आध्यात्मिक ज्ञानको भण्डार



रोहिणी घिमिरे

आजकल मानवीय संवेदना हराउँदै गएको छ। भौतिक उन्नति चरम सीमामा पुगेको छ भने आध्यात्मिक ज्ञान राँको बालेर खोज्दा पनि पाउन नसकिने अवस्थामा पुगेको छ। पौडिन नजान्ने व्यक्ति पोखरीमा छट्पटिएजस्तै आध्यात्मिक ज्ञानको कमीले मानिस यो समाजमा बाँचेर पनि तड्पिरहेको छ। यस अवस्थामा आध्यात्मिक जागरण र मानवलाई सत्मार्गको पथमा डोर्याउनका लागि पं. हरिहर पोखरेलले ‘विशद चिन्तन’ नामको पुस्तक सृजना गर्नुभएको छ। आध्यात्मिक ज्ञानको माध्यमबाट आत्मिक सुख–शान्ति प्राप्त हुने हुँदा उहाँको यस पुस्तकको अध्ययनबाट जो–कोहीले लाभ लिन सक्नेछन्।
लामो समयको शिक्षण पेसा, रेडियो नेपालको धार्मिक कार्यक्रम सञ्चालन अनि हिट्स एफएम रेडियोको कार्यक्रम सम्पादन एवं सञ्चालनको अनुभव सँगाल्नुभएका पं. पोखरेलको मनले अध्यात्म दर्शनको विभिन्न पाटाहरूमा यात्रा गरिरह्यो। आखिर त्यही मानसिक यात्रालाई लिपिबद्ध गरी आध्यात्मिक पुस्तकको रूप दिन उहाँ सफल हुनुभयो।

केही महिनाअगाडि निर्मला पोखरेलद्वारा प्रकाशित यस पुस्तकभित्र ४३ वटा शीर्षक दिएर आध्यात्मिक विषयवस्तुलाई समेटिएको छ। अधिकांश रचनामा प्रसंगअनुसार संस्कृत श्लोकहरूसमेत समाविष्ट गरी तिनको अर्थसहित विषयवस्तुलाई स्पष्ट पार्नु लेखक पोखरेलको खूबी मान्नै पर्छ।

अहिलेको परिवेशमा प्रायः मानिस भौतिक साधनले परिपूर्ण त छन् नै, तर उनीहरूको मन अपूर्ण छ। विभिन्न आकाङ्क्षाले महत्वाकांक्षा बढाएको छ। तनाव नै तनावले जीवन गाँजेको छ। प्राणीमा सबैभन्दा ज्ञानी मानिस भए पनि आज उनीहरू आध्यात्मका क्षेत्रमा अज्ञानीजस्ता भएका छन्। मनमा उब्जेका फोहोर विचारले उनीहरूद्वारा गरिने कार्य पनि विकारयुक्त हुने गरेको छ। यस्ता फोहोर विचार र कलुषित भावना हटाएर शान्तिपूर्वक निर्विकाररूपमा जिउन लामाटार, ललितपुरका पं. पोखरेलको ‘विशद चिन्तन’ सहयोगीसिद्ध हुने मैले ठानेको छु।

त्रि.वि.का उपप्राध्यापक अर्जुनध्वज अर्यालले शुभकामना सन्देश दिँदै यस कृतिमा लेख्नुभएको छ– ‘प्रविधिको प्रभावले लठ्ठिएको वर्तमान समाजलाई यो विशद चिन्तनले ब्युँझाउने प्रयास गरेको महसुस गरेको छु।’ यस भनाइले पनि पुस्तकको गहनतालाई उजागर गरेको छ। यसको अध्ययनले पाठकलाई सुखद र सफल जीवन जिउने कला प्रदान गर्नेछ। साथै बाटो बिराएर कुमार्गमा लागेकाहरूलाई केही हदसम्म सुमार्गमा डोर्याउन प्रेरित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्