जाजरकोटकी चेली सिजन पुन बलिउडमा मुख्य अभिनेत्री



काठमाडौं । बलिउडमा जाजरकोटे चेली भेरी नगरपालिका– ३, पीपलडाँडाकी २१ वर्षीय सिजन पुनले बलिउडकी मुख्य अभिनेत्री बन्ने अवसर पाएकी छिन् । अभिनेत्री सिजनको ‘हर जनम मे मिलेंगे’ बलिउड चलचित्रको हाल धमाधम छायांकन भइरहेको छ ।

चलचित्र पी भन्साली प्रोडक्सन हाउसले निर्माण गरेको हो । मुख्य अभिनेत्रीको भूमिकामा अनुबन्धित सिजनको पहिलो चलचित्र ‘हर जनम मे मिलेंगे’ को छायांकन आधाभन्दा बढी सकिएको छ । छायांकनको ६० प्रतिशत काम पूरा भइसकेको पुनले बताइन् ।

डेढ वर्ष पहिलेदेखि भारतको मुम्बईमा रहेर भारतीय टेलिभिजनका दुई सिरियलमा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरिसकेकी सिजनले पहिलो पटक ठूलो पर्दामा मुख्य नायिकाको भूमिका पाएकी हुन् । यसअघि सिजनले भारतीय टीभी च्यानल स्टार प्लसमा प्रसारण हुने ‘आरम्भ’ सिरियल र ‘क्राइम स्टोरी लक अप’ मा चरित्र अभिनेत्रीको रूपमा अभिनय गरिसकेको बताइन् । चलचित्रमा शशी शेखरको निर्देशन, प्रवीण भन्सालीको निर्माण र चन्दरको लेखन छ ।

चलचित्रमा धनी घरकी युवतीको भूमिका निर्वाह गरेकोे सिजनले बताइन् । गाउँमा हुने अपराध र अन्यायको सिकार हुने गरिबको उद्धार गर्ने खालको भूमिका चलचित्रमा प्रस्तुत गरेको उनको भनाइ छ । सहरको विकृति र गाउँका ठूलाबडा भन्नेले गरिबमाथि गर्ने अन्यायलाई चलचित्रको विषयवस्तुमा देखाउन खोजेको उनी बताउँछिन् ।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेकी सिजनले जाजरकोटकै छोरी भन्न मन पराउने गरेको बताइन् । ‘भारतीय चलचित्रमा अभिनय गरेर आफूलाई दुनियाँमा सफल अभिनेत्रीको रूपमा स्थापित गर्ने सपना बुनेकी छु । जीवनमा संघर्षको वास्तविकता कस्तो हुन्छ भनेर देखाउने रहर रहेको छ,’ सिजनले हाँस्दै भनिन् ।

प्रतिक्रिया दिनुहोस्