ती सरल मान्छेलाई अलबिदा !



लेखनाथ अधिकारी

नेपाल समाचारपत्र दैनिकका संस्थापक तथा प्रधानसम्पादक आदरणीय पुष्करलाल श्रेष्ठको आज तेह्रौं दिनको पूण्य तिथि। १३ दिनअघि उहाँ बितेकोे खबर भाइ मधुसूदन रायमाझीले फोनमार्फत जानकारी दिएपछि नजिकै बाह्रखरीको कार्यालयबाट हामी केही साथी दौडिँदै नर्भिक अस्पताल पुगेका थियौं। स्तब्ध भइयो, बोल्ने वाक्य नै फुटेन, अनुहार हेरेर फर्किएँ।

त्यसको चौथो दिन नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाले कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम गरेको थियो। त्यो दिन दिदी भगवती र मित्रहरू यदुजी, राजुजीलगायतले १३औं दिनको पूण्य तिथिमा निस्कने विशेषांकका लागि केही संस्मरण लेख्न आग्रह गर्नुभयो। बोल्ने क्रममा म आफैंले पनि सुझाव दिएको थिएँ। फेरि केही दिनपछि ईश्वरजीको फोन आयो चाँडो पठाइदिन आग्रह गर्दै। मैले भोलिपल्टै पठाउने प्रतिबद्धता जनाए पनि फेरि ढिला भयो। केही लेख्न शुरू गरौं भनेर सोचेको दुई दशक लामो उहाँसँगको संगतले गर्दा मेरो स्मृतिमा समेटी नसक्नु कुरा आए। पुस्तक नै बन्ने कुरा स्मृतिमा आए। कति शब्द चाहिएको भनेर यदुजीलाई शुक्रबार सोधें। उहाँले २ हजार शब्द भन्नुभयो। त्यसपछि बल्ल सजिलो भयो। २ हजार शब्दलाई मनमनै सम्पादन गरेर टिपोटमा उतार्दा उतार्दै केही शब्द अझै बढी भए।

 

कामना न्युज पब्लिकेसन्स्का बारेमा मलाई पहिले नै जानकारी थियो। त्यहाँबाट निस्कने खोजमूलक साधना मासिकको म नियमित पाठक थिएँ। ऊ बेलादेखिको कलेक्सन अझै मसँग छ। २०५३ सालको कुरा हो, महानगर दैनिकका लागि त्यस प्रकाशनले मान्छे मागेको थियो। कलेज पढ्दै थिएँ। के हुने रहेछ भाग्य अजमाउने प्रयास गरियो। त्यसमा आवेदन गर्नुमा मेरो एउटा कारण पनि जोडिएको थियो।

 

कलेजबाट एक दिन निस्कँदै गर्दा रत्नपार्कमा डोकोमा एक जना महिलाले बोकेको अंगुर दुई जना प्रहरीले फटाफट खाँदै रहेछन्। मेरो हातमा क्यामरा भएकाले मैले फोटो खिचें। प्रहरी मित्रहरू रिसाए। क्यामेरा खोसेर रिल फ्याँकिदिए। सँगै रहेका मित्र उमेश श्रेष्ठ ९अहिले पहिलो पोस्ट अनलाइनका सम्पादक० ले त्यतिबेलाको महानगर दैनिकमा लगेर घटना विवरण दिएछन्। सोही दिन हो वा भोलिपल्ट बिर्सें, पहिलो पेजमा ‘पत्रकारिताका प्रशिक्षार्थीको पहिलो अनुभव’ शीर्षकमा बक्स समाचार छापिएछ। उमेशले पत्रिका ल्याएर दिए। रमाइलो लाग्यो। आफ्नै समाचार छाप्ने पत्रिकामा मान्छेको अपनत्व बढ्दो रहेछ भनेर मैले त्यतिबेलै थाहा पाएँ। महानगरमा आवेदन हाल्नुको एउटा कारण त्यो पनि थियो।

