मैले नागरिकता लगेको होइन



मिति २०७५ साल चैत्र ९ गते र चैत्र २५ गते प्रकाशित नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा छापिएको समाचारले मेरो मान हानि भएकाले खण्डन गर्न चाहन्छु । उक्त समाचारमा लेखिएजस्तो मैले धनकुमारी राईको नागरिकता नलिएको प्रस्ट पार्दछु । धनकुमारीले उनको नागरिकता निजकै बुहारी प्रेमकुमारी राईलाई राख्न दिएकी हुन् । निज धनकुमारीको वृद्धभत्ता उनकै जेठी छोरी रानी भारनी राईले बुझ्ने र आमा धनकुमारीलाई बुझाउने गरेकी हुन् । भूकम्पबापत पाउने राहत धनकुमारीकै बुहारीले पूरै किस्ता बुझी घर निर्माण गरिसकेकी छिन् ।

धनकुमारीको नागरिकता मेरो घरमा राख्नुअगावै धनकुमारीकी जेठी छोरी र सोही ठाउँकै चिन्नलकुमार राईको मिलेमतोमा जग्गा जमिन सकी छोरातर्फको सम्पूर्ण परिवारलाई सुकुम्बासी बनाइदिएका हुन् । बाँकी ९ आना घडेरी जग्गासमेत बेचबिखन गराउने कुरा मैले थाहा पाएर प्रेमकुमारीलाई धनकुमारीको नागरिकता लुकाउन सल्लाह दिएको हुँ ।

तर प्रेमकुमारीले धनकुमारीको नागरिकता मेरै घरमा मेरै श्रीमती कालिन्दी राईलाई राख्न दिइछिन् । मैले त्यस नागरिकताबारे त्यति चासो र वास्ता राखेको थिइन । नागरिकता राखेर कुनै किसिमको नचाहिँदो कार्य गरेको पनि थिइन र छैन पनि । पत्रिकामा छापिएको समाचारले मलाई दोषी बनायो, त्यो कुरा सत्य होइन । पत्रिकाको समाचारबमोजिम मलाई हदैसम्मको अनुसन्धान गरियोस्, दोषी प्रमाणित भए कानुनी कारबाही भोग्न म राजी छु ।
– रोहित राई
लिखु गाउँपालिका–४, चौघडा, नुवाकोट ।

नेत्रज्योति संघप्रति आभार
मानिसको जीवनमा आँखाको ठूलो महत्व छ । आँखाको समस्या भएकाहरुले अझै बढी आँखाको महत्वबारे अनुभूति गर्न सक्छन् । नेपालमा हजारौँको संख्यामा एनजीओ÷आईएनजीओ सञ्चालित छन् । तीमध्ये केही मात्रै समुदायको हितमा क्रियाशील छन् ।

केही संस्थामध्ये समुदायमा आधारित रहेर नेपालमा अन्धोपन निवारण गर्न लागिपरेको कल्याणकारी संस्था नेपाल नेत्रज्योति संघले चार दशकको यात्रामा आफूलाई अब्बल र अग्रणी संस्थाका रुपमा स्थापित गर्न सफल भएको छ । मुनाफारहित र लोककल्याणकारी यस संस्थाले आफूलाई अविश्वसनीय र अनुकरणीय सेवा प्रदान गर्ने संस्थाका रुपमा देशमा मात्रै होइन विदेशमा समेत ख्याति विस्तार गरेको छ । यस संस्थाले विभिन्न अस्पतालहरुसँग समन्वय गरी आँखा सेवा र उपचार केन्द्रहरु सञ्चालनमा ल्याएको छ ।

आँखा उपचारका लागि कहीँ–कतै भौँतारिनु नपर्ने र अस्पतालमै नेत्र विशेषज्ञबाट आँखाको उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको सो संस्थासँग एक सय बढी नेत्र विशेषज्ञ, ३८ दृष्टि विशेषज्ञ, २१० नेत्र सहायक र १५४ आँखासँग सम्बन्धित कर्मचारीले सेवा प्रदान गर्दै आएका छन् । वार्षिक ३० लाखभन्दा बढीले आँखाको उपचार गराउने र वार्षिक ३ लाख ५० हजारभन्दा बढीको शल्यक्रिया हुनु असामान्य सेवा हो । नेत्रज्योति संघमा १० हजारभन्दा बढी सामाजिक स्वयंसेवक क्रियाशील छन् । नेपालका करिब ४० जिल्लाका अधिकांश अस्पताल र ८४ उपचार केन्द्रमार्फत आँखा उपचार सेवा प्रदान गरिँदै आएको छ ।

नेपाल सरकारले भिजन २०२० अनुसार अन्धोपन निवारण गर्ने लक्ष्य लिएको छ । संघले अन्धोपनको सर्वेक्षणसमेत शुरू गरिरहेको छ । संघले नेपालमा अन्धोपनको स्थिति, उपचार सेवामा पहुँच, उपचार हुन नसक्नुका कारण, मधुमेहका कारण आँखामा समस्या भएकाको स्थितिलगायतका विषयमा पनि अध्ययन गर्दै छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गरी नेपालबाट अन्धोपन हटाउन आँखा उपचार सेवा बढाई जनतामा जनचेतना वृद्धि गर्ने उद्देश्यले स्थापित संस्थाले सातै प्रदेशमा आँखा स्वास्थ्यको स्थितिबारे सर्वेक्षण गर्नु आफैँमा ठूलो काम हो । अन्धोपनको समस्याबाट कोही पनि पीडित हुन नपरोस् भन्ने उद्देश्यले संघले चालेको अभियान सार्थक बन्दै गइरहेको छ । नेत्रज्योतिको आँखा सेवा फैलिँदै जाओस्, धन्यवाद नेपाल नेत्रज्योति संघलाई ।
– शुभेक्षा सन्त्याल, हाल काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्