काभ्रेलाई समृद्ध बनाउने योजना



मोतीराम तिमल्सिना, काभ्रे
काभ्रे जिल्लालाई समृद्ध बनाउने अभियान अगाडि बढेको छ। ‘सुखी काभ्रेली, समृद्ध काभ्रे’ अभियान स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार जुटेको छ। विकास निर्माणको स्पष्ट योजना र लक्ष्यसहित जनप्रतिनिधिहरू जुटेका छन्।

सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा उद्योगी एवं व्यवसायीले साथ दिएका छन्। सरकारले जिल्लामा सञ्चालन गरेका आयोजना तथा भावी योजनाका सन्दर्भमा जिल्लाका उद्यमी तथा व्यवसायीसँग सुझाव मागेको छ। उद्योगी एवं व्यवसायीले सरकारले सरकारले लिएका नीति र विकासको जग राख्न शुरू गरेको अभियानमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
सरकारले भर्खरै सम्पन्न गरेको लगानी सम्मेलनमा जिल्लाका ८ वटा महŒवपूर्ण आयोजना समावेश भएकाले त्यसको सफल कार्यान्वयनका लागि उद्योग वाणिज्य संघ सहकार्य गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरकृष्ण वैद्यले बताउनुभयो।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले उद्योग वाणिज्य संघ तथा सरकारका अन्य निकाय र स्थानीय संघ–संस्थासँगको सहकार्यमा बनेपालाई समृद्ध नगर बनाउने अभियानमा निरन्तर क्रियाशील भएको बताउनुभयो। फोहोरमैला व्यवस्थापन, खानेपानी तथा अन्य भौतिक पूर्वाधारसँगै मुलुकले लिएको समृद्ध अभियानलाई सफल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्योग वाणिज्य संघले उठाएका समस्याहरू समधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘सम्भावनाका लागि हामी प्यासी छौं’, मन्त्री बास्कोटाले भन्नुभयो– ‘लगानी सम्मेलनमा निजी क्षेत्रबाट २७ र सरकारीस्तरबाट ५० गरी ७७ आयोजना पेस गरेकोमा जिल्लामा ८ वटा आयोजनाका लागि लगानी गर्ने प्रतिबद्धता व्यक्त भएको छ, यो खुसीको विषय हो।’

पुँजी र प्रविधि भिœयाउन लगानी सम्मेलन आयोजना गरिएको बताउँदै मन्त्री बाँस्कोटाले ३० खर्बका अपेक्षा गरेकोमा झन्डै–झन्डै लक्ष्य नजिक पुगेको जानकारी गराउनुभयो। जिल्लाको महŒवपूर्ण आयोजना सुनकोसी तेसो ५३६ मेगावाटका लागि १ खर्ब १० अर्ब रुपियाँको लगानी प्रस्ताव दर्ता भएको छ। उक्त आयोजनालाई बढाएर थप ३ सय मेघावाट थप्न सकिनेछ। पर्यटन पूर्वाधार, ताल निर्माण र मण्डन तथा पाँचखालका कृषकका लागि सोही योजनाबाट सिँचाइसमेत गर्न सकिने महŒवपूर्ण आयोजना जिल्लाले प्राप्त गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो।

कृषिसँग सम्बन्धित रिसर्च गर्ने र जिल्लाको कृषिलाई व्यवसायीकरण, प्रविधीकरण गरी मुलुकमै नमुना बनाउने उद्देश्यले ५ अर्ब लगानी प्रस्ताव गरिएको छ। बनेपाको नाला क्षेत्रमा उक्त आयोजना कार्यान्वयन हुनेछ। निजी क्षेत्रले बनेपाको अपांग अस्पताल आसपासमा बुटिक होटल निर्माणको प्रस्ताव गरेको छ। अन्तर्राष्ट्रियस्तरको उक्त होटल निर्माणपछि पर्यटन क्षेत्रमा थप आयाम थपिनेछ।
धुलिखेल क्षेत्रमा फोहोरमैला व्यवस्थापनका लागि ६ अर्ब लगानी प्रस्ताव गरिएको छ। जसका लागि बनेपा, पनौती, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकाको फोहोर संकलन गरी फोहोरबाट विविधीकरण गरिनेछ। इनर्जी, मल तथा फोहोरको व्यवस्थापनबाट नगरपालिकाहरूलाई थप वातावरणमैत्री बनाउन सहयोग पुग्नेछ।

काभ्रेपलाञ्चोक जिल्लालाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन अध्ययन, अनुसन्धान र उपचारमा सहयोग पु¥याउने उद्देश्यले धुलिखेल मेडिसिटी निर्माण गरिने भएको छ। जसका लागि ७ अर्ब लगानी प्रस्ताव गरिएको छ। विकासका हिसाबले नगरपालिका र गाउँपालिका समेतको एकीकृत विकास उपमहानगरपालिकाको अभ्यासका रूपमा लिनुपर्ने मन्त्री बाँस्कोटाले बताउनुभयो।