 

त्यतिबेला मिडिया हाउसलाई अहिलेको जस्तो पत्रकार नै नपाउने अवस्था थिएन। ६० जना जतिले आवेदन दिएका रहेछन्। चाहिएको रहेछ ३ जना। मैले लिखितमा १ नम्बरमा नै नाम निकालें। अन्तर्वार्तामा पनि पास भइयो। त्यतिबेला सँगै प्रवेश गर्नेमा म सहित यशोदा तिम्सिना ९हाल राष्ट्रिय सूचना आयोगको आयुक्त० र टंकनारायण श्रेष्ठ थियौं। नाम निस्केपछि कार्यालयमा पहिलो बैठक भएको थियो परिचयात्मक खालको। बोसको नाम थाहा थियो तर चिनेको थिइनँ। मेरो मनमा कल्पना थियो– पुष्करलाल श्रेष्ठ भनेपछि पक्कै दौरा, सुरुवाल, टोपी लगाएको मोटो मोटो बुढो मान्छे हुनुपर्छ। तर, परिचय हुँदै जाँदा उहाँ त सामान्य सर्ट पाइन्ट लगाएको फुर्तिलो खालको युवा पो हुनुहुँदो रहेछ। मेरो कल्पनाको भ्रम त्यतिबेला तोडिएको थियो।

 

त्यसपछिका दुई दशक म उहाँकै वरिपरि रहें। उहाँको मुखबाट एकपटक मात्रै मैले भनेको कुरामा ‘नो’ भनिएको मलाई याद छ। त्यो ‘नो’ के थियो पछि चर्चा गरौंला। विभिन्न आरोह अवरोहमा बिते यी समय, रमाइला थिए ती दिन। पत्रकारिताको कुदाकुदका क्रममा कहिलेकाहीं जागिर छोडौंजस्तो लागे पनि त्यो पेसामा लागेपछि नसाजस्तो हुने रहेछ, छोड्न सकिएन। त्यही क्रममा वरिष्ठ संवाददाता, उपसम्पादक, सहसम्पादक, समाचार सम्पादक हुँदै सम्पादकसम्म भएर त्यस कार्यालयमा काम गरियो। सायद कर्मचारीका रूपमा जागिर खाएको भए अहिले मुख्यसचिव भएर अवकाश लिइन्थ्यो। निजी क्षेत्रको सञ्चारमाध्यम। पुष्कर सरको माया नपाएको भए त्यति लामो समय सायद टिकिने पनि थिएन।

 

मैले खास गरी विदेश मामिलामा लामो समय रिपोर्टिङ गरें। सँगसँगै जलस्रोत, नागरिक उड्डयन, मानवअधिकारका अतिरिक्त महानगरमा भएको बेलामा संसद् र अदालतको पनि रिपोर्टिङ गरें। उहाँबाट सधैं प्रोत्साहन नै मिल्यो। समाचारको धेरै प्रतिक्रिया आयो भने उहाँले मेसेज पठाएर वा फोन नै गरेर भाइ आज राम्रो गर्नुभयो, तपाईंको समाचारलाई लिएर थुप्रै प्रतिक्रिया आएका छन् भन्नुहुन्थ्यो। युवावयको मान्छे, त्यति भन्दा दंग परिन्थ्यो। कहिले पनि गुनासो गर्ने ठाउँ रहेन।

 

पूर्वी पहाडी जिल्ला भोजपुरको भीरपाखाबाट काठमाडौं आएर पढ्दै काम गर्दै राजधानीमा खुट्टा अड्याउन टेकोको खोजीमा थिएँ म। त्यो टेको पुष्कर सरले दिनुभएको थियो। राजधानीको मुटु हनुमानढोकामा हुर्के बढेको एलिट भए पनि उहाँको व्यवहार मसँग साथीको जस्तो थियो। पढाइ चल्दै थियो, पद र तलब बेलाबेलामा बढेकै थियो, अवाञ्छित हस्तक्षेप पनि थिएन। त्यसैले असन्तुष्टि पनि रहेन। लामो समय त्यहाँ रहनुको कारण त्यही थियो।

