नेपालमा टेलिसिनेमाको विकास



– रमेशकेशरी वैद्य
एक समय थियो, हाम्रो देशमा सेल्युलाइड चलचित्र कम र राम्रा टेलिचलचित्र धेरै बन्थे । अहिले ठीक उल्टो अवस्था छ । चलचित्र हिट भयो भने करोडौं रुपियाँ हातमा पर्छ । यो करिब–करिब चिठ्ठाजस्तै हुने गर्छ । हामीले प्रत्यक्ष देखिराखेका छौं– १००÷५० वटा चलचित्रमा दुई–चारवटा चलचित्र मात्र हिट हुने गर्छन् मुस्किलले । तर टेलिचलचित्रमा यस्तो हुँदैन । यसमा कम लगानी हुन्छ र धेरै कलाकार प्रख्यात हुन्छन् । खाली विज्ञापनबाट रकम नउठ्ने डर मात्र हो । तर अहिले विज्ञापनको बजार पनि ठूलो भइसकेको छ । रकम नउठ्ला भन्ने कुनै चिन्ता नपर्ला ।

अरुभन्दा पनि यसमा मुनाफा कम भएअनुसार जोखिम पनि कमै हुन्छ । एउटा कुरा के छ भने, जसले विज्ञापन टेलिचलचित्रको लागि दिएको हुन्छ, उसले चलचित्र बनाउनेहरुलाई पैसाको लागि हैरान गर्नुहुँदैन । विज्ञापनकर्ताहरु अर्थात् व्यापारीहरु इमानदार हुनुपर्दछ ।

अहिले मुलुकमा शिक्षाप्रद, आधुनिक सिरियलहरुको शुरुआत गर्न आवश्यक छ । चलचित्र जगत् एक यस्तो क्षेत्र हो, जहाँ मानिसहरुले आफ्नो खूबी देखाउने मौका पाउँछन् । जसले गर्दा व्यक्ति, देश, समाज आदिलाई फाइदा भइराखेको हुन्छ । कारण, यो व्यवसायमा मानिसहरुले निर्देशन, लेखन, फोटोग्राफी आदि खूबी देखाएर सर्वसाधारण, समाज र देशको लागि योगदान दिने उद्देश्यले अगाडि बढिराखेका हुन्छन् ।

नेपालमा चलचित्रको विकासपश्चात् चलचित्रबाट मानिसहरुले धेरै कुरा थाहा पाए पनि औसतमा यो क्षेत्रबाट सर्वसाधारणले ज्ञान तथा शिक्षा हासिल गर्न पाएका छैनन् । यसको मुख्य कारण प्रायः चलचित्रका लगानीकर्ताहरु चलचित्र बनाएर रातारात धनी मात्र हुन चाहन्छन् । वास्तवमा मानिस भएर जन्मिएपछि मुलुकलाई केही न केही सन्देश दिनुपर्छ ।

चलचित्र आर्थिक लाभ र मनोरञ्जन लिनको लागि मात्र बनाउनुहुँदैन, जनतालाई केही ज्ञान र शिक्षा पनि किन नदिने ? तर यस्तो सोच अहिलेका लगानीकर्तामा नभएजस्तो लाग्छ । यस्ता कुरा किन गरेको हो भने, हलमा चलचित्र हेर्ने दर्शकहरु बढीजसो मजदुर र युवा पुस्ता नै हुन्छन् । अनपढ, अल्लारे, लालची र स्वार्थीहरुको संख्या पनि बढी नै छ । यिनीहरु मनोरञ्जनको लागि हलमा चलचित्र हेर्न जान्छन्, साथसाथै उनीहरुलाई शिक्षा पनि दिनुपर्छ । हाम्रो जस्तो मुलुकमा सोझा मानिसको नै जमात ठूलो छ । यस्ता मानिसको मानसिकता परिवर्तन गर्न पनि शिक्षाप्रद चलचित्र सशक्त माध्यम हुन सक्छ ।

जसले जे भने पनि चलचित्र क्षेत्रमा लागेकाहरु मेहनतमा विश्वास गर्छन्, जुन गौरवको कुरा हो । यसरी नै भ्रष्ट नेता, व्यापारी, सरकारी पदाधिकारीले राष्ट्र र जनतालाई नठगी इमानदार भएर अघि बढ्ने हो भने हाम्रो मुलुकले पनि केही वर्षमै नयाँ गति लिने थियो भने एक दशकभित्र विकसित हुने अवसर पाउने थियो । यस्तो सम्भव छ, तर कहिले होला र ?

