फिलिम बा



रश्मी थापा
वृद्ध उमेर, युवा जोश। शिक्ष्ँण, पत्रकारिता र कलाकारिता यी तीनै क्षेत्रमा लामो समय बिताएका पदमप्रसाद पौडेलले ८२ वर्षको वृद्व उमेरमा समेत सन्तुलन गरेको परिचय हो उनको फिलिम बा।

यो उमेरमा पनि उनी उत्तिकै जोशका साथ कलाकारिता गर्दै आएका उनको अर्को परिचय हो फिल्मी बा। बाटोमा हिँडडुल गर्दा उनलाई यात्रुले नचिनेको र नबोलाएको दिन नै हुँदैन। ‘बालाई टिभीमा बिहान मात्र हेरेको थिएँ, अहिले भेटै पो भयो’, यात्रुहरू उनका अगाडि भन्ने गर्छन्– ‘यी बा त फिल्म खेल्छन् नि।’ उनीहरूले नामै राखिदिएका छन् ‘फिलिम बा।’ पौडेल दंग पर्दै भन्छन्– ‘यस्तो देख्दा मलाई निकै आनन्द लाग्छ।’

अध्ययनका लागि भारतमा गएका बेला बलिउड अभिनेता देवानन्दको संसार नामक फिल्म हेरेका उनी त्यही बेलादेखि नै कलाप्रति आकर्षित भएका रहेछन्। ‘कक्षा ६ मा पढ्दा संसार फिल्म ६ चोटी हेरें। म फिल्म हेर्दाहेर्दै देवानन्दको फ्यान भइसकेको थिएँ। एकपटक स्कुलको कार्यक्रमका लागि देवानन्द पनि आउनुभएको थियो। उहाँलाई अगाडि देखेपछि नमस्ते सर भनेर बोल्न गएँ।

मेरो लवज सुनेर उहाँले तिमी नेपाली रहेछौ, मलाई नेपाली विद्यँर्थी मन पर्छ र नेपाल मेरो मन पर्ने देश हो भन्नुभयो। मैले आफूलाई उहाँको अभिनय मन पर्ने बताएपछि तिमी अभिनय गर्न सक्छौ। आफ्नो छिमेकीबाट सिकेर अभिनय गर, तर त्यसमा नेपालीपन भने हुनुपर्छ भन्नुभयो। त्यसपछि मैले उहाँको जस्तै कर्ली कपाल बनाएर उहाँकै हाउभाउ गर्न थालें। एक वर्षपछि उहाँलाई भेट्दा उहाँले भन्नुभयो, मैले भनेकै थिएँ नि तिमी चलाख छौ।’

संखुवासभाको चैनपुर नगरपालिकामा पिता स्व. प्रजापति पौडेल र माता स्व. पवित्रा पौडेलको छोराको रूपमा विसं १९९४ मा जन्मिएका पदमप्रसाद पौडेल उमेरले ८२ वर्ष लागे तर उनमा देखिने जोश जाँगर र प्रतिभा भने कुनै युवाको भन्दा कम छैन। भारतबाट आईएसम्मको अध्यनपश्चात् नेपाल आई शिक्षण पेशामा लागेका पदमले अवकासपछि मात्र कलाकारिता शुरू गरेका थिए। विभिन्न फिल्म टेलिफिल्म, म्युजिक भिडियो तथा विज्ञापनमार्फत उनी दर्शकको मनमा बस्न सफल कलाकार बन्न पुगे।
२०५९ सालमा कला क्षेत्रमा प्रवेश गरेका पदम सन्तोष पन्तको हिजोआजका कुरामा अभिनय गरेर यो क्षेत्रमा अघि बढेका थिए। ‘एक दिन एउटा समरोहमा राससका एकजना साथीसँग मेरो भेट भयो। उहाँले तपाईंलाई दौरा सुरुवाल र कालो कोटमा असाध्यै राम्रो सुहाएको छ। टक्क टिभीमा देख्न पाए हुन्थ्यो भन्नुभयो। यो कुरा सुनेपछि मैले घरमा सबैलाई सुनाएँ र दुई दिनपछि माइला छोरा विजयप्रसाद पौडेललाई बुझ्न पठाएँ।