 

रिपोर्टिङको मुख्य विषय विदेश मामिला भएकाले देश विदेश गर्ने मौका पनि उहाँले प्रशस्तै दिनुभयो। सार्क सम्मेलन दक्षिण एसियाका विभिन्न देशका राजधानीमा हुने गर्थे। उहाँले बिटका हिसाबले मलाई नै पठाइदिनुहुन्थ्यो। कतिपय मिडियामा विदेश भनेपछि सम्पादक नै जाने खालको चलन थियो। तर, उहाँले मलाई सधैं मौका दिनुभयो। पत्रकारिताकै सिलसिलामा देशका सबै जिल्लामा पुगियो। संसारका धेरै कुनाकाप्चा चाहारियो। आफूलाई निखार्न त्यसले निकै मद्दत ग¥यो। अहिले म जे छु त्यसमा पुष्कर सरको ठूलो योगदान छ भन्नमा मलाई कुनै हिचकिचावट छैन।

 

उहाँ विदेश गएका बेलामा पनि मलाई नै समाचार टिपाउने वा लेखेर पठाउने गर्नुहुन्थ्यो। उहाँलाई सबै जानकारी हुने भए पनि ‘केही चिप्लियो भने हेर्दिनु है’ भन्नुहुन्थ्यो। म नै नाइट डेस्कलाई समाचार दिन्थें। उहाँ विदेश गएको बेलामा तनाव हुन्छ भन्नुहुन्थ्यो। किन भन्दा अरू साप्ताहिकतिरका साथीहरू मनोरञ्जन गरिरहेका बेलामा पनि आफू भने दौडधूप गर्नुपर्छ भन्नुहुन्थ्यो। हुन पनि सम्पादक र प्रकाशक एउटै मान्छे हुँदाको फाइदा जसै गरी केही नयाँपन दिऔं भन्ने सोच आउने रहेछ। त्यो उहाँको कार्यशैली र खटाइमा देखिन्थ्यो। सँगै गएका कतिपय सम्पादकले समाचार लेख्न नभ्याएर पत्रिकाले राससको समाचार कभर गरेको देखिए पनि उहाँ भने अनेक कोणका समाचार पठाउन भ्याउनुहुन्थ्यो।

सादापन
उहाँको सादगी हेर्दा हामी छक्क पथ्र्यौं। उहाँँको कार्यकक्ष छुट्टै थियो, तला नै फरक। केही दिन बिराएर हाम्रो कार्यकक्षमा पस्नुहुन्थ्यो। रमाइला कुरा सुनाउनुहुन्थ्यो। कार्यकक्षमा हाँसो थामीनसक्नुहुन्थ्यो उहाँको प्रस्तुति शैली देखेर। एकताका लोकेन्द्र नामका पुराना साथी थिए। महानगरका तत्कालीन सम्पादक आरके धर्मस्थलीलाई उनी रोजगारीका लागि अन्तर्वार्ता दिँदै रहेछन्। नजिकै घर भएकाले पुष्कर सर हाफ पाइन्ट र टिसर्ट लगाएर मर्निङ वाक गर्दै त्यहाँ पुग्नुभएछ। लोकेन्द्रजीले अन्तर्वार्ता सकिएपछि भनेछन्– ‘तिर्खा लाग्यो, पानी ल्याउ त भाइ।’ पुष्कर सरले मुसुमुसु हाँस्दै ल्याइदिनुएछ। त्यो देखेर धर्मस्थलीले लोकेन्द्रलाई थर्काउनुभएछ– ‘उहाँलाई पानी ल्याउन लाको रु को हो उहाँ थाहा छ ?

