हल गोरु जोत्ने ’बा’



सलिम अन्सारी,प्युठान ।

जनवादी गायक जीवन शर्माले गाएको ‘सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको’ बोलको गीतजस्तै छ प्युठान नगरपालिका ९ का ८७ बर्षीया च्यामे सुनारको दैनिकी । सेतै फुलेका दाह्री जुँगा । शिरमा ढाका टोपी । खैरो रंगको गञ्जी ।

कम्मरमा खुर्पेटो र सेतो पटुकी। कालो हाल्फ पाईन्ट । हातमा लट्ठी । ढल्कँदो उमेर । तर हपक्क गर्मीमा फुर्तीका साथ मजुवाको हिलोखेतमा ‘हँ हँ पछ् हैट’ भन्दैं गोरू धपाउँदै हुनुहुन्थ्यो उहा । ८ वर्षको उमेरदेखि नै हलो जोतेका उहाँका दुःख अझै सकिएका छैन्न, बरु थपिएको छ ।

तर उहाँको हलो मोह अझै हटेको छैन । अहिले घरमा बुढा बुढी, नातिनातिना र बुहारीहरु छन । छोराहरु आर्थिक अवस्था सुधार्न भन्दै मुग्लान पसे ।

हलो जोत्ने बेलामा जोत्ने र अरूबेला बस्तु गोठालो जाने उहांको दिनचर्या हो । च्यामेले भन्नुभयो ‘सकेर जोतेको कहाँ हुँ र रु मैले नजोते कसले जोत्छ रु दुईमुठी सास छउञ्जेल त खानै र्पयो ।’ जेठो भारत र कान्छो छोरा धन कमाउन खाँडी पुगेको उहाले बताउनुभयो। ’ छोराहरु परदेश पसेको धेरै बर्ष भयो खोइ ,पैसा पठाउदैन्न ।’उहाले भन्नुभयो। ‘ हलिलाई दिने पैसो नभएपछि कसरी मान्छे लगाउने,त्यो भन्दा आफै जोत्ने ।’

च्यामे सुनारले कहिले पनि आफ्नो बारीजोत्न अरु मान्छेलाई गुहार्ने काम नगरेको स्थानीय टीका बहादुर केसीले बताउनुभयो ।‘उहाँले धेरै दुःख गर्नु भएको छ । उहाँ यस्तो बुढौलीमा पनि हलगोरु नार्न छाड्नु भएको छैन ।’

केसीले भन्नुभयो। सिँचाई सुविधा पुगेका, बीउ रोप्नका लागि तयार भएका र बाँझा जमिनमा यहाँका कृषकलाई भ्याईनभ्याई छ । मरन्ठानाको फाँटैभरी धेरैले हाते ट्रयाक्टर प्रयोग गरेर जोत्छन । च्यामे सुनार, गाउँमा हलगोरु सम्हाल्ने र जोत्ने काम गरेको बर्षौ भयो,त्यसैले पनि धेरैले उहालाई हल गोरु जोत्ने बा भनेर गाउघरमा चिन्छन।

उहाका अनुसार पहिले खेतबारी बाँझा हुँदैनथे । सबैले खेती गर्थे । वर्सेनी मुरीका मुरी अन्न घर भित्रन्थ्यो । अहिले त खेती गर्न छाडे । मलिला जमिन समेत बाँझै छन् । गाउँमा काम गर्ने मान्छे छैनन् । सबै बिदेश भन्याछन हिड्याछन ।उहाले भन्नुभयो,‘हलगोरु पाल्ने, खेती गर्ने मान्छेको कमी छ, बरु बजारबाट चामलको बोरा घिसारेर खाने बढे,’ हिलो खेतको आलीमा उभिएर खुईय गर्दै उहाँले निराशा पोख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्