बलिउड अभिनेता देवानन्दले तिमी अभिनय गर्न सक्छौ। आफ्नो छिमेकीबाट सिकेर अभिनय गर। तर त्यसमा नेपालीपन भने हुनुपर्छ भन्नुभयो। त्यसपछि उहाँको जस्तै कर्ली कपाल बनाएर उहाँकै हाउभाउ गर्न थालें।

सन्तोष पन्तजीले तपाईंको पिताजीले काम गर्न सक्नुहुन्छ भन्ने पठाउनुस् भन्नुभएछ। सुटिङमा जाने पहिलो दिन म ट्याक्सी लिएर कान्छो छोरा लक्ष्मणप्रसाद पौडेलसँग सुटिङका लागि हिँडे’, लौरो टेकेर नेपाल समाचारपत्रको कार्यालयको तेस्रो तलामा उक्लिएका पदमप्रासदले युवा जोशमा सुनाए– ‘ट्याक्सी ड्राइभर भाइलाई भाइ म भित्र गएर आउँछु तपाईं यहीं पर्खनुुुस् है भनें। भित्र धेरैजना कलाकार हुनुहुन्थ्यो। म नयाँ मान्छे काम गर्न सकें भने गर्छु, अभिनय गर्न नसकेर धेरै टेक खाएँ भने कसैलाई नभनी हिँड्छु भनेर बाहिर ट्याक्सी राखेको थिएँ। सन्तोष पन्तजीले मेरो भूमिकाबारे राम्रँेसँग बुझाउनुभयो। मेरो रोल गाउँबाट आएको फुपूको छोराको थियो भने मामाको छोरी कलाकार रमा थपलिया बन्नुभएको थियो। उहाँले एक टेक खानुभयो, मैले दुई टेक खाएँ। सधैं काम गरिरहेको कलाकारले एक टेक खाँदा मैले दुई टेक खानु ठूलो कुरा थिएन। जब टिभीमा आफ्नै अनुहार देखें, त्यसपछि म कहाँ पुगें भन्ने लाग्यो।’ हिजोआज उनलाई जिल्लामा पदम गुरु, फिल्म क्षेत्रमा पदम बा र टोलमा फिलिम बा भनेर सम्बोधन गरिन्छ।

लगातार ६ महिनासम्म हिजोआजको कुरामा अभिनय गरेका पदमले पहिलो फिल्मका रूपमा हामी तीन भाइमा अभिनय गरे। यसपश्चात् राजु राजा राम, मृत्युन्जय, मसान, चोर सिपाही, खलनायकलगायत हाल सम्म ६८ फिल्ममा विभिन्न भूमिकामा अभिनय कला देखाइसकेका छन् भने रमेश अधिकारीद्वारा निर्देशित नालापानी रिलिजको तयारीमा छ।

‘मैले राजु राजा राममा राजेश हमालको बुबाको रूपमा अभिनय गरेको छु। राजेश हमालकै बुबाको रूपमा अभिनय गर्न पाउँदा निकै खुसी लागेको थियो। मृत्युञ्जयमा पण्डितको भूमिकामा खलेको छुु।’ –प्रायः बुबा, हजुरबुबा, वकिल, पण्डित आदिको भूमिकामा देखिने पौडेलल सुनाए। उनले पहिलो विज्ञापनका रूपमा निर्देशक प्रभाकर शर्माद्वारा निर्देशित एक चियाको विज्ञापनमा खेलेका थिए। जुन विज्ञापनका कारण उनी धेरै दर्शकका बीच परिचित अनुहार बन्न पुगे। यसका साथै पशुपति शर्मा, राधिका हमाललगायत गायक गायिकाका करिब एक दर्जन गीतको म्युजिक भिडियो, तीतो सत्य, मेरी बास्सै, थोरै भए पुगीसरी, भाग्य आ आफ्नै, जानकी, आफन्त, जिरे र्खुर्सानीलगायत ५२ सिरियल र एक दर्जनभन्दा धेरै विज्ञापनमा अभिनय गरेका छन्। आफूमात्र नभई उनले आफ्नी श्रीमती देवकुमारी पौडेललाई पनि यस क्षेत्रमा आउन प्रेरित गरेका छन्। उनले केही फिल्म गीतमा श्रीमतीको साथमा अभिनय गरेका छन्।

