१३ वर्षपछि पशुपतिको बाटो बन्द



मधुसूदन रायमाझी, काठमाडौं
सञ्चालमा आएको १३ वर्षपछि तीलगंगा–ताम्रागंगा सडक बन्द गर्न पर्खाल लगाउन थालिएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई युनेस्कोले सम्पदाबाट हटाउने चेतावनी दिएपछि पशुपति क्षेत्र विकास कोषले सडक बन्द गर्ने निर्णय गरेको हो ।

कोषले आफू मातहत रहेको सम्पदाको संरक्षण गर्न र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न सडकको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएको बताएको छ ।

२०६३ सालमा सञ्चालनमा आएको सडक पटकपटक विवादमा पर्दै आएको थियो । कोषले बन्द गर्न खोज्दा पनि यसअघि स्थानीयको दबाबले सडक सञ्चालनले निरन्तता पाएको थियो ।

सञ्चालनमा रहेको सडक बन्द गर्न स्थानीयले सहमति जनाए पनि वैकल्पिक सडक हुनुपर्ने माग राख्दै आएका छन् । विश्व सम्पदा सूचीमा कायमै राख्नका लागि कोषले हाल सञ्चालन रहेको बाटोको दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाएपछि स्थानीयले आपत्ति जनाएका छन् ।

करिब ८ सय ५० मिटर सडक बन्द हुँदा ताम्रागंगादेखि गोकर्णसम्म निर्माण भएको सडक प्रयोगविहीन हुनेछ । सोही बाटोलाई मुख्य नाकाका रुपमा प्रयोग गर्ने लक्ष्यको साथ सडक विभागले चार मिलोमिटर सडक निर्माण गरेको थियो ।
सडक बन्द गर्ने निर्णयले कागेश्वरी मनहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, शखंरापुर नगरपालिकाका बासिन्दालाई सहज हुनेछ ।

वर्षाका कारण अवरुद्ध हुने उक्त सडक स्थानीयले सञ्चालनमा ल्याउँदै आएका थिए । सडकमा पछिल्लो समय फोहोर फ्याँक्ने क्रम समेत बढ्दै गएको थियो । विशेषगरी पानीका ट्याङकर ओहोरदोहोर गर्ने मुख्य सडक बनेको थियो ।
पशुपति क्षेत्रलाई सडकका कारण दुई भागमा विभाजन गरेको भन्दै युनिस्कोले विश्व सम्पदा सूचीबाट हटाउने चेतावनी बारम्बार दिएपछि कोष सडक बन्द गर्ने निष्कर्षमा पुगेको हो ।

–तीलगंगा–ताम्रागंगा दुवैतर्फ पर्खाल
–सडकमा वृक्षरोपण गर्छौं: ढकाल
–बन्द गर्न दिँदैनौं, सञ्चालनमाल्याउछौ: थापा

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले युनेस्कोको चेतावनी र सर्वोच्च अदालतको फैसलाबमोजिम सडक बन्द गर्न पर्खाल लगाउन लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘धार्मिक, ऐतिहासिक पशुपति क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने काम हाम्रो हो, सडक बन्द गरेर सडक सञ्चालन भएको स्थानमा वृक्षरोपण गर्छौं ।’ यसअघि सवारीसाधन सञ्चालन गर्न बन्द गर्न पर्खाल लगाउने तर सर्वसाधारणलाई हिँड्नका लागि फुटपाथ बनाउने तयारी गरिएको थियो ।

यद्यपि यसपटक भने कोषले दुवैतर्फ पर्खाल लगाएर वृक्षरोपण गर्दै सर्वसाधारणलाई समेत आवतजावत गर्न नमिल्ने बनाउन लागेको छ । वैकल्पिक सडक सञ्चालनका बारेमा केही योजना छ कि भन्ने नेपाल समाचारपत्रको जिज्ञासामा सदस्य सचिव ढकालले भन्नुभयो– ‘वैकल्पिक सडक सञ्चालन गर्ने काम हाम्रो होइन, पशुपति क्षेत्रको संरक्षण गर्ने दायित्व हाम्रो हो ।’

स्थानीय माधव पुडासैनीका अनुसार २०८६मंसिरमा नरोत्तम वैद्य संयोजकत्वमा युनेस्को, पुरातत्व विभागसहित सहभागी सार्वजनिक सुनुवाइले सूचना विभागबाट पशुपति क्षेत्र विकास र हवाई विभागको सीमाबाट वैकल्पिक सडक सञ्चालनमा ल्याउने निर्णय भएको थियो । उहाँले वैकल्पिक सडक नखोलीकन हाल सञ्चालनमा आएको सडक बन्द गर्नु गलत भएको बताउनुभयो । पुडासैनीले भन्नुभयो– ‘सरकारले २०६३ सालदेखि तिलगंगा ताम्रागंगा सडक सडक रातो किताबमा समावेश हुँदै आएको छ, विकल्पविना नै कोषले पेलेर बाटो बन्द गराए हामी आन्दोलनमा जान बाध्य हुन्छौं ।’

सडक बन्द गराउनका लागि सर्वोच्च अदालतमा परेको रिटमा सडक बन्द गर्न सर्वोच्चले फैसला गरेको थियो । दुई वर्षअघि नै सडक बन्द गर्न २१ लाखमा ठेक्का आह्वान गरेपनि स्थानीयको अवरोधको कारण स्थगित भएको थियो । उक्त सडक निर्माण गर्न १५ लाख रुपियाँ खर्च भएको स्थानीय पुडासैनीले बताउनुभयो ।

पशुपतिलाई दुई भागमा विभाजित गरेकोप्रति युनेस्कोले सम्पदा सूचीबाट हटाउने चेतावनी दिएपछि सरकारले सुरुङ मार्ग निर्माण गर्न ठेक्कासमेत लगाएको थियो । तर उक्त ठेक्काबमोजिम कार्यान्वयन हुन सकेको छैन ।
सडक बन्द गर्दा तीनवटा नगरपालिकाका बासिन्दालाई भने असर गर्ने भन्दै तीनवटै नगरपालिकाका जनप्रतिनिधि भने सडक पुनः सोही स्थानबाटै सञ्चालन गर्नुपर्ने छलफलमा जुटेका छन् । चावहिल क्षेत्रमा अत्यधिक रुपमा ट्राफिक जाम हुने भएकाले उक्त सडकलाई साँखु, सुन्दरीजलसम्म जाने वैकल्पिक सडकका रुपमा अगाडि सारिँदै आएको थियो ।

कागेश्वरी मनहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरि थापाले वैकल्पिक सडक सुचारु नभई हाल सञ्चालनमा आएको सडक बन्द गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी पशुपति क्षेत्र विकास कोषसँग छलफल गरेर सडक पुनः सञ्चालन गर्छाैं ।’

कोषले दुवैतर्फ पर्खाल लगाउने काम अगाडि बढाइसकेको छ । जसको कारण सवारीसाधन समेत सो सडकबाट आवतजावत गर्न बन्द भइसकेको छ । गोर्कर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले जनता हिँड्ने सडक बन्द हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामी सम्पदाको विरोधी होइनौं, दैनिक हजारौ यात्रु हिँड्ने वैकल्पिक सडक बन्द गर्न दिँदैनौ ।’

प्रतिक्रिया दिनुहोस्