स्थानीय आफैले बनाए हेलिप्याड



प्रताप बानियाँ, म्याग्दी ।
प्रसिद्ध जगन्नाथ मन्दिर नजिकै रहेको पर्यटकीयस्थल केभहिलमा बुधबार हेलिप्याड निर्माण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, गाजनेमा पर्ने पर्यटकीय एवं रमणीयस्थल केभहिलमा स्थानीयवासिन्दाले हेलिकप्टर बस्नका लागि हेलिप्याड बनाएका हुन् ।

गाउँ फर्किएर आउने स्थानीय तथा आफन्त, जगन्नाथ मन्दिर दर्शन गर्ने आउने भक्तजन र पर्यटकहरुलाई लक्षित गरेर हेलिप्याड बनाइएको गाजनेबाट यामबहादुर बानियाँले जानकारी दिएका छन् । जगन्नाथ मन्दिरमा पुजाआजा गर्न आउने श्रद्धालु भक्तजन र गाजने गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटक तथा स्थानीयको चाहना र आवश्यकता अनुसार हेलिप्याड बनाइएको उनले बताए ।

गाउँमा आपत्विपद्का ठूला घटना घटेको खण्डमा तत्कालै उद्धार गर्नुपर्ने अवस्थामा पनि हेलिप्याडले सहयोग पुग्ने अपेक्षा गरिएको छ । केभहिलमा थप १/२ ओटा हेलिप्याड बनाउन मिल्ने ठाउँ पनि रहेको छ । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको पाँचलाख रुपैयाँ बजेटबाट केभहिलमा भ्यु–टावर निर्माणकार्य थालिएको छ । बेनीको शिरमा रहेको केभहिलबाट संसारको सातौं अग्लो हिमश्रृङ्खला धौलागिरीसहित अन्नपूर्ण, माछापुच्छ«े, निलगिरी, मानापाथी, गूर्जा, हिमाललगायतका दर्जनौं हिमालहरुको मनारम दृश्यावलोकन गर्न सकिन्छ ।

यसैगरी जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीमार्फत सञ्चालन गरिएको ‘एक वडा, एक हेलिप्याड’ अभियानमा समेत गाजनेका स्थानीय आफैले बनाएको हेलिप्याडले थप सहयोग पु¥याएको छ । स्थानीय आफैले हेलिप्याड निर्माण गर्नु गौरवको विषय भएकाले यसले आपत्कालीन अवस्थामा तुरुन्तै उद्धार गर्न सहयोग मिल्ने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

हेलिप्याड निर्माण अभियान सञ्चालन गरेपश्चात् यसअघि म्याग्दीमा २८ ओटा हेलिप्याड बनाइसकिएको छ । केभहिलमा बनाइएको हेलिप्याडसहित जिल्लामा कुल २९ ओटा हेलिप्याड बनेका छन् । हेलिप्याड निर्माण अभियान अन्तर्गत मालिका गाउँपालिकाको सबै वडामा हेलिप्याडहरु बनाइएको छ ।

हालसम्म मालिका गाउँपालिकामा ७, अन्नपूर्णमा ७, धौलागिरीमा ६, मंगला, बेनी नगरपालिका र रघुगंगा गाउँपालिका ३÷३ वटा हेलिप्याड बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्