भवानी–पद्म पुरस्कार शहीद गौतमलाई



दमक । मेची अञ्चलमा स्थापना गरिएको यस वर्षको भवानी–पद्म पुरस्कार महाकाली अञ्चलमा शहीद हुनुभएका गोविन्द गौतमको परिवारलाई आज शनिबार प्रदान गरिँदै छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित आनन्द बजारमा आफ्नो भूमिमा कल्भर्ट बनाउन पाउनुपर्छ भन्ने माग राखेर आन्दोलन गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलको गोलीले गोविन्द गौतम २०७३ फागुन २६ गते शहीद हुनुभएको थियो । दमक नगरपालिका–१०, आमबाडीको गौतम कुलवंश प्रतिष्ठानमा आयोजित एक समारोहमा सो पुरस्कार शहीद गौतमका पिता तथा पत्नीलाई संयुक्तरूपमा प्रदान गरिन लागेको पुस्कारका प्रमुख संस्थापक एवम् पत्रकार तोया गौतमले जनाउनुभएको छ ।

पुरस्कारको राशी १० हजार रुपियाँ रहेको छ ।ताप्लेजुङ जिल्लाका दुर्गम गाउँमा २००५ सालताका नै बाँसका पट्याँसमा ग्रामीण क्षेत्रका समाचार लेखी सूचना प्रवाह गर्नुभएका हाल दमक निवासी पं. भवानीप्रसाद गौतम तथा उहाँकी धर्मपत्नी पद्मकुमारी गौतमको नाममा सो पुस्कार स्थापना भएको हो ।

गौतम कुलवंश प्रतिष्ठानका अध्यक्ष शान्तिराम गौतमले नेपालको पूर्वी जिल्लामा स्थापना गरिएको पुरस्कारबाट पश्चिम जिल्लामा रहेको शहीद परिवारलाई सम्मानित गर्न पाउँदा खुशी लागेको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्