एभिन्यूज टेलिभिजन कार्यालयमा तोडफोड प्रकरणः वडा अध्यक्ष सहित ५ जनाविरुद्ध मुद्दा दर्ता



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्साको वीरगन्जमा रहेको मिडियागृहमा प्रवेश गरी तोडफोड गर्ने समाजवादी पार्टीका वडा अध्यक्ष सहित पाँचजना स्थानीय कार्यकर्तामाथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको छ।

एभिन्यूज टेलिभिजन व्यूरो कार्यालय वीरगन्जमा गएको सोमबार तोडफोड गरेको घटनामा प्रत्यक्ष संलग्न रहेको भन्दै उनीहरूमाथि पर्सा प्रहरीमा किटानी जाहेरी परेको हो।

गएको आइतबार एभिन्यूज टेलिभिजनको सकस राजनीतिक बहसमा कार्यक्रम संचालक सुशील पाण्डे र समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच चर्काचर्की परेको विषयलाई लिएर वीरगन्जस्थित व्यूरो कार्यालयमा तोडफोड भएको हो।

तोडफोडमा संलग्न हुनेहरूको किटानी जाहेरीको दर्ता नम्बर ५७७ रहेको पर्सा प्रहरीले जनाएको छ। घटनास्थलको प्रत्यक्ष अवलोकन र भिजुअल हेरेर पनि दोषीलाई नियन्त्रणमा नलिई मूकदर्शक बनेको पर्सा प्रहरीले दोषीलाई नियन्त्रणमा लिई कार्वाही गरोस् भनी किटानी जाहेरी नै दिनुपरेको एभिन्यूज टेलिभिजनका काठमाडौं व्यूरो इन्चार्ज राजु श्रेष्ठले बताउनुभयो ।

एभिन्यूज टेलिभिजनका तर्फबाट ठाडो उजुरी र किटानी जाहेरी दर्ता गराउन प्रयास गर्दा पनि पर्सा प्रहरीले आलटाल गरेपछि पत्रकारहरू जिल्ला प्रहरी कार्यालय पर्सामा नै पुगी दबाब दिएर दर्ता गराएका छन्। पर्सा प्रहरीमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराको नेतृत्वमा पर्सेली पत्रकारहरू पर्सा प्रहरीमा पुगेको व्यूरो इन्चार्ज श्रेष्ठले बताए।

सत्तामा आबद्ध पार्टीका नेता कार्यकर्ता घटनामा सम्लग्न भएको कारण मौन बसेको पर्सा प्रहरी प्रशासनलाई झक्झकाउन किटानी जाहेरी नै दर्ता गराउर्नु परेको प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले बताउनुभयो । पर्सेली पत्रकारहरूको साथमा नेपाल प्रत्रकार महासंघ प्रदेश २ का अध्यक्ष चौहान, उपाध्यक्ष केसी लामिछानेलगायतको पनि सहभागिता रहेको थियो ।

एभिन्यूज टेलिभिजन व्यूरो कार्यालय वीरगन्जले भने वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष तुफान फारुक अंसारीको नेतृत्वमा समाजवादी पार्टी नेपाल निकटका पाँच जना स्थानीय कार्यकर्ताको नाम नै उल्लेख गरी जाहेरी दर्ता गराएको जनाएको छ।

मिडियाकर्मी र मिडिया हाउसका केही कमी भए नीतिगत प्रकृयाले टुंग्याउन सकिने भए पनि काठमाडौंमा भएको बहस कार्यक्रमको विषयलाई लिएर पर्सामा रहेको एभिन्यूजको कार्यालय तोडफोड हुनु निन्दनीय कार्य भएको भनी पर्सेली पत्रकारहरुले दोषीलाई कार्वाहीको माग गरेका छन्।

यद्यपी जिल्ला प्रहरी कार्यालय पर्साले भने घटनामा संलग्नरहेकाहरु फरार भएको बताएको छ । प्रहरी उपरीक्षक रेवती ढकालले घटनामा संलग्न भएकोहरुको खोजी जारी रहेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्