संखुवासभा जिल्लाकै पहिलो पत्रकारको समेत पहिचान बनाएका पौडेलले २२ वर्ष राससको जिल्ला प्रतिनिधिका रूपमा काम गरेका थिए। २०३७ सालमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा क्याम्पस उद्घाटनका लागि संखुवासभा पुगेका थिए। विकट ठाउँमा प्रधानमन्त्री पुगेर क्याम्पस उद्घाटन गर्दा पनि समाचार संकलन गर्ने मान्छेको अवाभ हुँदा समाचार नबनेको भन्ने गुनासो कार्यक्रममा सुनिएपछि प्रधानमन्त्री थापाले ईच्छुक व्यक्तिलाई रासस प्रतिनिधि बनाइदिने प्रस्ताव राखेका रहेछन्। जिल्लाको सीडीओले पदम सरले मात्र यो काम गर्न सक्नुहुन्छ भनेपछि उनलाई जिल्ला प्रतिनिधिको नियुक्ति लिन काठमाडांै बोलाइएको उनले बताए।

‘एउटा समाचार बनाउन सूचना, तथ्यहरू भेला गर्न पैदल हिँडेर धेरै टाढा टाढासम्म पुग्नुपथ्र्यो। समाचार तयार गरेर हुलाकमार्फत राससमा पठाइन्थ्यो। समाचार संकलन गरेको पारिश्रमिक प्रत्येक वर्ष फागुन ७ गते काठमाडौंमा बोलाएर दिइन्थ्यो’ –उनले सुनाए। उनले पत्रकारिता क्षेत्रमा दिएको योगदानको कदर गर्दै राष्ट्रिय समाचार समिति काठमाडौद्वारा २०६० सालमा आयोजित कार्यक्रममा तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालद्वारा सम्मानित भएका थिए।

विद्यालयमा नेपाली, सामाजिक, शिक्षा तथा संस्कृत अध्यापन गराएका उनलाई अहिले पनि आफूले पढाएका विद्यार्थीको विभिन्न देशबाट फोन आउँछन्। ‘म विद्यालयमा पढाउँदा पनि विभिन्न हाउभाउ र अभिनय गरेर पढाउँथे। त्यसकारण विद्यार्थीहरू मसँग खुसी हुन्थे। अहिले तपाईंको विद्यार्थी हँु भनेर विभिन्न देशबाट सम्झिन्छन्। आफूले गरेको अध्यापन, पत्रकारिता र कलाकारितामध्ये सबैभन्दा बढी आनन्द अभिनय क्षेत्रमा मिलेको र आफ्नो स्वाथ्यले दिएमा कला क्षेत्रमा नै बिताउने पौडेलको सोच रहेछ।

८२ वर्षको उमेरमा पनि सक्रियताका साथ लागिरहेको र आफ्नो स्वस्थकर जीवनशैलीको बारेमा पौडेल भन्छन्– ‘म बिहान ५ बजे उठेर ध्यान योगा गर्छु र करिब १ घण्टा मर्निङ वाकमा निस्किन्छु। त्यसपछि घर आएर स्नान गरी हनुमान चालिसा, बृहष पुत्र, श्रीमद्देवी भागवत गीता, महाभारत, राम गीता आदि धार्मिक ग्रन्थ पढ्छु। यस्ता ग्रन्थ पढ्दा ईश्वरप्रति ध्यान जान्छ। लोभ लालच हराउँछ र तनावमुक्त भइन्छ। सदैव खुसी रहने र चिन्तामुक्त भइन्छ’ –उनी भन्छन्।

 

प्रतिक्रिया दिनुहोस्