रोजिनलाई भर्सटाइल अवार्ड



राजधानीमा सम्पन्न नेसनल युथ लिड अवार्डस् २०१९ अन्तर्गत फेसन कोरियोग्राफर तथा सञ्चारकर्मी रोजिन शाक्यलाई मिस्टर भर्सटाइल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ भने इभेन्ट आयोजक एवं व्यवस्थापक धिरज तण्डुकार स्किल एन्ड म्यानेजमेन्ट ट्रेनिङ विधाअन्तर्गत पुरस्कृत भएका छन्।

फेसन शो तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको कोरियोग्राफी, नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मञ्चीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एन्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङलगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यलाई विभिन्न क्षेत्रमा उनको निरन्तर सक्रियता र उपलब्धिको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।

यसै गरी लामो समयदेखि सौन्दर्य प्रतियोगिताको सफल आयोजन र व्यवस्थापन गर्दै आएका धिरज तण्डुकारलाई उनको आफ्नो क्षेत्रमा लामो सक्रियता र योगदानको मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको हो। अवार्ड कार्यक्रम ग्लोबल लिड नेटवर्कले राष्ट्रिय युवा परिषद् नेपालको सहकार्यमा आयोजना गरेको हो। कार्यक्रममा अभिनेता विपिन कार्की, सञ्चार व्यवसायी सुमितप्रताप जंगबहादुर राणा, गायिका त्रिशाला गुरुङ, मोफसलका फेसन कोरियोग्राफर रेशम न्यौपानेलगायत २ दर्जन युवा विभिन्न विधामा पुरस्कृत भएका थिए।

प्रतिक्रिया दिनुहोस्