७८ लाख धरौटीमा पूर्वआयुक्त पाठक छुटे



काठमाडौँ ।
भ्रष्टाचार आरोपी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले ७८ लाख धरौटीमा छाडेको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसपछि पाठकलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

पाठकलाई बुधबार थुनछेक बहसपछि विशेष अदालतले धरौटी माग गरेको थियो । त्यसपछि उनी नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीमा छुटेका हुन् ।

पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाईदिने भन्दै ७८ लाख रुपैयाँ घूस लिएको भिडियो केहि समय अगाडि सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भए पश्चात आयोगले पाठकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

भ्रष्टाचार आरोपपछि फरार रहेका पाठक बुधबार नै विशेष अदालतमा हाजिर भएका थिए । विशेष अदालतले बुधबार नै पाठकसँग बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्