उहाँ हाम्रो प्रधानसम्पादक हो।’
त्यसपछि त लोकेन्द्र आफैं पानी पानी भएछन्। तर, पुष्कर सरले ठीक छ, ठीक छ भनेर वातावरणलाई सहज बनाइदिनुभएछ। त्यति सरल मान्छे। लोकेन्द्रले पछिसम्म ठट्टा गर्थे। जागिर माग्न गएको मान्छे पहिलो दिनमा नै पानी ल्याऊ भनेर आदेश दिएकाले जागिर हुन्न भन्ने मुडमा पुगेका रहेछन् उनी। तर, फोन गरेर उनलाई जागिर खान आउन आग्रह गरिएछ। लामो समय पत्रकारिता गरेका उनी अहिले बैंकतिर कतै काम गर्छन् भन्ने सुनेको छु।

हामी साथीभाइ गफ गरिरहेका बेलामा उहाँ कतिबेला लुसुक्क आएर त्यो गफगाफमा सामेल भएको पत्तै नपाइने, त्यति छरितो। कैयौंपटक साथीहरूले ननभेज जोक गरिरहेका बेलामा पनि उहाँ सुन्न पुग्नुहुँदोेरहेछ। साथीहरू ‘सरी सर’ भन्थे। उहाँ ‘नो प्रब्लम, टेक इट इजिली’ भन्दै मुस्कुराउँदै हिँड्नुहुन्थ्यो।

अन्य कतिपय पत्रिकाका हाकिमलाई भेट्न गाह्रो छ भन्ने सुनिन्थ्यो, तर उहाँ जरुरी बैठक बसेको समयमा बाहेक अरू बेला सधंै उपलब्ध हुने। कोही स्टाफ बिरामी भयो भने खर्चबर्च भए नभएको सोधेर आफैं लिएर सम्म जाने। त्यसैले उहाँसँगको सम्बन्ध हाकिम र कामदारका रूपमा भन्दा पनि पारिवारिक खालको थियो। सबै दाजुभाइ दिदीबहिनीजस्तो लाग्ने। त्यो सम्बन्ध अझै पनि छ। म स्वयंले अन्तर्वार्ता लिएर राखेका कतिपय साथीले अहिले राम्रो समाचार लेखेको देख्दा मन गर्वले ढक्क फुल्छ। सँगै बस्दा कहिलेकाहीं राम्रो समाचार आएन भनेर गाली गरियो होला वा कतिका समाचार काटियो पनि होला। सँगै बस्दा कहिलेकाहीं खुट्टा ठोक्किन सक्छ। तर, मनमा पाप भएन र छैन। कामनामा छिर्दा घर गएको जस्तो आभास अझै पनि हुन्छ।

केही गरौं भन्ने सोच
मिडियामा पुष्कर सरले केही प्रयोग गरौं भन्ने सोच बनाउनुभएको थियो। त्यो बेलामा कामनाजस्तो फिल्मी पत्रिका चलाउनु आफैंमा रिस्की गेम थियो, तर उहाँले त्यसलाई स्थापित गर्नुभयो। साधनाको पनि पहिलाको रूप निकै लोकप्रिय थियो। म बेरोजगार भएको बेलामा पनि दाइहरूसँग पैसा मागेर किनेर पढ्ने गरेको थिएँ। महानगर पनि ऊ बेला शहरको ‘हट केक’ थियो। म आफैं त्यहाँ गइसकेपछि ४ बज्दा नबज्दै महानगर पाइएन भनेर वरिष्ठ अधिवक्ता गणेशराज शर्मासम्मले कैयौंपटक मलाई नै फोन गर्नुभएको याद छ।

तर, पछि अलि छायाँमा प¥यो। त्यसो हुनुमा सम्पादनका स्टाफले काम नगरेकाले नभई प्रतिस्पर्धा र प्रविधि बढेका कारणले थियो। एफएमले तुरुन्तै समाचार दिन थालेका थिए। अझ अहिले त अनलाइनले क्षणभरमै समाचार दिने प्रविधि आएको छ।

