के हामीले चाहेको संस्कार यही हो ?



साधुराम गिरी
संसारमा जति पनि विकसित वा अविकसित राष्ट्रहरु छन्, ती सबै राष्ट्रको आ–आफ्नै प्रकारको धर्म, संस्कृति, संस्कार र पहिचान हुन्छ र छ पनि । अनि आ–आफ्नो संस्कार–पहिचानलाई निरन्तरता दिनको लागि तिनको संवद्र्धन र विकास गर्ने जिम्मेवारी पनि त्यही सम्बन्धित देशका शासक अनि मातहतका अधिकारप्राप्त निकायको हुन्छ । सोही देशका सचेत नागरिकले पनि बेला–बेलामा अझ सचेत भएर समयअनुसार सुसूचित हुने काम गर्नुपर्दछ । तब मात्र धर्म, संस्कार र पहिचानजस्ता अपरिहार्य प्रणालीको संरक्षण र विकास हुन्छ ।

अतः विश्वमा जनप्रिय बनेको र सबैभन्दा पुरानो पूर्वीय संस्कारअनुसार हरेक परिवारका सदस्यको आ–आफ्नो जिम्मेवारी र कर्तव्य निश्चित गरिदिएको हुन्छ । जस्तै– आफूभन्दा ठूलोलाई आदर गर्ने, उनीहरुले भनेको मान्ने, सानोलाई पनि आवश्यक हेरविचार र माया गर्ने, वृद्धवृद्धालाई आदर गर्ने अनि सम्मानपूर्वक आवश्यक हेरविचार गर्ने गरिन्छ । वृद्धवृद्धाको लामो र अमूल्य अनुभवलाई सुनेर छलफल गरी सोही अनुुसार आफ्ना व्यावहारिक कार्यहरुलाई अगाडि बढाउने गरिन्छ । त्यसै गरी असल र सभ्य संस्कार सिक्ने र भावी सन्ततिलाई सोही अनुसारको शिक्षादीक्षा दिने गरिन्छ, जुन शिक्षाले आफू, आफ्नो परिवार र समाजको मर्यादित ढंगले विकास हुन सकोस् ।

सभ्यताको विकास र मानिसहरुको जीवनशैलीमा भएको परिवर्तनसँगै आजभोलि त प्रायः हरेकले आफ्ना छोराछोेरीलाई निजी विद्यालयमा पढाउने अनि सानै उमेरदेखि होस्टेलमा राख्ने गरेको देखिन्छ । यसो गर्नु मानिसहरुको आ–आफ्नो व्यस्तताले गर्दा अनुकूल होला तर त्यसको परिणाम भविष्यमा राम्रो नहुने कुरा आजभोलि देखिन र अनुभव गर्न थालिएको छ ।

वास्तवमा पाँच वर्षसम्म आफ्ना आमाबाबुसँग परिवारमा रमाएर व्यावहारिक ज्ञान स्वतन्त्रपूर्वक सिक्नुपर्ने बेलामा दुई–तीन वर्षदेखि नै आमाबाबु र परिवारबाट अलग भई होस्टेलमा बस्नुपर्ने बाध्यताले ती बालबालिकाको मानसिक विकास सहज ढंगले नहुन सक्ने सम्भावना धेरै हुन्छ । सहज नै भए पनि पछि ती होस्टेलमा सानै उमेरदेखि बसेर पठनपाठन गरेका बालबालिकाले आफ्ना आमाबाबुलाई गर्नुपर्ने आदर–मायाममता पछि नगर्न पनि सक्छन् । तिनै बालबालिकाले आफू ठुलो भएपछि आफ्नो अनुकूलतालाई ध्यानमा राखी वृद्ध आमाबाबुलाई वृद्धाश्रममा राख्ने गर्दछन् ।

हाम्रो पूर्वीय संस्कारअनुसार यो सही छ त ? बेलैमा सोच्नुपर्दैन ? यो राम्रो संकेत पक्कै होइन । अर्को कुरा, प्रायजसो निजी विद्यालयमा नैतिक शिक्षा नै पढाइँदैन भने त्यस्ता विद्यालयमा ती कलिला बालबालिकाले छात्रावासमा बसेर कस्तो शिक्षा र संस्कार सिक्लान् ? सहजै अनुमान लगाउन सकिन्छ । देशको भौगोलिक परिवेश, विभिन्न भाषाभाषी, धर्म–संस्कार र संस्कृतिअनुसार व्यावहारिक शिक्षालाई समयसापेक्ष गुणस्तरीय ढंगले पठनपाठन गराएको खण्डमा मात्र बालबालिकाले असल र व्यावहारिक शिक्षा प्राप्त गर्दछन् । अनि भविष्यमा योग्य नागरिक बनी मर्यादित भएर आफू र आफ्नो परिवार, समाज तथा राष्ट्रलाई नै समृद्ध एवम् सभ्य बनाउन मद्दत गर्दछन् । आमाबाबुले पनि आफ्ना बालबालिकालाई समय अुनुकूल हेरविचार नगरी पुस्तकको भारी बोकाएर विद्यालय पठाउँदैमा आवश्यक शिक्षा प्राप्त गर्लान् भनेर ढुक्क हुने बेला छैन । बेलैमा सचेत हुनु जरुरी छ । छात्रावासमा राख्दैमा असल शिक्षा नै हासिल गर्दछन् भन्ने छैन ।

