खजुरामा मिनि रंगशालाको शिलान्यास



कुमार श्रेष्ठ, बाँके
खजुरा गाउँपालिका वडा नं. ४, डीगाउँको आदर्श आधारभूत स्कूलको फुटबल मैदानलाई मिनि रंगशालाको रुपमा विकास गरिने भएको छ । पहिलो चरणमा ४५ लाखको लागतमा शुरु गर्न लागिएको प्यारापिटको बुधबार खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले शिलान्यास गरे । प्रदेश सरकारको ३६ लाख र गाउँपालिकाको ९ लाख रुपैयाँ बजेटमा प्यारापिट निर्माण शुरु गरिएको हो ।

खजुरालाई खेलकुदको हब बनाउने उद्देश्यले खजुरा गाउँपालिकाभित्र धमाधम खेलकुद संरचना निर्माण भइरहेका छन् । प्यारापिट १४६ मिटर लम्बाई र तीन स्टेप रहने वडा अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लिग चरणको फुटबल खेल उक्त खेलमैदानमा खेलाइएको थियो । एक वर्षअघि नेपालगञ्ज गोल्डकप पनि यही मैदानमा खेलाइएको थियो । खजुरा क्षेत्रमा हुने फुटबलका प्रतियोगिताहरु यहाँ हुने गर्दछ ।

खजुरा गाउँपालिकाको चौथो गाउँसभालले सो ठाउँमा मिनी रंगशालाको रुपमा विकास गर्न सर्वसम्मतिबाट पारित गरेको थियो । गाउँपालिकाका प्रमुख कक्षपतिले खजुरालाई खेलकुदको हब बनाउन खेलपूर्वाधारमा लगानी गरिएको बताए ।

शिलान्यास कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समिति प्रदेश नं. ५ का अध्यक्ष भीम वली, खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

खजुरामा भलिबल स्टेडियम बनिरहेको छ । जहाँ आठौं राष्ट्रिय खेलकुदको भलिबल प्रतियोगिता भइसकेको छ । नेपालगञ्जलाई केन्द्रविन्दुमा राखेर भएको आठौं राष्ट्रियले ५० करोडबढीको पूर्वाधार निर्माण गरेको छ । आठौंमा खजुरामा चार वटा खेल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्