संस्कृतिविद् जोशीप्रतिको सद्भाव



मान्यजनले आशीर्वाद दिँदा चिरायु हुनु भन्ने गर्छन् । संस्कृतिविद् सत्यमोहन जोशीका लागि यस्तो आशीर्वाद चरितार्थ भएको छ । उहाँ एक शताब्दीको साक्षीका रुपमा हुनुहुन्छ । अझै पनि उहाँ हिँडेर नजिकका कार्यक्रममा जान सक्नुहुन्छ । घन्टौं उभिएर स्पष्टरुपमा बोल्न सक्नुहुन्छ । खानपिन बार्नुपर्ने केही छैन, लेखन र अध्ययनमा पनि उत्तिकै सक्रिय । गजबको चिन्तन शक्ति । उहाँको सक्रिय जीवनबाट अरुलाई पनि सक्रिय जीवन बाँच्ने प्रेरणा मिल्छ ।

सोमबार जोशी सय वर्षमा टेक्नुभयो । उहाँको नगर परिक्रमाका अवसरमा स्वस्फूर्तरुपमा हजारौं व्यक्तिको उपस्थिति थियो । यो उपस्थितिले जोशीप्रति आममानिसको श्रद्धा र आस्था दर्शाउँछ । राजनीतिक पहुँच वा प्रभावबेगर नै आफ्नो क्षमताका आधारमा समाज र राष्ट्रलाई पु¥याएको योगदानलाई सर्वसाधारणले हृदयदेखि नै कति श्रद्धाभाव राख्छन् भनेर शताब्दी पुरुष जोशीको नगर परिक्रमाका अवसरमा उपस्थित भीडले प्रस्ट पार्छ ।

जोशीले नेपाली र नेपाल भाषा साहित्यमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । तीनपटकसम्म मदन पुरस्कार पाउने एकमात्र व्यक्ति संस्कृतिविद् जोशी हुनुहुन्छ । उहाँले वि.सं. २०१३ मा पहिलोपटक ‘हाम्रो लोक–संस्कृति’ कृतिका लागि मदन पुरस्कार पाउनुभएको थियो । ‘नेपाली राष्ट्रिय मुद्रा’का लागि वि.सं. २०१७ तथा ‘कर्णाली लोक–संस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्तरुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो । वि.सं. २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बन्नुभयो । उहाँले २०१६ सालमा पाँचौं शताब्दीदेखि बीसौं शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गर्नुभयो । भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको छ ।

नई प्रकाशन र न्हुज गुठीको प्रयासमा नेपाल सरकारले जोशीको समग्र योगदानलाई बेलैमा उचित मूल्यांकन गरी चार वर्षअघि उहाँलाई वाङ्मय शताब्दी पुरुषको उपाधि दिएको थियो । नई प्रकाशनसँगै काठमाडौंमा जनस्तरबाट गरिएको बृहत् अभिनन्दनले जोशीलाई दीर्घजीवनका लागि थप ऊर्जा प्रदान गरेको थियो । यही अभिनन्दन र सम्मानकै क्रममा ललितपुर महानगरपालिकाले सोमबार बृहत् सम्मान कार्यक्रम आयोजना गरेर एउटा उदाहरणीय कर्तव्य निर्वाह गरेको छ ।

वास्तवमा विकास भनेको चौडा सडक र गगनचुम्बी भवन बनाउने मात्र होइन, पुर्खाको नासोको रुपमा रहेको मूर्त–अमूर्त संस्कृति एवम् सम्पदा जोगाएर त्यसको प्रवद्र्धन गर्ने पनि विकास नै हो । अतः जोशीको सपनाअनुसार संस्कृति–सम्पदाको संरक्षण गरी कला र संस्कृतिमैत्री विकासलाई अघि बढाउन सके जोशीप्रति राज्य र स्थानीय तहले गरेको सच्चा सम्मान हुनेछ । जोशीको सय वर्षको जीवनले सबैलाई यसतर्फ अघि बढ्ने प्रेरणा मिलोस् ।

प्रतिक्रिया दिनुहोस्