पतञ्जलि– ३२: शेषनागबाट जम्बूद्वीपको भ्रमण शुरु



खेचरपर्वत खप्तडमा भगवान् शङ्कर र पार्वतीको दिव्य ताण्डवनृत्य हेरेर धोको पूरा गरेपछि शेषनाग अब मैले कहाँ जन्म लिने होला ! भन्दै विचार गर्न लागे । जन्म लिने ठाउँको खोजीमा उनले उसै गरी खेचर नागका रुपमा आकाशमार्गद्वारा समस्त जम्बूद्वीपको भ्रमण गरे । त्यस क्रममा भारतवर्षका तात्कालिक प्रसिद्ध र पवित्र सप्तनगरी जगन्नाथपुरी, काञ्चीपुरी, अवन्तिकापुरीलगायत स्थलहरुको हवाई भ्रमण गरे । अनि द्वारकापुरी र मथुरापुरी पनि पुगे उनी । हस्तिनापुर तथा कुरुक्षेत्र पनि पुगे ।

उहिले द्वापरयुगमा बलरामको रुपमा अवतार लिएको सम्झना भयो त्यहाँ शेषनागलाई । महाभारत युद्धमा भारतवर्षमा त्यस बेलाका महारथी महाबलि महावैज्ञानिक तथा महादानी व्यक्तिहरुको हताहती भएको दृश्य उनका आँखासामु आयो । उनलाई त्यस नरसंहारको दृश्यले मनमा अशान्ति ल्याइदियो । उनलाई लाग्यो– ‘आफू स्वयं दाजु भएर पनि मैले भाइ कृष्णलाई तथा कौरव–पाण्डवलाई युद्धबाट रोक्न सकिनँ । रामावतारमा दाजु रामको भाइ हुँदाको जस्तो मेरो भूमिका द्वापरकालमा हुन सकेन । यस्तै सोचाइले उनका मनमा एकछिन् खिन्नता छायो ।

शेषनाग त्यहाँबाट साकेत राजधानी अयोध्या आए । अयोध्या इक्ष्वाकु वंशीय राजाहरुको राजधानी थियो । यिनीहरु अत्यन्त प्रतापी राजा थिए । यिनीहरुसँग कसैले युद्ध गर्ने साहस गर्दैनथ्यो । राजधानी साकेत नगरीलाई पनि कसैले युद्ध गरेर जित्न नसक्ने हुनाले नै मानिसहरु व्यवहारमा यसलाई अयोध्या भन्दथे । त्यसै भएर यस नगरीको अयोध्या नाउँ सत्य एवं सार्थक थियो । यसका प्रवेशद्वारमा ठूला–ठूला ढोकाहरु थिए । तिनमा बलिया–बलिया आग्लाहरु थिए । नगरमार्गका दुवैतिर विभिन्न रंगहरुले लिपिएका साना तथा ठूला विभिन्न बान्कीका थरी–थरी घरहरु सजिएका थिए । त्यहाँको घरधुरीको संख्या तिनताका सामान्यतया एक हजार जति थियो ।

यो साकेत राजधानी सरयू नदीको पावन तटमा बसेको छ । यो नदी हिमालय पर्वतको मानसाचल कन्दराबाट उत्पन्न भएकी भागीरथी गङ्गाका सात धारामध्येकोे एउटा हो भनिन्छ । आयुर्वेदमा यसको जल स्वादमा मीठो र स्वास्थ्यका दृष्टिले बल तथा पुष्टिकारक भनिएको छ । त्यहाँ आउनासाथ सरयूको पावन जलमा स्नान गरेपछि अनन्त नागको मन चङ्गा भयो । उनी सर्वप्रथम राम, जानकी तथा हनुमानको दर्शन गर्न गए । उनका मनमस्तिष्कमा त्रेतायुगमा लक्ष्मण भएर अवतार लिँदाका सबै दृश्यहरु एकएक गरेर साकार हुन पुगे । रामका रुपमा विष्णु, सीताका रुपमा लक्ष्मी, शिवजीका रुपमा हनुमान् र लक्ष्मणका रुपमा स्वयं आपूm नै अवतीर्ण भई कर्तव्यपरायणताका साथ भूमिका निर्वाह गरेर विश्वमा आदर्श रामराज्यको स्थापना गरेका अतीतका घटना सम्झँदै शेषनाग आनन्दित र भावविभोर भए ।

पावन सरयूको जलतरंगसँगै आफ्नो मनलाई पनि तरंगित पार्दै शेष एकछिन् सरयूतटमा नै रमे । त्यसपछि शेषजी अयोध्याको हनुमान् मन्दिर पनि पुगे । उनले त्रेतायुगमा भाइ लक्ष्मणको भूमिकामा रहँदा दाजु रामका साथ हनुमान्को काँधमा चढेर ऋष्यमूक पर्वतको फेदीबाट सुग्रिवलाई भेट्न शिखरमा पुगेको सम्झे । साथै त्रेतायुगमा भाइ लक्ष्मणका रुपमा र द्वापरयुगमा दाजु बलरामका रुपमा रहँदाको आफ्नो स्थितिको पनि तिनले त्यहीँ बसेर तुलना गरे ।

दाजु भएर परिवार तथा राज्यको अब्जस्याहा उत्तरदायित्व बहन गर्नुभन्दा आज्ञाकारी भाइ भएर उत्तरदायित्वबाट मुक्त भई आराएको मानी बस्नु धेरै राम्रो भन्ने कुरा तिनका मनमा लागिरह्यो, त्यति बेला । अहिले भने शेषनाग एक्लै थिए ।
क्रमशः

प्रतिक्रिया दिनुहोस्