आफ्ना छोराछोरी सानो हुँदा वास्ता नगरी छात्रावासमा राखेर पढाउने, पछि तिनै आफूले मायाममता नदिएर वास्ता नगरेका बालबालिकाले आफ्ना निर्दयी आमाबाबुलाई वृद्धाश्रममा लगेर छोड्ने गर्दछन् । उनीहरुको बाँकी जीवन आफ्ना छोराछोरीको रेखदेखमा रमाइलो गरी बित्नुपर्ने हो तर त्यसो नभएर अत्यन्तै कठिनपूर्वक जीवन बिताएको कुरा वृद्धाश्रममा बस्ने आमाबाबुको बेला–बेलामा आउने गरेको समाचारबाट प्रस्ट हुन्छ ।

समृद्धि र विकासको नाममा परिवारलाई विखण्डन गरी छोराछोरीलाई विदेश पलायन गराउने अनि आफूचाहिँ वृद्धाश्रममा तिनै छोराछोरीले पठाएको रकम तिरेर बस्नुपर्ने, यही हो त हाम्रो प्राचीन संस्कार ? यस्तो विकृत अवस्था यही पश्चिमेली संस्कारयुक्त शिक्षाको उपज होइन र ?

यसरी वृद्धवृद्धालाई वृद्धाश्रममा राख्ने क्रम बढ्दै गएको कारणले गर्दा आजभोलि विकासको नाममा वा सामाजिक सेवा गर्ने नाममा जहाँतहीँ च्याउसरि वृद्धाश्रम खोल्ने क्रम बढिरहेको छ । पहिले नै अलिकति दूरदर्शी भएर आफ्ना बालबालिकालाई संस्कारसहितको व्यावहारिक शिक्षा प्रदान गर्न सकेको खण्डमा वृद्धाश्रमको आवश्यकता नै पर्दैन । वास्तवमा वृद्धाश्रम त हेरचाह गर्न कोही आफन्त वा छोराछोरी नभएका बेसहाराका लागि, त्यो पनि निजी नभएर सरकारी वृद्धाश्रम खोल्नुपर्ने हो । साँच्चै भन्ने हो भने, आजभोलि सामाजिक सेवाका नाममा वृद्धाश्रम खोल्ने र डलर कमाउने फेसन नै भैसक्यो । यो कुनै पनि परिवार, समाज तथा देशकैै लागि राम्रो होइन ।

अर्को कुरा, आजभोलि पूर्वीय संस्कृति र संस्कारलाई नै चुनौती दिँदै खोलेका सामाजिक संस्थाहरुले पश्चिमेली धर्म–संस्कृतिलाई टेवा पुग्ने खालको कार्यहरु गर्दै आएको कुरा पनि व्यापकरुपमा बढिरहेको छ । यसले गर्दा हाम्रो समाजमा आजभोलि आफ्ना छोराछोरीलाई पश्चिमेली संस्कृति र संस्कारयुक्त शिक्षादीक्षा दिने, गतिहीन र अव्यावहारिक शिक्षा हासिल गरिसकेपछि विदेशी भूमिमा पसिना बगाउन पठाउने क्रम बढ्दो छ । यसरी समृद्धि र विकासको नाममा परिवारलाई विखण्डन गरी छोराछोरीलाई विदेश पलायन गराउने अनि आफूचाहिँ वृद्धाश्रममा तिनै छोराछोरीले पठाएको रकम तिरेर बस्नुपर्ने, यही हो त हाम्रो प्राचीन संस्कार ? यस्तो विकृत अवस्था यही पश्चिमेली संस्कारयुक्त शिक्षाको उपज होइन र ? अनि वृद्धाश्रम चलाएर मोटो रकम असुल्नेहरुलाई गरिखाने थलोको रुपमा वृद्धाश्रम बनाउन उक्साउनु, यो कस्तो विडम्बना हो ? वास्तवमा वृद्धाश्रम त बेवारिसे वृद्धवृृद्धाहरुको लागि पो आवश्यक हुन्छ त ! जसकाा छोराछोरी छन्, समाजमा प्रतिष्ठित छन्, तिनीहरुका लागि किन वृद्धाश्रमको आवश्यकता भयो ? यसलाई सम्बन्धित निकायले सोच्नुपर्ने होइन र ?

संसारभर वीर गोर्खालीको देश, बुद्ध र सीताजस्ता आदर्श व्यक्तिको जन्मस्थान, प्रकृतिको सुन्दर बगैँचा भनेर आफ्नो पहिचान बनाउन सफल राष्ट्र आजभोलि त यस्तै विकृति–विसंगतिले आफ्नो पहिचान नै मेटिने त हैन भनी सोच्नुपर्ने अवस्था पो सृजना भयो । संस्कार–संस्कृति त हरेक राष्ट्रको अमूल्य पहिचान हो नि ! यसलाई बिर्सेर अर्काको नक्कल गर्नाले भोलिका दिनमा हाम्रा भावी सन्ततिले हाम्रो पहिचान खोइ ? भनेर सोधेमा अनुत्तरित बन्नुपर्ने त होइन ? धर्म परिवर्तन अनि सामाजिक–सांस्कृतिक मूल्यमान्यता, परम्परा, अखण्डता, स्वाभिमान गुमाएर निर्लज्ज विदेशीहरुका अगाडि लम्पसार भएको अवस्था देखिन्छ आजभोलि । यही हो स्वाभिमानी नेपालीको पहिचान ? वास्तवमा नेपालीको मौलिकता कतातिर जाँदै छ वा लगिँदै छ ? हामीले हाम्रो भावी सन्ततिलाई कस्तो संस्कार र संस्कृति हस्तान्तरण गर्दै छौं ? यतातिर कहिलै सौच्ने गरेका छौं ?

प्रतिक्रिया दिनुहोस्