बल्ल शुरु भयो स्थायी राजधानी प्रक्रिया, मतदानको मिति किन तोकिएन ?



हेटौंडा ।
प्रदेश–३ को स्थायी राजधानी तोक्ने सम्बन्धि कार्यविधिमाथि प्रदेशसभामा छलफल भएको छ । नेकपाका मुख्य सचेतक रामेश्वर फँुयालले राजधानी तोक्ने कार्यविधि सम्बन्धि सभामा छलफलका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।

लामो दबाबपछि प्रदेशसभामा प्रतिवेदन पेश भए पनि करिब तीन महिनापछि असोज २२ गतेमात्र स्थायी राजधानी सम्बन्धि प्रतिवेदन प्रदेशसभा बैठकमा प्रवेश गरिएको थियो । प्रदेशसभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको हो ।

छलफलमा सहभागी सांसद्ले प्रदेशको स्थायी राजधानीका लागि मतदानको मिति यथाशीघ्र तोक्न माग गर्नुभयो । राजधानी सम्बन्धि प्रस्तावमा छलफलपछि मतदान कहिले गर्ने हो सोको मिति तोक्न माग गरियो । सांसद्हरुले समयसीमा तोकेर राजधानी टुंगो लगाउनुपर्ने धारणा राख्नुभयो ।

सांसद् प्रभा तामाङले प्रदेशको स्थायी राजधानीमात्र नभएर नामाकरणको कार्यविधि पनि प्रदेशसभा ल्याउनुपर्ने बताउनुभयो । राजधानीका विषयमा पक्ष÷विपक्षका सांसद्ले मतदान गर्नेमात्र नभएर तटस्थ रहने पनि व्यबस्था गर्न उहाँले माग गर्नुभयो ।

सांसद् रमेश पौड्यालले राजधानीको कार्यविधि अस्पष्टढंगले आएकोमा भन्दै आपत्ति जनाउनुभयो । कुन मितिमा राजधानीको मतदान हुने भन्ने उल्लेख नभएको बताउँदै उहाँले प्रश्न गर्नुभयो–स्थायी राजधानीबारे मतदान प्रक्रिया एक वर्ष, दुई वर्ष वा पाँच वर्षभित्र कहिले गर्न खोजिएको हो ? मतदानको मिति किन तोकिएन ? सांसद् पौड्यालले सरकार अझै अस्थायी राजधानीकै मानसिकतामा रहेको भन्दै राजधानी तोक्ने विषय पञ्चवर्षीय योजनामा नपार्न आग्रह गर्नुभयो ।

सांसद् रत्नप्रसाद ढकालले स्थायी राजधानीका लागि पाँच जिल्लाबीच मतदान गर्दा राजधानी तोकिनेमा आफू विश्वस्त नभएको बताउनुभयो । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वर्णाणुक्रमअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ ।

सांसद् ढकालले राजधानी टुंग्याए प्रदेश सरकारको कामलाई पनि सहज हुने बताउनुभयो । स्थायी राजधानीका लागि सभाका दुई तिहाइ सदस्यले मतदान गर्नुपर्ने भएकोले धेरैतिर मतदान गर्दा राजधानी तोक्न समस्या हुने उहाँको विचार छ ।

सांसद् प्रेमबहादुर पुलामीले प्रदेश राजधानीका लागि सात जिल्लासँग सीमा जोडिएको मकवानपुरको विकल्प अन्यत्र नभएको बताउनुभयो । तर, उहाँले हाल बजेट ल्याउने बेला भएकोले अन्य विषयमा छलफल गर्न नहुने धारणा राख्नुभयो ।

सांसद् ओम घलानले राजनीतिक सहमतिबाट स्थायी राजधानी तोकिँदा सबैको स्वीकार्य बन्ने बताउनुभयो । सांसद् विराजभट्ट श्रेष्ठले राजधानी तोक्ने काम व्यक्तिगत स्वार्थमा अल्झिएको आरोप लगाउनुभयो ।

प्रदेशसभामा बिहीबारदेखि प्रदेश राजधानीको विषयमा छलफल सुरु भएको हो । प्रदेशसभाले असोजमै राजधानीको सम्भावना अध्ययन गरी प्रतिवेदन बुझाए पनि हालसम्म छलफल हुन सकेको थिएन ।

सम्भाव्यता अध्ययन समितिले प्रतिवेदन बुझाए पनि प्रक्रिया अघि नबढाइएको भन्दै प्रतिपक्षी नेपाली कांगे्रसले प्रदेशसभा अवरुद्ध गरेपछि छलफल सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्