आणविक सम्झौता जोगाउन इरानले चीन र रसिया गुहा-यो



वासिंगटन,(एजेन्सी)
अमेरिका र इरानबिच तनाव बढिरहेकाबेला अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुले इरानसंग युद्ध गर्न नचाहेको बताएको अमेरिकी वरिष्ठ अधिकारीहरुले बताएका छन् । बुधवार ट्रम्पले आफ्ना निकतटम सहयोगीहरुसंगको भेटघाटको क्रममा आफुले अमेरिकी दवावलाई द्वन्द्वमा परिणत गर्न नचाहेको अभिव्यक्ति दिएका हुन् ।

केहि दिन अघि मात्र अमेरिकाले खाडी क्षेत्रमा युद्धपोत र लडाकु विमानहरु तैनाथ गर्दै इरानको छिमेकी राष्ट्र इराकबाट आफ्ना कुटनीतिक कर्मचारीहरु स्वदेश फिर्ता बोलाएको थियो । अमेरिकी सरकारी सुत्रले इरानबाट हुनसक्ने संभावित खतराको कारण यो कदम चालिएको जनाएको थियो ।

अमेरिकी अनुसन्धाकर्ताहरुले तेहरानले पर्सिया खाडीमा युद्धपोतहरुमा क्षेप्यास्त्र तैनाथ गरेको आरोप लगाएका छन् । साथै तिनीहरुले संयुक्त अरव इमिरेटसको जलिय क्षेत्रमा रहेका आफ्ना चारवटा तेल बोकेका जहाजमा इरानले क्षति पु¥याएको आरोप लगाएका थिए ।

तर इरानले सो आरोप अस्विकार गरेको थियो । विहिवार पनि पत्रकाहरुको एक प्रश्नको उत्तरमा ट्रम्पले इरानसंग युद्ध हुने संकेत नरहेको बताएका छन् । अमेरिकी विदेश विभागले निकालेको एक विज्ञप्तिमा अमरिकी विदेशमन्त्री पोम्पियोले ओमानका सुल्तान कावूस विन सइद अल सइलाई खाडी क्षेत्रमा इरानको खतरा रहेको जानकारी गराएको उल्लेख गरिएका ेछ ।

यसैबिच इरानसँग सन् २०१५ विश्वका शक्ति राष्ट्रहरुले गरेको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ठोस कदम चालिनु आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताएका छन् ।

उनले अमेरिका र इरानबीच बढ्दै गइरहेको तनावले अन्तत खतरनाक परिस्थिति सिर्जना गर्न सक्ने चेतावनी पनि दिएका छन् । उक्त सम्झौता चीन, रूस, जमर्नी, बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकासँग पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा गरिएको थियो । जसका कारण इरानमाथि त्यस पहिले लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धलाई विस्तारै सहज बनाउँदै लगिएको थियो ।

तर गत बर्ष ट्रम्पले यो सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै यसबाट फिर्ता भएको घोषणा गरेका थिए । सम्झौताबाट फिर्ता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको प्रतिबन्धका संगसंगै थप नयाँ प्रतिबन्धको समेत घोषणा गरेको हो ।

बेइजिंग भ्रमणका क्रममा इरानी विदेशमन्त्री जरीफले आफूले चिनियाँ अधिकारीसँग द्विपक्षीय सम्बन्ध तथा मध्यपूर्व क्षेत्रमा पछिल्लो समयमो देखिएका निकै खतरनाक परिस्थितीबारे वार्ता गर्ने बताएको इरानी विदेश मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्