यो वर्ष ह्याप्पी मदर्स डे भन्न पाइनँ



यमन श्रेष्ठ
यो वर्ष पहिलोपटक तिम्रो पाउ छुन पाइनँ
ह्याप्पी मदर्स डे भन्दै अँगालो हाल्न पाइनँ
माया ममता तिमीले दिएको झन् पो झन् बुझ्दै छु
यति धेरै रैछ त्यो, यो जुनीमा सम्हाल्न भ्याइनँ।
अन्तिम स्वास फेर्दै थियौ, तर मेरैबारे सोच्दै थियौ
आफ्नो घाउमा मल्हम नलगाई, मेरै घाउ रोज्दै थियौ
कत्रो हिम्मत तिम्रो त्यो, कत्रो साहस तिम्रो त्यो
आफ्नो पीडा बिर्सेर, अझ मेरै पीडा खोज्दै थियौ
यो वर्ष पहिलोपटक तिमीलाई दुख्यो सोध्न पाइनँ
ह्याप्पी मदर्स डे भन्दै अँगालो हाल्न पाइनँ
माया ममता तिमीले दिएको झन् पो झन् बुझ्दै छु
यति धेरै रैछ त्यो, यो जुनीमा सम्हाल्न भ्याइनँ
हरेक पल हरेक क्षण हरेक ठाउँ तिमी देख्छु
ए यमन भनी बोलाएको, तिम्रो आवाज पनि म सुन्छु
दुई दिनको चोला जीवन, छोडेर त्यहाँ आउनु छ नै
पुग्नासाथ भगवान्लाई मेरो आमा खोई भनी म सोध्छु
यो वर्ष पहिलोपटक तिम्रो फोटो खिच्न पाइनँ
ह्याप्पी मदर्स डे भन्दै अँगालो हाल्न पाइनँ
माया ममता तिमीले दिएको झन् पो झन् बुझ्दै छु
यति धेरै रैछ त्यो, यो जुनीमा सम्हाल्न भ्याइनँ।

(ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ पुत्र तथा कलाकार यमन श्रेष्ठद्वारा मातातीर्थ औंसीका अवसरमा लिखित कविता)

प्रतिक्रिया दिनुहोस्