महानगरमा दुई दिन डोजर चल्दा जनप्रतिनिधिको भागाभाग



नेपाल समाचारपत्र, काठमाडौं ।
खुला चौर र सडक मिचेको भन्दै काठमाडौं र ललितपुर महानगरमा डोजर चल्यो ।

खुल्लामञ्चमा सम्झौता भन्दा बढी ठडाईएका सटर हटाउन काठमाडौं महानगरले शनिवार डोजर चलायो । भने ललितपुर महानगर भने लगनखेल–सातदोबाटो सडकमा सडक विस्तार गर्ने क्रममा डोजर चल्यो ।

यी मध्ये काठमाडौंमा व्यापारीको रुवाबासी चल्यो भने महानगरकी उपप्रमुखलाई आक्रोशित व्यापारीबाट लखेटिनु प¥यो । उपप्रमुख हरिप्रभा खड्गीलाई सटर भाडामा लिने व्यापारीहरुबाट आक्रमणको प्रयास समेत भयो ।
सटर निर्माण हुन्जेल केही नभन्ने, सटर बनेर भाडामा लगाईसकेपछि भत्काउने आएको भन्दै व्यापारीहरु आक्रोशित बने ।

सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयले मुलुक तात्ती रहेको बेला खुला मञ्चमा एकाएक सटर ठडिएपछि महानगरपालिकाको चर्काे आलोचना भएको थियो । चर्काे आलोचनाकै बिच महानगरले डोजर चलाएर सटर हटायो ।
५२ सटर र टहरामध्ये महानगरले ४३ वटा सटर डोजर लगायो । महानगरले दुईवटा शौचालय, दुईवटा प्रतीक्षालय, एउटा क्यान्टिन, एउटा मेडिकल पसल, एउटा टिकट काउन्टर, एउटा ट्राफिकको बोर्ड राख्ने स्थान र एक म्यानेजमेन्ट बस्ने कोठा गरी ९ सटर निर्माणको सम्झौता गरेको थियो।


महानगरपालिकाले जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सलाई पुरानो बसपार्कमा काठमाडौं भ्यूटावर निर्माण गर्न सहमति दिएदेखि नै खुलामञ्च प्रयोग गर्न दिने सम्झौता भएको थियो । तर महानगरको सम्झौता कुल्चिएर जलेश्वरले खुलामञ्चमा भाडा लिएर अरु व्यवसायीलाई सटर सञ्चालन गर्न दिईयो ।

उक्त निर्माण कम्पनीले महिनाकै १ देखि २ लाखसम्म भाडा लिएर सटर र पसल सञ्चालन गर्न दिएको व्यापारीहरुले बताए ।

व्यापारी र स्थानीयको चल्यो रुवाबासी

त्यस्तै मुआब्जा लिईसकेर पनि सडक छेउका घर नभत्काएको भन्दै काठमाडौं उपत्यका विकास आयुक्तको कार्यालय ललितपुरले लगनखेल–सातदोबाटो सडक छेउको घरमा डोजर चलायो ।

महानगरको वडा १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले मुआब्जा लिईसकेकाको घर भत्काउने काम सुरु गरेको बताउनुभयो ।

त्यहाँ डोजर चलाउन प्रशासनलाई हम्मे हम्मे परेको थियो । लगनखेल र सातदोबाटोको दुई तिर बाट सवारी आवागमनमा रोक लगाएको थियो । स्थानीयको ठूलो घुईचो थियो ।

तर प्रशासनले स्थानीयको अबरोधलाई निस्तेज पारेर घर भत्काउने प्रयास त गरे तर पूर्ण रुपमा भने भत्काएन । प्रशासनले घर भत्काउनका लागि थोरै समय दिएको, मुआब्जा नपाएको भन्दै स्थानीयले विरोध जनाएका थिए । ।
घरको झ्याल, ढोका, सटर लगायतमा क्षती गरेर ४ दिनभित्र घर भत्काउन प्रसाशनले भनेको छ । स्थानीय १४ घरले मुआब्जा नपाएकोले विरोध गरिरहेको छ ।

यस भागमा उक्त घरहरु नभत्किएकै कारण सडक साँघुरो बनेको छ । भने सवारी आवागमनमा समेत असर परिरहेको छ । सडक साँघुरो भएकै कारण सवारी साधन जाममा पर्ने समस्या अझै छ । सडक अतिक्रमण गरेर घर तथा टहरा निर्माण गर्ने र विस्तारको क्रममा विभिन्न माग राख्दै विकास निर्माणको काममा अवरोध हुँदै अएको छ ।

https://youtu.be/ME4Bu0qIoSo

 

प्रतिक्रिया दिनुहोस्