कालिगण्डकीलाई धार्मिक नदीका रुपमा प्रचार गरौं: अध्यक्ष तिमिल्सिना



नेपाल समाचारपत्र, पर्वत ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालिगण्डकी नदीको शिरदेखि तिरसम्म रहेका धार्मिक सम्पदालाई संरक्षण गर्दै थप विकास गर्नुपर्ने बताउनुभएको छ ।

पर्वतको कुश्मामा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले उत्तरमा दामोदर कुण्डदेखि दक्षिणको त्रिवेणीधामसम्म थुप्रै धार्मिक गन्तब्य रहेकाले योजना बनाएर विकास र प्रचार गर्नुपर्ने धारणा राख्नुभएको हो ।

‘कालिगण्डकी नदी किनार हुँदै उत्तरमा चीन र दक्षिणको भारतीय सीमासम्म जोडिने सडक निर्माण भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘सडक निर्माण भइसकेपछि भारतबाट आउने लाखौं धार्मिक पर्यटकले यो रुट प्रयोग गर्छन् । त्यसैले कालिगण्डकी किनार वरपर रहेका धार्मिक गन्तब्य थप विकास गरी प्रचार गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले पर्वतको कुश्मामा रहेको गुप्तेश्वर गुफालगायत धार्मिक गन्तब्यहरुमा पूर्वाधार विकास तथा प्रचार गर्ने उद्देश्यले आयोजित कोटीहोम महायज्ञले देश विदेशमा कालिगण्डकी किनार वरपर रहेका धार्मिक स्थलहरुको प्रचार गर्ने विश्वास व्यक्त गर्नुुभयो ।

उहाँले हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुक्तिनाथ यही नदीको किनारमा पर्ने भएकाले पनि सो क्षेत्र हुँदै दामोदर कुण्ड जान चाहने पर्यटकको संख्या बृद्धि हुने बताउनुभयो ।

विश्वमै शालिग्राम पाइने एक मात्रै नदी कालिगण्डकीको किनारमा पर्ने धार्मिक सम्पदाको संरक्षण तथा पूर्वाधार विकासमा सबै एकजुट हुन आग्रह गर्नुभयो ।

हिन्दुहरुका आराध्यदेव भगवान शिव र पार्वतीको विश्वमै सबैभन्दा अग्लो मूर्ति स्थापना गरि पर्वतलाई महत्वपूर्ण धार्मिक स्थल बनाउने उद्देश्यले कोटिहोम महायज्ञ आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्