हावाहुरीका कारण दर्जनौं बिद्यालयको छाना उडायो, लाखौँको  क्षति



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लामा बुधवार दिउँसो एक्कासी आएको ठुलो हुरीबतास र असिनापानीका कारण बिद्यालय, निजी आवास र खेतीबालीमा ठुलो क्षति पुगेको छ ।

हावाहुरीका कारण दर्जनौ बिद्यालय र निजी घरको छाना उडाएको छ असिना र पानीले तरकारी, फलफुल र मकैबालीमा ठुलो क्षति पुर्याएको हो ।

हावाहुरीले कुस्मा र फलेबास नगरपालिका, मोदी, जलजला, महाशिला, बिहादी गाउँपालिकमा दर्जनौ बिद्यालयको छाना उडाएको छ । हुरीले मोदी गाउँपालिका २ देउपुरस्थित जननेत्र माबिको कक्षा ११ र १२ को दुइकोठे भवनको छानो उडाएको छ। छानो उडाएपछि भवन अभाबमा आधा छानो भएको कक्षा कोठामा नै अध्यापन गराउँन थालेको शिक्षक भूमिराज शर्माले जानकारी दिनुभयो ।

भूकम्पमा कक्षाकोठा भत्केर ठुलो क्षति भएको र बर्षेनी हावाहुरीले छानो उडाउने समस्या भोग्दै बिद्यालयमा कक्षा कोठा अभाब भएकाले खुल्ला आकाशमुनि पढाउन बाध्य भएको शिक्षक तिमिल्सिना भनाई छ । ‘कक्षा कोठा नै नभएपछि खुल्ला आकाशमूनि भएपनि पढाउनुपर्ने बाध्यता छ ।’ उहाँले भन्नुभयो ‘कक्षाकोठा मर्मतका लागि तत्काल कुनै निकायबाट सहयोग हुन आवश्यक छ।’

हावाहुरीले पर्वतको कुश्मा नगरपालि का वडा नं. १२ ठूलीपोखरीस्थित जनज्योती प्राविको चार कोठे भवनको पुरै छाना उडाउनुका साथै विद्यायको भवनमा समेतमा क्षति पुगेको छ । विद्यालयको छाना उडाएपछि विद्यार्थीको पढाई समेत प्रभावित भएको छ । बुधवार अन्तराष्ट्रिय श्रमिक दिवसका कारण विद्यालय बन्द रहेका कारण मानविय क्षति हुन नपाएको स्थानीय दिपक सुवेदीले जानकारी दिनुभयो ।

कक्षा तीन सम्म पठनपाठन हुने उक्त विद्यालयमा झण्डै १ सय जना विद्यार्थी छन् । त्यस्तै कुस्मा नगरपालिका १४ ऐसेलुचौर स्थित प्रगति आधारभूत बिद्यालयको भवनको छाना समेत उडाएको छ ।
तीन कोठे भवनको छाना उडाएपछि चौरमा पढाई भैरहेको छ । हुरीले फलेबास नगरपालिका ३ मा दर्जनौ घरको छाना उडाएको छ भने बिद्यालयमा समेत क्षति पुगेको छ ।

यता जिल्लाको पिपललटारी, कटुवाचौपारी, शंकरपोखरी, धाईरिङ्ग, पाङ, दुर्लुङ्ग लगायतका क्षेत्रमा पनि हाबाहुरीका कारण बालीनाली र कच्ची घर तथा सार्वजनिक भवनहरुमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

त्यस्तै जिल्लाको जलजला गाउँपालिकाको शालिजा, धाईरिङ, बनौ, कुश्मा नगरपालिकाको पिपलटारी, ठुलीपोखरी, खौलालाकुरी र मोदी गाउँपालिकाको देउपुर, महाशीलाको लुंखुदेराली लगायतका क्षेत्रमा बाक्लो असिना परेको छ ।

आधा घण्टा भन्दा बढी समय परेको असिनाले बालीनालीमा ठुलो क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
कार्यालय प्रमुख बासु रेग्मीका अनुसार प्लाष्टिकका टनेल र बेमौसमी तरकारीमा ठुलो क्षति पुगेको भएपनि यकिन विवरण भने आईसकेको छैन ।

उता दक्षिण पर्वतको विहादी, महाशीला, पैंयु र फलेवास नगरपालिकाका विभिन्न वडाहरुमा पनि हाबाहुरी र असिनापानीले क्षति पु¥याएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्