प्रहरीको लापारवाही, पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन गायब



झापा ।
झापा कारागारमा खटिएका प्रहरीले पटक पटक लापारबाही गर्न थालेका छन् । नौ महिना अघि कारागारको पर्खाल नाघेर दिउँसै एकजना कैदीबन्दी फरार भए भने पछिल्लो समय इटलियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना सार्वजानिक भएको छ । भद्रपुर स्थित कारागारमा सुरक्षार्थमा खटिएका सइ नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको घटना वाहिर आएको छ ।

असइ हीरण सिंहलाई सुरक्षाको जिम्मा दिएर आचार्य घर बिदा गएका थिए । तर, वुधबार बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन नभेटिएपछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीबाटै हतियार हराएको घटना सार्वजनिक भएको थियो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा छानविन समिति निर्माण भइ अनुसन्धान थालेको जिल्लाका एसपी दिनेशराज मैनालीले बताउनुभयो । तत्काल टोली गठन भइ काम शुरु गरिसकेको उहाँले जनाउनुभयो ।

त्यसैगरि नौ महिनाअघि झापा कारागारभित्रैबाट दिउँसै फरार भएका गौरादह नगरपालिका–८ स्थित जुरोपानीका २४ वर्षीय उमेश माझीलाइ अझै प्रहरीले समाउन सकेको छैन । कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी गरेर मारेको अभियोगमा ०७१ असार ५ मा कारागार चलान भएका थिए ।

गत २०७१ असार ७ देखि जबरजस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी गत साउन २७ गते आइतबार दिउँसै कारागारको पर्खाल नाघेर भागेका थिए । कारागारभित्रै बिजुली मर्मत गरिरहेको अवस्थामा भर्याङको प्रयोग गरि पर्खाल नाघेर फरार भएको घटना सार्वजानिक भएको थियो । घटनापछि असइ सहित ६ जना प्रहरीलाइ जिल्ला प्रहरी झापाले निलम्बन गरिसकेको छ । फरार कैदी भारत तर्फ भागेकोले भारतीय प्रहरीको सहयोगमा छिटै पक्राउ पर्ने तात्कालिन जिल्लाका एसपी भीमप्रसाद ढकालले दाबी गरेको नौ महिना वितिसके पनि कैदी फेला परेका छैनन ।

कैदीबन्दीलाइ भेटघाट गर्नजाने सर्वसाधारणलाइ चेकजाँचमा कडा गरि मोवाइल समेत लैजान नदिने प्रहरीको सुरक्षा व्यवस्था भने लापारबाही देखिएको विभिन्न घटनाक्रमले पुष्टि गरिसकेको छ । कारागारमा हुने घटना कारागार सुरक्षार्थ प्रमुख विदामा नै गएको समयमा हुने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्