उहाँले विदेशबाट पत्रिका निकाल्ने पहिलो नेपाली दैनिकका रूपमा नेपाल समाचारपत्रलाई अगाडि बढाउनुभयो। कतारबाट नेपाल समाचारपत्र निस्केको थियो, तर पछि निरन्तरता दिन सक्नुभएन। पछि अरू पत्रिकाले त्यसको सिको गरेका थिए। क्षेत्रीयरूपमा विराटनगरबाट पत्रिका निकाल्ने सोच पनि उहाँले नै पहिलोपटक ल्याउनुभएको हो। अन्य पत्रिकाले त्यसपछि मात्रै गरेका हुन्। उहाँले भारतबाट पनि नेपाल समाचारपत्र निकाल्ने सोच बनाउनुभएको थियो तर त्यो पूरा भएन।

कस्ता थिए अप्ठेरा ?
उहाँ सम्पादनका हिसाबले उत्कृष्ट हुनुहुन्थ्यो। तर, नेपाल समाचारपत्र नम्बर १ मा आउन टक्कर लिएको पत्रिका भए पनि व्यवस्थापनका हिसाबले उहाँले समय दिन नभ्याएर हुन सक्छ त्यसो हुन सकेन। एउटै मान्छेले सबैथोक गर्न सम्भव पनि थिएन। नत्र समाचारमा कोहीभन्दा कमजोर हामी थिएनौं। उहाँ पत्रिकालाई कसरी अघि बढाउने, कसरी देश र जनताको पक्षमा यसलाई मुखरित गर्ने भन्ने कुरामा नै सधै चिन्तित पाइनुहुन्थ्यो। उहाँको ६० वर्षको कम उमेरमा नै निधन भयो। सायद यति धेरै चिन्ता नगरेको भए अलि बढी समय हामीबीच उहाँ रहनुहुन्थ्यो कि भन्ने मलाई अझै पनि लाग्छ।

हामी साथीहरूबीच पहिला भन्थ्यौं पनि– ‘अरू केही पत्रिकाको जस्तो सेवा सुविधा र हाम्रोजस्तो समाचार र टिम हुने हो भने हामी गुड्ने मात्रै होइन, पत्रिकालाई उड्ने अवस्थामा पु¥याउने थियौं।’

२०५६ वैशाख १३ गते मनमोहन अधिकारीको निधन भएको बेलामा म पनि नाइट डेस्कको एक सदस्य थिएँ। एउटा समाचार हालेर गएको तर भोलिपल्ट अर्कै आएछ। कारण अधिकारीको निधन राति भयो। सबैलाई राति के डिस्टर्ब गर्नु भनेर पुष्कर सरलगायत केही मिलेर पहिलो पेज नै मनमोहनको समाचारले भरिदिनुभएछ। समाचार ब्रेक गर्न सक्नु सुखद आश्चर्य थियो। अरू मिडियामा आएको थिएन। त्यस्तै हामीले राजदरबार हत्याकाण्डको समाचार पनि ब्रेक गरेका थियौं। कान्तिपुरले छुटाएकाले भोलिपल्ट साँझमा निकालेको थियो। कैयौंपटक हाम्रा समाचार फोटोकपी गरेर बजारमा बिकेको मलाई याद छ।

 

निष्पक्ष हुँदाको व्यथा
दुई दशकको अनुभवमा उहाँले कहिल्यै पनि यसको पक्षमा लेख, उसको विरोधमा लेख भनेर भन्नुभएन। उहाँको मूलमन्त्र देश र जनतालाई केन्द्रमा राख्नुपर्छ भन्ने हुन्थ्यो। राष्ट्रको पक्षमा समाचार लेख्दा कतिपय समयमा बहुराष्ट्रिय कम्पनीका विज्ञापन नै रोकिएका उदाहरणसँग समेत म परिचित थिएँ। विदेश मामिलाको समाचार लेख्ने भएकाले कतिपय समयमा मैले गाँठो फुकाउन सहजकर्ताको भूमिकासमेत खेलेको थिएँ।

