा बलिउड अभिनेतृ सनी लियोनीले फिल्म जिस्म–२ मार्फत बलिउडमा डेब्यु पाएकी थिइन्। उनको पृष्ठभूमिका कारण बलिउड नगरीमा उनको प्रवेशविरुद्ध आवाज पनि उठेको थियो। उनको जन्म सिख पंजाबी परिवारमा क्यानडामा भएको थियो। हाल उनी भारतमा ओभरसिज सिटिजनसिप लिएर बसेकी छिन्। उनले रागिनी एमएमएस–२, रइस, बादशाहो, मस्तीजादेजस्ता बलिउड फिल्ममा अभिनय गरेकी छिन्।

इमरान खान
बलिउडका चक्लेटी नायक इमरान खान जन्मका हिसाबले अमेरिकी नागरिक हुन्। उनीसँग अमेरिकाकै पासपोर्ट रहेको छ। उनका पिता अनिल पाल एक सफ्टवेयर इन्जिनिएर र माता नुजत खान एक साइकोलोजिस्ट थिइन्। उनी डेढ वर्षको हुँदा उनको मातापिताको सम्बन्धविच्छेद भएपछि उनले आफ्नी आमाको थर चुने। उनी बलिउड नायक अमिर खानका भान्जा हुन्। सन्् १९९२ मा रिलिज भएको फिल्म जो जिता वही सिकन्दरमार्फत बाल कलाकारका रूपमा बलिउडमा अभिनय शुरू गरेका थिए। उक्त फिल्ममा उनले मामा अमिरको बचपनको भूमिका निर्वाह गरेका थिए। सन्् २००८ मा फिल्म जाने तु या जाने नाबाट अभिनेताका रूपमा बलिउड डेब्यु गरेका उनले किडन्याप, आइ हेट लभ स्टोरी, मेरे ब्रदरके दुल्हन, वन्स अपन अ टाइम, मुम्बई दुबाराजस्ता फिल्ममा अभिनय गरेका छन्।

दीपिका पादुकोण
बलिउडदेखि हलिउडसम्म आफ्नो सहभागिता जनाइसकेकी नायिका दीपिका पादुकोणसँग पनि भारतीय नागरिकता छैन। उनी डेनिस पासपोर्ट बोक्छिन्। डेनमार्कमा जन्मेर भारतको बेंगलोरमा हुर्केकी उनले आफ्नो करिअर बलिउडमा बनाइन् भने सफलताको उच्चतम स्वाद पनि लिइरहेकी छिन्।

नरगिस फाखरी
ब्लकबुस्टर हिट फिल्म रकस्टार नायिका नरगिस फाखरी पनि भारतीय नागरिक होइनन्। अमेरिकाको न्युयोर्कमा जन्मेकी उनीसँग उताकै पासपोर्ट रहेको छ। उनी अमेरिकन रियालिटी शो अमेरिकन मोडल सिजन–२ को हिस्सा बनिसकेकी छिन्। उनले ढिसुम, हाउसफुल–३, फाइब वेडिङसजस्ता फिल्ममा अभिनय गरेकी छिन् भने हलिउड फिल्म स्पाइमा पनि अभिनय गरेकी थिइन्।

अक्षय कुमार
भारतको पन्जाबमा जन्मिएर नयाँ दिल्लीमा हुर्किएका बलिउड अभिनेता अक्षय कुमारसँग पनि भारतको पासपोर्ट छैन। सन्् २०१६ मा मात्र भारतीयहरूले अक्षयसँग भारतीय नागरिकता नभएको थाहा पाएका थिए। उनले क्यानडाको पासपोर्ट लिनका लागि भारतीय नागरिकता त्यागेका थिए। नागरिकताका कारण उनी बेलाबेला विवादमा पनि परिरहेका हुन्छन्। सन्् १९९० मा अभिनय करियर शुरू गरेका अक्षय मुख्यरूपमा एक्सन् फिल्ममा देखिए। त्यसपश्चात् रोमान्टिक र हास्य भूमिकाका लागि ख्याति कमाएका थिए।

प्रतिक्रिया दिनुहोस्