जात्रै जात्राले सबै दुःख भुलाउँछ ः प्रदीप भट्टराई

0
Shares

१८ वर्षअगाडि ठूलो पर्दाको सहायक निर्देशकका रूपमा करियर शुरू गरेका प्रदीप भट्टराईले जब ३ वर्षअगाडि जात्रा नामक फिल्मबाट निर्देशनमा डेब्यु गरे त्यसको सफलताका कारण सबैतिरबाट हाई हाई पाए। बेइमानी, मलाई माफ गरजस्ता केही फिल्ममा सहायक निर्देशकका रूपमा काम गरेपछि १५ वर्षअगाडि छायांकार गौरी शंकर धुजुको सहयोगमा मह सञ्चारमा आबद्व हुन पुगेका उनले महका ४ सय जति टेलिसिरियलमा सहायकका रूपमा मात्र काम गरेनन्, कतिपय सिरियलको स्क्रिप्ट पनि तयार पारे। त्यसैको अनुभवबाट जात्रा निर्देशन गरी शुरूमै सफलता चुमेका प्रदीपले लगत्तै मह सञ्चारकै ब्यानरमा बनेको शत्रु गते निर्देशन गरे। शत्रु गतेले पनि अपार सफलता पाएपछि भट्टराईले आफूलाई निर्देशकका रूपमा चिनाउने फिल्म जात्राको सिक्वेलस्वरूप जात्रै जात्रा निर्देशन गरेका छन्। आगामी शुक्रबार अल नेपाल रिलिज हुने यो फिल्मलाई प्रतीक्षाको सूचीमा राखिएको छ। यिनै विषयमा उनीसँग गरिएका ५ प्रश्न यहाँ प्रस्तुत छ ः
जात्रै जात्रा के हो?
जात्रै जात्रा एउटा रमाइलो फिल्म हो, जसले सबै कुरा भुलाउँछ। जीवनको अभाव, टेन्सन, दुःख, पीडा, पिर, देशको अवस्थाले निम्त्याएको चिन्ता सबै हटाउँछ यो फिल्मले। यो मनोरञ्जक र पूर्ण व्यावसायिक फिल्म हो। यो जात्राको सिक्वेल फिल्म हो। यसमा जात्राको त्यही पात्र छन्, बोल्ने शैली त्यस्तै छ। यसरी भनौं ३ वर्षअगाडि एउटा घरमा व्रतबन्ध वा गुन्यँु चोली भएको थियो। त्यसका लागि घर रंगरोगन, गाना बजाना भएका थिए। टन्न पाहुना थिए। तर व्रतबन्ध वा गुन्यँु चोलीजस्तो भएकाले सबै पाहुना थिएनन्, कति छुटेका होलान्। अबचाहिँ त्यही घरमा बिहे हुँदै छ। छुटेका पाहुना थपिएका छन्। अझ रमझम छ। नाचगान छ। मतलब यसको क्यानभास ठूलो छ।

जात्रा बनाउने बेला यसको सिक्वेलसम्म जान सकिन्छ भन्ने सोच थियो?

थिएन नि। बिचरा हामी। त्यो बेला फिल्म नै चल्ला कि नचल्ला भन्ने थियो। किनभने जात्रा एउटा एक्सपेरिमेन्ट थियो। तर फिल्म हेरेर दर्शकहरू रमाउनुभयो। धेरै दर्शकले फिल्मको इन्डिङ अपुरोजस्तो लाग्यो, इन्डिङ मज्जाको भए हुन्थ्यो भन्नुभयो। जात्रा दर्शकले असोचनीयरूपमा मन पराइदिनुभयो। त्यसैले हामी सिक्वेलमा जाने कि नजाने, सिक्वेल बनाउने कि नबनाउने भन्नेमै अलमल्ममा पर्यौं। जात्रा राम्रो बनेकाले यसको सिक्वेल नराम्रो भए जात्राले कमाएको साख पनि जान्थ्यो। त्यही भएर सोच्दा सोच्दा, नगर्ने कि भन्दा भन्दै यत्तिको गर्दा राम्रो हुन्छ भन्ने लागेपछि ३ वर्षपछि आँट गरेर जात्रै जात्रा बनाएका हौं।

जात्रा, शत्रु गते र जात्रै जात्रामा कुन उत्कृष्ट?

योचाहिँ बडा कठिन कुरा हुँदोरहेछ। कस्तो भने बचपन, जवानी र बुढेसकालमा कुन राम्रो भने जस्तो। जात्रा प्रयोग थियो र नयाँ कुरा थियो। क्यारेक्टर नयाँ थिए। शत्रु गते ठूलो मासका लागि थियो। रमाइलोका हिसाबले जात्रा र शत्रु गते दुवै फिल्मभन्दा जात्रै जात्रा अझ रमाइलो फिल्म बनेको छ। जो नेपाली फिल्म हेरेर रमाउन चाहनुहुन्छ, उहाँहरूका लागि जात्रै जात्रा अझ राम्रो फिल्म हुनेछ। यो अहिले म भनिरहेको छु फिल्म हेरिसकेपछि सबैले त्यस्तै भन्नुहुनेछ भन्ने लाग्छ।

टेलिसिरियल र ठूलो पर्दाको फिल्म निर्देशनमा कुन सजिलो?

दर्शकलाई मनोरञ्जन दिने क्रममा टेलिसिरियल, प्रहसन, ठूलो पर्दाको फिल्म सबै उही हो। सबै विधामा दर्शकलाई होल्ड गर्न सक्नुपर्छ। दर्शकको ध्यान तानिराख्र्नु। ठूलो पर्दाको फिल्ममा स्क्रिप्टको हिसाबले थोरै समयमा धेरै कुरा भन्नुपर्छ। स्क्रिप्टलाई खुम्च्याउर्न गाह्रो पर्छ। टेलिफिल्म वा साप्ताहिक कार्यक्रम गर्दा यो हप्ता खिचेको कुराको रिजल्ट अर्को हप्ता हेरेर दर्शकले के मन पराउनुहुन्छ, त्यहीअनुसार चेन्ज गर्न सकिन्छ। तर ठूलो पर्दाकको फिल्मको रिजल्ट हेर्न लामो समय लाग्छ। अहिले टेलिभिजनबाट आएका सबैले राम्रो काम गरिरहनुभएको छ। त्यही ज्ञानले सजिलो भएको जस्तो लाग्छ।

जात्रै जात्रापछि के योजना छ?

जात्रै जात्रापछि दर्शकको सल्लाह सुझाव के आउँछ त्यसमा पनि भर पर्छ। नत्रभने गहन विषयमा फिल्म बनाउने मन छ। देशका लागि योगदान गर्ने हिसाबले भन्दा पनि एन्टिबायटिक खुवाएको जस्तै फिल्म गर्ने मन छ। रोग निवारण गर्ने औषधी भनेजस्तै समाजको खराब पक्ष निवारणलाई सघाउने गरी एउटा गतिलो फिल्म बनाउने मन छ।