आईटी पार्क रहेको क्षेत्रमा थप १३ रोपनी जमिन उद्योग मन्त्रालयसँगको समझादारीमा थप गर्दै सेक्युरिटी प्रेस स्थापना गरिनेछ। ३० अर्बको उक्त आयोजना ३ वर्षमा सम्पन्न हुनेछ। उक्त कार्यका लागि सम्झौता भइसकेको छ। धुलिखेल पर्यटनका हिसाबले अन्य नगरभन्दा अगाडि रहेको छ। होटल, रिसोर्ट र वातावरणका हिसाबले धुलिखेललाई पर्यटकीय शहर बनाउन ड्रिम ल्यान्ड प्रोजेक्ट तयार गरिएको छ। जसका लागि लगानी सम्मेलनमा प्रस्ताव गरी लगानीको सुनिश्चित गरिएको छ। धुलिखेलको वर्षौंदेखिको उक्त योजनालाई आयोजनाका रूपमा लगानीको वातावरण तयार गरिएको छ।

रोशीको पानी संरक्षणका लागि १ अर्ब ७० करोडको रकम विनियोजन गरिएको छ। प्रस्ताव गरिएका मध्ये ५ वटा आयोजनाका लागि अन्तर्राष्ट्रिय लगानीको सुनिश्चित भएको मन्त्री बाँस्कोटाले बताए। एकद्वार प्रणाली लागू गरेर लगानीलाई सहज बनाइएको छ। सेज निर्माणले गति लिएको छ। पाँचखालमा सेज स्थापना गर्ने भनिए पनि विभिन्न कारण निर्माणले गति लिन नसकेका बेला तत्काल बनमा रहेका मुद्दाहरूको छिनोफोनो गरी चालू आर्थिक वर्षभित्रै खर्च गर्ने गरी २० करोड रकम विनियोजन गरिएको मन्त्री बाँस्कोटाले बताउनुभयो।

पाँचखाल र मण्डनका लागि इन्द्रावती खोलाबाट सिँचाइको व्यवस्थापन गर्ने गरी डीपीआर शुरू गरिएको छ। बनेपा नगरपालिकामा करिडोर निर्माणका लागि ३ करोड रकम विनियोजन गरिएको छ। करिडोर बनेपा हुँदै धुलिखेल र पनौतीलाई जोडिनेछ। महाभारत ट्रेल, बौद्धमार्ग सर्किट, बनेपामा कला केन्द्रको स्थापनालगायतका महŒवपूर्ण योजनाहरू सञ्चालन भइरहेको मन्त्री बाँस्कोटाले बताउनुभयो।

काभ्रे एकीकृत शहर निर्माणका लागि २५ करोड रकम विनियोजन गरी धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जुको संयोजकत्वमा समिति गठन गरिएको छ। बनेपा, पनौती, धुलिखेल र बेथान्चोक गाउँपालिका स्मार्ट शहरका लागि योजनाहरू अगाडि बढाइनेछ। त्यस्तै बनेपा, पनौती र धुलिखेल जोड्ने मुख्य आयोजना निर्माणका लागि पनि अलग्गै समिति गठन भएको छ। उक्त समितिको संयोजक पनि धुलिखेलका नगर प्रमुख अशोक व्याञ्जु रहनुभएको छ। एकीकृत खानेपानी, लाकुरी भञ्ज्याङदेखि पनौती नमोबुद्ध हुँदै बीपी राजमार्ग जोड्ने सडक निर्माणका लागि रकम विनियोजन गरिएको छ भने मण्डन देउपुर नगरकोट हुँदै काठमाडौं जाने सडकलाई अर्को महŒवपूर्ण सडकका रूपमा लिइएको छ।

पाँचखाल नगरपालिकामा २ अर्ब १४ करोडको खानेपानी आयोजना शुरू गरिएको छ। बनेपामा हिले जलजलेमा ड्याम निर्माण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न डीपीआर तयार गरिएको छ। बालबालिकाका लागि खेल्ने पार्क र बनेपामा बसपार्क निर्माणको कार्य अगाडि बढाइने मन्त्री बाँस्कोटाले बताउनुभयो। मध्यपहाडी लोकमार्गको निर्माणको कार्यले जिल्लाको सम्भावनालाई थप सहयोग पु¥याएको बताउँदै मन्त्री बाँस्कोटाले सेवा र शैक्षिक क्षेत्रको लगानीलाई बढाउन उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो। सम्भावना र चुनौती दुवै भएकाले सहकार्यमै अगाडि बढ्न सके जिल्लाले कोल्टे फेर्नेछ।

प्रतिक्रिया दिनुहोस्