आलोचनालाई हल्का नठान



यतिखेर नेपाली राजनीतिमा विकृति, बेथिति र विसंगतिको चाङ लागेको देखिन्छ । निष्ठाको राजनीतिलाई तिलाञ्जलि दिएर चाकरी, चाप्लुसी झाङ्गिएको छ । सिद्धान्त र आदर्श एकातिर छ भने व्यवहार अर्कोतिर भइरहेको छ । त्यस्तै गरी नीति र आश्वासन एकातिर छ तर कार्यान्वयन पक्ष अर्कोतिर भएको देखिन्छ ।

बोली र प्रतिबद्धता एकातिर छ अनि काम अर्कोतिर भइरहेको छ । सरकारमा समेत दुई तिहाइको दम्भ बढेको छ । कसैले सरकारको गल्ती औंल्यायो वा आलोचना ग¥यो भने ‘अन्तर्राष्ट्रिय अभ्यास’ भनेर हल्कारुपमा लिने गरिएको छ । गलत गर्नेहरुलाई पर्गेलेर कारबाही गर्नुको साटो बचावट गर्ने गरेको पाइन्छ । यता दलहरुभित्रै पनि गुट–उपगुटले गर्दा एक–आपसमा खुट्टा तान्ने प्रवृत्ति मौलाएको छ । केही दलहरु मर्ज भए पनि असन्तुष्टहरुको लर्को लागेको छ । यसले गर्दा दलहरुलाई झनै कमजोर बनाउँदै छ । त्यसैले राजनीतिज्ञहरु समयमै सचेत हुनुपर्ने देखिन्छ ।

पछिल्लो समय नेता र राजनीतिक दलमाथिको विश्वासमा समेत कमी आइरहेको छ । विगतमा दलहरुबीच धेरै सहमति, समझदारी र सम्झौता भए । चुनावताका दलहरुबाट धेरै प्रतिबद्धता जनाइए, धेरै घोषणाहरु गरिए । तर त्यस्ता समझदारी, सम्झौता, प्रतिबद्धता र घोषणाहरुको इमानदारीपूर्वक पालना गर्ने नयाँ राजनीतिक संस्कृतिको थालनी हुन सकेन । दलहरुमा पनि सहमतिभन्दा बढी एक–आपसमा राजनीतिक आग्रह–पूर्वाग्रह धेरै देखिँदै गएका छन् ।

यसलाई नेता एवम् दलहरुको कमजोरी मान्न सकिन्छ । राजनीतिक विकृत क्रियाकलापको जनमानसबाट आलोचना र विरोध भइरहेको छ । यद्यपि जति आलोचना र विरोध भए पनि गलत प्रवृित्तहरू भने झनै संस्थागत हुँदै गएका छन् । यस्ता आलोचना र विरोधलाई सामान्यरुपमा लिनुहुँदैन ।

यदि गलत परिपाटी संस्थागत हुँदै गयो र यसको बचावट गरिँदै गयो भने दलहरु नै कमजोर बन्दै जानेछन् । यसले पार्टीको आन्तरिक संगठन मात्रै कमजोर बनाउँदैन, राज्य नै कमजोर हुँदै जानेछ । नेता–कार्यकर्ताहरु गुटगत पक्ष–विपक्षमा उत्रिँदा राजनीतिक संस्कृतिको स्तर कमजोर बन्नेछ ।

आफ्नो गुटलाई कसरी बलियो बनाउने र अर्को गुटलाई कसरी कमजोर पार्ने भन्नेमा मात्र लाग्ने हो भने ठूलो संघर्ष गरी प्राप्त गरेको उपलब्धि पनि गुम्न बेर लाग्दैन । यस अवस्थामा दलहरुले यो गुट र त्यो गुट नभनी मिलेर जानुको विकल्प छैन । उता सरकारले पनि जनमानसबाट आउने आलोचना सुन्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्