२ सिक्वेल सँगसँगै



आज शुक्रबार अल नेपाल २ सिक्वेल फिल्म एकसाथ रिलिजमा आउने भएका छन्। जात्रा निर्देशक प्रदीप भट्टराईको सोही फिल्मको सिक्वेल जात्रै जात्रा र लिली बिली तथा वीर विक्रम निर्देशक मिलन चाम्सको सिक्वेल फिल्म वीर विक्रम–२ बीच नेपालभर भिडन्त हुन लागेको हो।

बुधबारदेखि बुकिङ खुला गरिएको जात्रै जात्राले सबैजसो मल्टिप्लेक्समा राम्रो शो पाएको छ। यो फिल्मको धेरैजसो शोको टिकट बिहीबार नै बिक्री भइसकेको छ भने एडभान्स बुकिङ पनि सुखद् देखिएको छ।

फिल्मका निर्देशक प्रदीप भट्टराई दर्शकको वर्ड अफ माउथ जात्रै जात्राका लागि सुखद हुनेमा विश्वस्त छन्। जात्राकै कथालाई निरन्तरता दिँदै कथानक हिसाबले सिक्वेलका रूपमा तयार पारिएको जात्रै जात्रामा विपीन कार्की, वर्षा राउत, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कवीन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजन थापामगर, प्रियंका झा, अरविन खड्कालगायतका कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन्।

फिल्म पैसा र सुनको कथामा रोचक ढंगले बनेको छ। रवीन्द्र सिंह बानियाँ, सिंगे लामा र यादव पौडेलद्वारा निर्मित तथा निर्देशक भट्टराईद्वारा नै निर्मित फिल्ममा संगीत कालीप्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाज, कोरियोग्राफी कविराज गहतराज र प्रवीण सिंह, द्वन्द्व शंकर महर्जन, छायांकन शिवराम श्रेष्ठ र सम्पादन मित्र डी गुरुङको रहेको छ।

त्यसै गरी निर्देशक मिलन चाम्सद्वारा निर्देशित वीर विक्रम–२ उनैले बनाएको वीर विक्रमको सिक्वेल हो। तर, यो फिल्म कथाले नभई नामले सिक्वेल भएको चाम्सले प्रष्ट पारेका छन् भने हालसम्म आफूले निर्देशन गरेका फिल्ममध्ये चित्तबुझ्दो भएकोे दाबी गरेका छन्।

‘वीर विक्रमजस्तो बलियो कुनै फिल्म हुन सक्दैन। तर, वीर विक्रम–२ चाहिँ मैले निर्देशन गरेका फिल्ममध्ये चित्तबुझ्दो र उत्कृष्ट फिल्म हो’ –मिलनको भनाइ छ। यसले पनि हलहरूबाट राम्रो सोज पाएको छ भने एडभान्स टिकट बुकिङ भइरहेको छ। चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको प्रस्तुतिमा निर्मित फिल्ममा पल शाह, नाजिर हुसेन, वर्षा शिवाकोटी, बुद्वि तामाङ, अन्य कलाकारमा क्षितिज सुवेदी, देशभक्त खनाल, वेनिषा भण्डारीलगायतले अभिनय गरेका छन्।

रिलिजको पूर्वसन्ध्या पारेर वीर विक्रम–२ को बुधबार राति राजधानीमा पर्पल कार्पेट प्रिमियर शो आयोजना गरिएको छ। फिल्मले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ। नायक पल शाहले आफ्नो १४ महिनाको ग्यापमा आउन लागेको फिल्मबाट दर्शक निराश नहुने बताएका छन् भने नायिका वर्षा शिवाकोटीले पुरुषप्रधान समाजमा महिला केन्द्रित फिल्म बनेको बताइन्।

अर्का कलाकार बुद्धि तामाङले यस फिल्ममा अरू फिल्मभन्दा फरक रूपमा प्रस्तुत भएको बताए। ‘म यसमा केही नेगेटिभरूपमा प्रस्तुत भएको छु। तर, आफ्नो प्यार्टनलाई भने छोडेको छैन’ –बुद्विले प्रष्ट पारे।

प्रतिक्रिया दिनुहोस्