पाको उमेरका सक्रिय फुटबलर काजूयोशी



कविरस शर्मा
भनिन्छ, उमेर अंक मात्र हो, हरेक वर्ष यो अंक बढ्दै जान्छ । तर केही गर्ने ईच्छाशक्ति बलियो छ भने उमेर बाधक बन्दैन । विश्व खेलकूद जगतमा पनि यो लागू भएका छन् । यस्ता केही हस्ती छन् जसले उमेरलाई अंक मात्र रहेको प्रमाणित गरेका छन् । गत जुलाईमा सम्पन्न फिफा विश्वकप कै कुरा गर्ने हो भने इजिप्टका गोलरक्षक ईसम अल हड्डारी यसको एकजना जल्दाबल्दा उदाहरण हुन् । ४५ वर्षको उमेरमा पनि फिफा विश्वकप खेलेर उनले पाको उमेरमा विश्वकप खेल्ने किर्तिमान बनाएका छन् ।

फुटबल जगतको नै यस्तै अर्को एउटा नाम हुन् जापानका काजूयाशी मियूरा । हुनत विश्वमा नै पाको उमेरसम्म स्वस्थ र लामो आयुसम्म बांच्नेमा जापानीहरु अग्रपंक्तिमा गनिन्छन् । जुन कुरालाई पाको उमेरमा पनि फुटबल खेलेर काजूयाशी मियूराले प्रमाणित गर्न खोजेका छन् ।

५२ वर्षको उमेरमा पनि जापानी फुटबलर काजूयोशी योकोहामा एफसी टिमबाट खेल्न मैदानमा सक्रिय छन् । यही कारणले गर्दा उनले विश्वकै पाको उमेरका सक्रिय खेलाडीको छवि बनाएका छन् । काजूयोशीले दुई वर्षको अन्तरालपछि पुनः ब्यवसायिक फुटबल म्याच खेल्न थालेका हुन् । हुनत दुई वर्षअघि पनि फुटबलमा सक्रिय रहंदा उनी नै विश्वको पाको उमेरका सक्रिय ब्यवसायिक फुटबलरबाट चर्चित थिए । छोटो विश्रामपछि जारी सिजन योकोहामाको जर्सीमा मैदानमा देखा परेका उनले आफ्नो करियरको यो ३४औ सिजन खेलिरहेका छन् ।

जापानको शिजुओकामा सन् १९६७ मा जन्मेका उनी अग्रपंक्तिका खेलाडी हुन् । काजूयोशीले जापानको राष्ट्रिय फुटबल टोलीबाट ८९ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । त्यसक्रममा उनले जापानका लागि ५५ गोल गरेका थिए । उनले १९ वर्षअघि जापानी टोलीबाट अन्तिम म्याच खेलेका थिए ।

जापानको दोस्रो डिभिजनको टिम योकोहामा एफसीले यस वर्षको जनवरीमा ‘किंग काजू‘ उपनाम नामबाट परिचित काजूयोशीसँग सम्झौता गरेका हुन् । योसँगै उनी ब्यवसायिक फुटबलमा सम्झौता गर्ने सबैभन्दा पाको उमेरका फुटबलर बनेका हुन् ।

काजूयोशीले योकोहामा फुटबल क्लबको घरेलू मैदानमा जीफू एफसीविरुद्ध ५४ मिनेट खेलेको थियो । उक्त म्याचमा योकोहामा एफसीले २–० गोलअन्तरको जित हासिल ग¥यो । काजूयोशीले सन् १९८६ मा १९ वर्षको उमेरमा ब्राजिलको चर्चित क्लब सान्तोसबाट खेल्न सुरु गरेका हुन् ।


सन् १९९० मा जापान फर्केका उनले त्यसपछि जापानी लिग खेल्न थालेका हुन् । ब्यावसायिक करियरमा उनले जापानी क्लबसहित ब्राजिल, अस्ट्रेलिया, क्रोएसिया र इटालीका गरी १३ वटा क्लबबाट खेलेका छन् । उनले सान्तोस, पाल्मेरस, मात्सुबारा, सीआरबी, एक्सभी डे जाउ, कोरिटिबा, भर्डी कावासाकी, जेनेआ, डिनामो जाग्रेब, क्याटो पर्पल सांगा, भिसेल कोबे, सिड्नी एफसी र योकोहामाबाट खेलेका छन् ।

सन् १९९८ मा जापानलाई पहिलो पटक फिफा विश्वकपमा छनोट गराउन उनले पनि महत्वपूर्ण योगदान गरेका थिए । तर सन् २००२ को आफ्नै भूमिमा सम्पन्न विश्वकपमा भने उनलाई जापानी राष्ट्रिय टोलीमा समावेश गरिएको थिएन । जापानी राष्ट्रिय फुटबल टोलीमा समावेश नगरिए पनि सन् २०१२ मा उनले जापानको राष्ट्रिय फुटसलबाट ६ म्याच खेल्दै एक गोल समेत गरेका थिए ।

ईजराइली गोलकीपर बने पाको फुटबलर
यसै वर्षको अप्रिलको पहिलो साता ७३ वर्षका इसाक हायिकले गिनिज बुक अफ वल्र्ड रेकर्डमा विश्वकै सबैभन्दा पाको उमेरका फुटबलर बन्ने कीर्तिमान बनाएका छन् । उनले इजरायली लिगमा आफ्नो टीम इरोनीबाट गोलरक्षण गरेका हुन् । पाको उमेरका बावजूद उनले पूरै ९० मिनेट मैदानमा डटेर खेलेका थिए । यद्यपि उनको टिमले भने उक्त म्याच हारेका थिए ।

उक्त म्याचपछि इसाकलाई गिनिज वल्र्ड रेकर्ड्सबाट पनि पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार पाएपछि उनले भने,–‘यो मेरो लागि धेरै खुशीको कुरा हो, किनभने यो अवार्ड मेरो ७४औं जन्मदिनभन्दा तीन दिन अघि प्रदान गरिएको हो । उनले भने यो एचिभमेन्ट मेरो लागि मात्र होइन, सम्पूर्ण इजराइली खेलकूदका लागि गर्वको कुरा हो ।‘

लिगको उक्त म्याचमा इसाकको टिम इरोनीविरुद्ध मेकाबी रामत जेन ५–१ गोलअन्तरले विजयी भएको थियो । उक्त खेलका दौरान इसाकले कयौं उत्कृष्ट प्रहारहरुलाई गोल हुनबाट जोगाएर शानदार प्रदर्शन गरेका थिए । ९० मिनेट खेलेपछि उनले भने,–‘म अर्को म्याच खेल्न तयार छु ।

३६ वर्षीय उनका सुपुत्रले भने,–‘पिताको यो उपलब्धि अविश्वनीय छ ।‘ उनले उरुग्वेका रोबर्टको नाममा रहेको उक्त किर्तिमान तोडेका हुन् । यसअघि सबैभन्दा पाको फुटबलरको कीर्तिमान उरुग्वेका रोबर्ट क्यारामोनाको नाममा रहेको थियो । रोबर्टले सन् २०१५ मा ५३ वर्षको उमेरमा म्याच खेलेर उक्त किर्तिमान बनाएका थिए । त्यसअघि जापानका काजुयोशी मिउराको नाममा उक्त किर्तिमान रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्