उहाँलाई कतिपय समयमा कतै ढल्केको भनेर आरोप लाग्ने गरेको पनि मैले सुनेको हुँ। उहाँले कसैलाई कुनै आरोप लागेको छ भने अर्को पक्षको पनि भनाइ राख्नुपर्छ भन्नुहुन्थ्यो। त्यो पत्रकारिताको आधारभूत मान्यताभित्रै पथ्र्यो। त्यसैले कतै ढल्केको भनेर उहाँमाथि लगाइने आरोप निश्चय नै फजुल थिए। तिनमा कुनै तुक थिएन। उहाँले नितान्त व्यावसायिकरूपमा पत्रकारिता मात्रै गर्नुभएको हो। सत्य उजागर गर्दा कहिलेकाहीं कतिपय पक्षबाट आफूले लगाएको स्वार्थको चश्माअनुसार हेर्ने प्रयास गर्ने तर नदेखिने अवस्था मात्रै हो। निष्कर्षमा देश, जनता र जनअधिकारको पक्षमा उहाँले पत्रकारितामार्फत समग्ररूपमा ठूलो योगदान पु¥याउनुभएको थियो।

 

यस्तो पनि प्रयोग
२०५७ माघ १३ गते छिमेकी भारतको ५२औं गणतन्त्र दिवसको दिन बिहान ८ः४६ बजे गुजरातको कच्छ जिल्लाको भचाउमा केन्द्र बनाएर गएको ७ दशमलव ७ म्याग्नीच्युडको भूकम्पले ठूलो जनधनको क्षति भएको थियो। मानवीय घटना भएकाले त्यहाँ नेपाल समाचारपत्रले प्रतिनिधि पठाउने निर्णय गरेको थियो। यसरी विदेशमा भएका घटनालाई लिएर नेपालबाट निजी क्षेत्रको सञ्चारमाध्यमले रिपोर्टिङका लागि आफैं खर्च गरेर प्रतिनिधि पठाएको सुनिएको थिएन। संयोगले म स्वयं त्यसमा सामेल हुन पाएको थिएँ।

त्यतिबेला उपलब्ध प्रविधिको भरपुर प्रयोग गरेर झन्डै दुई साता उताबाट रिपोर्टिङ गरियो। सानै छँदा अल इन्डिया रेडियोमा गोरखा राइफलमा रहेका नेपालीको सन्देश प्रसारण भएको सुनेको थिएँ। ‘म फलाना ठाउँको, फलानाको छोरा, फलानाको नाति, फलानो कुशल मंगल छु, चिन्ता गर्नुपर्दैन’ भन्ने खालको। मैले पनि त्यहाँ भेटिएका नेपाली दाजुबहिनीको लिखित सन्देश यसै गरी पठाएको थिएँ। केहीको मृत्यु भएको विवरण पनि पत्ता लगाएँ। धेरैले मन पराएका थिए। अहिलेको जस्तो भइदिएको भए फेसबुक लाइभ नै गर्न सकिन्थ्यो तर त्यतिबेला कुराकानी कागजमा उतारेर, भूकम्पका कारण सञ्चार सम्पर्क नभएकाले ६ घन्टा गाडीमा अहमदावादसम्म पुगेर फ्याक्स गर्नुपर्ने दैनिकी बनाइयो। यसखालको समाचार प्रस्तुति गर्ने सल्लाह र सुझाव पुष्कर सर, तत्कालीन सम्पादक कपिल काफ्ले, महानगरका सम्पादक बद्री तिवारी, सल्लाहकार सम्पादक रामकृष्ण रेग्मीलगायतका अग्रजहरूकै थियो। सामग्री लोकप्रिय पनि भएका थिए। उता पनि आफूहरूलाई दुःख परेको बेलामा विदेशदेखि पत्रकार आएको भनेर वाहवाही पाइयो। कतिले त यतै आएर शाखा खोल्नुस् सम्म भनेका थिए। उनीहरू धेरै पछिसम्म शाखा खोल्न कहिले आउने भनेर मलाई फोनसमेत गर्थे। तर, गुजरातमा लगेर नेपाली पत्रिका निकाल्नु त्यति व्यावहारिक थिएन। त्यतिबेला गुजरातमा मुख्यमन्त्रीका रूपमा केशुभाइ पटेललाई समेत भेट्ने मौका मिलेको थियो। अहिलेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी त्यहाँ भाजपाका स्थानीय नेता थिए त्यो बेला। म गएको केही महिनापछि केशुभाइले पुनर्निर्माणको काम गर्न नसकेको भनेर मोदीलाई मुख्यमन्त्री बनाइएको थियो। यसरी अन्तर्राष्ट्रिय घटनाक्रममा समेत नेपाल समाचारपत्र पहिलोपटक सहभागी भएको थियो। त्यसमा पुष्कर सरको सोचले नै काम गरेको थियो।

