विश्व नृत्य दिवसमा प्रतियोगिता



हेटौंडा, (नेस)। थाहानगरमा विश्व नृत्य दिवस मनाइएको छ। दिवसको अवसरमा थाहा कला केन्द्रको आयोजनामा अमीर भोम्जन परिचय अभियानअन्तर्गत सामूहिक नृत्य प्रतियोगिता भएको हो।

प्रतियोगितामा स्ट्रोङ सोल डान्स क्र्यु प्रथम भएको छ भने पालुङ भ्याली हार्ट एकेडेमी द्वितीय र स्वच्छन्द भैरव मावि चित्लाङ तृतीय भएका छन्। नवक्षितिज कला केन्द्रका अध्यक्ष विजयश्याम अमात्य र श्रीकृष्ण श्रेष्ठ प्रतियोगिताका निर्णायक थिए। प्रतियोगितामा उत्तरी मकवानपुरका १३ विद्यालयको सहभागिता थियो।

थाहानगरका उपप्रमुख खड्काबहादुर गोपालीको प्रमुख आतिथ्यता तथा सुनौलो बिहानी युवा क्लबका अध्यक्ष शर्मिला स्याङ्तानको सभाध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा उपमेयर गोपालीले अमिर भोम्जनजस्ता व्यक्तिको प्रतिभालाई कदर गर्नु आवश्यक रहेको बताए।

उनले अमीरलाई नगरपालिकाले सक्दोे सहयोग गर्ने बताए। उनले प्रेरणास्वरूप गीत गाउँदै कला र संस्कृति बचाउन एक भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा वडा १का अध्यक्ष हेरमान गोपाली, पालुङ जेसिज वर्ष २०१९ अध्यक्ष कुमार नेगी, ७ नम्बर वडाका सदस्य दीपक थिङ, सुन्दरीदेवी मावि व्यवस्थापन समितिका अध्यक्ष विनायक गोले, लोकदोहोरी गायिका रजनी लामा, फरक सोच अभियानका संयोजक यादवजंग रायमाझी र पत्रकार महासंघ मकवानपुर सदस्य रूपक कालीराजलगायतको आतिथ्यता थियो।

प्रतिक्रिया दिनुहोस्