अर्को बसपार्कको आवश्यकता



लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनका लागि राजधानी काठमाडौं उपत्यकामा एउटा मात्र बसपार्क रहेको छ, गोंगबु बसपार्क । सुविधा सम्पन्न बसपार्क भनिए पनि सवारी चाप र व्यवस्थापनमा हुने कमी–कमजोरीले प्रायः सधैँ अस्तव्यस्त देखिन्छ । आन्तरिक र उपत्यकाबाहिर चल्ने दुवै किसिमका सार्वजनिक सवारीसाधनका लागि पुरानो बसपार्कले धान्न नसकेकाले नै केही वर्षअगाडि गोंगबुमा नयाँ बसपार्क निर्माण गरिएको हो ।

हुन त उपत्यकाको पूर्वी नाका बनेपा हुँदै बाहिरिने र सोही मार्ग भएर भित्रिने सार्वजनिक सवारीसाधनका लागि अझैसम्म पुरानो बसपार्क नै प्रयोग हुने गरेको छ । यसले गर्दा कोटेश्वरमा सधैँ ट्राफिक जाम हुने गरेको छ । त्यसैले कोटेश्वरबाट पूर्वी भेगतर्फ जाने लामो दूरीका गाडीका लागि कोटेश्वरदेखि पूर्व नै अर्को बसपार्क निर्माण गर्न जरुरी भइसकेको छ ।

काठमाडौं–भक्तपुर आवतजावत गर्ने मुख्य मार्ग तीनकुने हुँदै कोटेश्वर–कौशलटारसम्म नै ट्राफिक जाम नभएको दिन नै हुँदैन । विशेष गरी बिहान–बेलुकाको अफिस जाने–आउने समयमा बढी जाम हुँदा यात्रुहरु भनेको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था छैन ।

यस क्षेत्रमा सवारी जाम हुने विविध कारण छन् । ती मध्ये बनेपा हुँदै बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनका लागि कोटेश्वरभन्दा पूर्वपट्टि नै बसपार्क नहुनु सवारी जाम हुनुको मुख्य कारण हो । बसस्टप भनेको गाडी रोकेर यात्रु ओराल्ने र चढाउने स्थान मात्र हो, तर कोटेश्वर, जडीबुटी क्षेत्रमा बसस्टपलाई पार्किङ स्थलजस्तै गरी सार्वजनिक गाडीहरु घन्टौं रोकिरहेको देखिन्छ ।

कोटेश्वर–देखि नै लामो दूरीमा चल्ने सार्वजनिक गाडीहरु लाइनमा देखिन्छन् । एकातिर बस पार्किङका लागि लामो दूरीका बसहरु पुरानो बसपार्क नै पुग्नुपर्ने र त्यहीँबाट छुट्नुपर्ने, अर्कातिर कोटेश्वर–जडीबुटीमा घन्टौं गाडी रोकेर यात्रु कुर्ने गर्दा ट्राफिक जाम बढ्ने गरेको छ । कोटेश्वर–पूर्व भएर राजधानी बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनका लागि बसपार्क नहुँदा समस्या देखिएको हो ।

धुलीखेल भएर तराई जाने बीपी राजमार्ग सञ्चालनमा आएपछि यस सडकमा सवारीसाधनको अत्यधिक चाप बढेको छ । काभ्रे, सिन्धुली, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुलगायतका जिल्लाबाट दैनिक ६ हजार सवारीसाधन राजधानी भित्रिने र यत्तिकै संख्यामा बाहिरिने गर्छन् । वास्तवमा भन्ने हो भने नेपालको पूर्वी भेगमा जाने यात्रुहरु यही सडक भएर जाने गर्छन् । कोटेश्वर नाकाबाट दैनिक १० हजार सवारीसाधन भित्रिने र बाहिरिने गरेको बताइन्छ । यसमा भक्तपुर–काठमाडौं ओहोरदोहोर गर्ने मोटरसाइकलको संख्या झनै बेसी होला । त्यसैले यहाँको ट्राफिक जाम कम गर्न कोटेश्वर–पूर्व कौशलटारदेखि नयाँठिमीसम्म उपयुक्त स्थान खोजेर नयाँ सुविधासम्पन्न बसपार्क बनाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्