पाठा–पाठी मोटाएर पो हो कि ?



वर्तमान सरकारलाई इतिहासकै शक्तिशाली भनिएको छ । केन्द्रदेखि प्रदेश र स्थानीय तहमा वाम बाहुल्य भएकाले उम्रिदैका तीन पात र तीनका हजुरबा, हजुरआमा त्यसै भन्या भन्यै छन् । नेकपाका नेता कार्यकर्ताको कुरो के गर्नु उनीहरुलाई शक्तिशाली सरकारको शान र गुनगान गाउन फुर्सद छैन ।

शक्तिशाली सरकारको शक्ति यति धेरै भएछ कि वर्षौदेखिका धुलाम्ये, हिलाम्ये सडक मर्मत संभार गर्नै नसक्ने भएको छ । काठमाडौंको कलंकी–नागढुंगा, चावहिल–जोरपाटी, सितापाइला–भिमढुंगा, सातदोवाटो–सुनाकोठी–चापागाँऊ सडक महिनौ त वर्षौयता गएजुज्रिएका छन् । सो क्षेत्रका स्थानीयले सडक मर्मत संभार गरिदेऊ, हामीलाई धुवाधुलो मुक्त बनाईदेऊ भन्दा सरकार २०को १९ हुँदैन ।

स्थानीयले सरकारको ध्यानकर्षण गराउन पटक–पटक सडक अवरुद्ध गरेको धरहराबाट प्रष्टै देखियो । तर सरकार हलचल गर्दैन । चुनावको बेलामा बाख्रा र सुगुरका चुलबुले पाठापाठी जस्तो सवत्र पुग्ने नेकपाका नेता कार्यकर्ता अनि सत्ताको कुर्चीमा पुग्याहरु हिजो आज मोटाएर हिडडुल गर्न नसक्ने बंगुर जस्तो भएर हलचल गर्न नसक्या हो कि ?

स्थानीयको आन्दोलन र चर्को दवावपछि चावहिल जोरपाटी सडक बुधवार धमाधम पिच भएको देखियो । स्यालुट स्थानीयलाई । अब केही दिनमा माननीयहरुले आफ्नै जोडबले सो काम भएको भन्न बेर छैन है ! अन्यत्रको आन्दोलन फितलो भएर पो पिच नभा हो कि ? सत्तारुढ दलका बरिष्ठदेखि कनिष्ठ छिटै मुलुकले आर्थिक छलाङ मार्छ भन्छन्, यसका लागि सत्तारुढ दलकै नेता कार्यकर्ता आन्दोलनमा उत्रिनु पर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस्