मिडियाविरोधी कानुन सच्याउन सुझाव



‘विधेयक पास भए सरकारको गुनगानमात्र’
हेटौंडा ।
मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रताविरोधी प्रावधानविरुद्ध नेपाल पत्रकार महासंघ मकवानपुरले सरोकारवाला पक्षसँग छलफल गरेकोे छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीले मिडियाविरुद्ध ल्याउन लागिएको कानुन सच्याउन माग गरे । विधेयक संसद्मा पेश गर्नु पहिले पत्रकारसँग छलफल गर्नुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश–३ अध्यक्ष प्रताप बिष्टले मिडियाप्रतिको सत्ताको गलत मनसाय रोकिनुपर्ने बताउनुभयो । महासंघ प्रदेश अध्यक्ष बिष्टले सरकारले पत्रकारलाई बन्देज लगाउने कानुन निर्माण गर्न खोज्नु लोकतन्त्रमाथिको प्रहार भएको बताउनुभयो । उहाँले सरकारले पत्रकारलाई अंकुश लगाउन नहुनेमा जोड दिनुभयो । सञ्चारक्षेत्रमा रहेका नराम्रा कुरा हटाएर अगाडि बढ्न उहाँले सरकारलाई सुझाव दिनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले समाचार लेखेकै आधारमा पत्रकारलाई जेल हाल्न नमिल्ने जिकिर गर्नुभयो । विधेयक पास भए सरकारको गुनगानका बाहेक समाचार लेखे जेल हाल्ने भन्दै उहाँले आपत्ति जनाउनुभयो । सरकारले सत्ताको आडमा ल्याउने विधेयक सच्याउन दबाबका लागि पत्रकार एक हुनुपर्ने अध्यक्ष हुमागाईंले औंल्याउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव कृष्ण सारुमगरले सरकारले पत्रकार उत्पादनमा कडाइ गर्नुपर्ने र मिडिया हाउसलाई कन्ट्रोल गर्नुपर्ने बताए । महासंघ पूर्वअध्यक्ष राममणि दाहालले जुनसुकै दलले सत्तामा हँुदा सबै ठीक र नहुँदा सबै बेठीक भन्ने मानसिकता हटाउनुपर्ने बताउनुभयो ।

पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्षहरु नवराज शर्मा, कौशल पाण्डे र भानुभक्त आचार्य, पत्रकार महासंघ प्रशिक्षण विभाग सदस्य मनोज ढोडारी, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष पोष्टराज अधिकारी (कुमार) लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल पे्रस युनियन मकवानपुरले कानुनमा उल्लेख भएका प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै हेटौंडामा अन्तत्र्रिmया गरेको छ । प्रेस युनियन मकवानपुर अध्यक्ष पोष्टराज अधिकारी (कुमार) को सभाध्यक्षता तथा नेपाल प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी पत्रकारले आफ्ना सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्