फेरि एकपटक भन्नुपर्दा, स्तरीय शिक्षा तथा ज्ञानवद्र्धक चलचित्रले नै अशिक्षितहरुलाई असल मानिस बनाउन सक्छ नैतिक शिक्षा दिएर । तर अहिले समय बदलिएको छैन । कारणप, पश्चिमी संस्कृतिको प्रभाव बढी छ यहाँ । अहिलेको पुस्तालाई मन पर्ने चलचित्र दन्त्य कथा, एक्सन र विदेशी दृश्यमा आधारित चलचित्र नै हुन् । यसैले होला चलचित्र बनाउनेहरुले पनि शिक्षाप्रद चलचित्रप्रति ध्यान दिन छोडेको ।

सेल्युलाइड चलचित्र याने ठूला पर्दाका चलचित्रबाहेक घरायसी तथा सामाजिक टेलिभिजन सिरियलको विकासमा ध्यान पु¥याउनु जरुरी छ । आजभोलि मानिसहरु हलमा भन्दा घरमा बसी–बसी चलचित्र हेर्न चाहन्छन् । यसको खास कारण समयको कमी, असुरक्षाको डर, आर्थिक कारण हुन् । सिनेमा हलहरु दर्शकहरुले सहजरुपमा चलचित्र हेर्ने खालका हुन् । टिकट दर सुलभ होस् । सुरक्षाको व्यवस्था होस् । यसो गर्नाले चलचित्र हेर्नेहरुको संख्या बढ्छ र सिनेमा हलहरुको पनि विकास हुँदै जानेछ ।

एनसेल बहिष्कार कसरी ठीक ?
सत्तारुढ नेकपाका युवा र विद्यार्थी संगठनका नेताहरुले एनसेलको सिम प्रयोग नगर्न संयुक्त अपिल गरेसँगै मिश्रित प्रतिक्रियाहरु आएका छन् । आफ्नै माउ पार्टी नेतृत्वमा रहँदा निजी लगानीकर्ताको सेवालाई बन्देज गरी लगानीकर्तालाई होत्साहित गरेको प्रतिक्रिया व्यापकरुपमा आएको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिर्दासम्म एनसेलेको सिम प्रयोग नगर्न, नगराउन मातहतका सबैलाई विद्यार्थी संगठनले आग्रह गरेको छ । देशमा सरकार छ र सरकारले कुनै पनि लगानीकर्ताले कानुन मिचेमा आवश्यक कानुनी प्रक्रिया अपनाएर कार्वाही वा नियन्त्रण गर्न सक्छ । तर, निजी कम्पनीको सेवामा असर पुग्ने गरी अरु संगठनले कहिले आतंक मच्चाउने त कहिले बन्देज गर्ने प्रक्रिया कदापि राम्रो होइन ।

कानुनी राज्यमा विभिन्न संगठनले निजी कम्पनीमाथि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रहार गर्नु देशलाई लाभदायक हुँदैन । तसर्थ, विद्यार्थी संगठनले अनावश्यक आक्रोश देखाएर एनसेलमाथि बन्देज लगाउनु गलत हो । एनसेलले देशको कानुन मिचेको खण्डमा कार्वाही हुनुपर्छ । राज्य कार्वाही गर्न पनि पछि हट्ने र जनता विरोधमा उत्रनु असन्तुलित प्रक्रियाले निरन्तरता पाउनु हो । अतः कानुनी राज्यमा नियमनकारी निकाय चनाखो हुनुपर्छ । र, यसरी जनतामाथि रिसको भारी बोकाएर कुनै एक लगानीकर्तालाई हतोत्साहित गर्नु राज्यको कानुनमाथि नै प्रश्न उठ्नु हो भन्ने सम्बन्धित सबैले बुझ्न आवश्यक छ ।
– दिलीप विष्ट, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्