गुजरात मिसन पूरा गरी नयाँ दिल्ली फर्किएँ। फागुन १ को आसपास तत्कालीन नेकपा माओवादीले नयाँ दिल्लीमा जनयुद्धको वर्षगाँठ मनाउने कार्यक्रम रहेछ। पुष्कर सरले नै त्यताको पनि रिपोर्टिङ गरेर फर्किनु भन्नुभयो। म पहाडगन्जको एउटा होटलमा बसेको थिएँ। आफूसँग खर्च सकिएको बताएपछि उहाँले दिल्लीमा नै रहेको कोही साथीलाई फोन गरेर मलाई पैसा दिन भन्नुभएछ, अहिले उनको नाम बिर्सें। उनी ५ हजार ५ सय भारु होटलमै गएर दिएर फर्किएका थिए।त्यहाँ एक हप्ता कसेर राम्रैसँग रिपोर्टिङ गरियो। उहाँले बेलाबेलामा हामीलाई रिपोर्टिङको प्रोजेक्ट लिएर आउनुस् र कति खर्च लाग्छ त्यो लिएर जानुस् पनि भन्नुहुन्थ्यो। एकपटक हामी केही साथी मिलेर भारतको युपी, बिहारलगायत सीमावर्ती क्षेत्रमा माओवादी गतिविधिको रिपोर्टिङका लागि गएको याद छ।

कामना विश्वविद्यालय
अहिले नेपालका सबै मिडियामा कामना पब्लिकेसन्स्मा काम गरेका पत्रकार साथीहरू छन्। सबैले राम्रै गरिरहेका छन्। कोहीभन्दा कमजोर छैनन्। विदेशमा पनि थुप्रै साथी छन्। उनीहरू सबैको प्रतिभा हेर्दा फेरि उही कामनाको याद आउँछ। कामना एउटा विश्वविद्यालय नै थियो भन्ने लाग्छ। गौरव अनुभूति हुन्छ।

सम्पादक बन्दाको क्षण
एक दिन कार्यालयमा काम गरिरहेको बेलामा उहाँले कार्यकक्षमा बोलाउनुभयो। म अर्को महिना तीन महिनाका लागि पारिवारिक भ्रमणमा युरोप जान लागेको भन्नुभयो। यसपालि विदेश जाँदा समाचारको चक्करमा नलाग्ने मुडमा छु पनि भन्नुभयो। मैले शुभकामना दिएँ। जानुभन्दा अघि मलाई केही जिम्मेवारी दिन लागेको भन्नुभयो। मैले जिम्मेवारीमा नै छु, ढुक्क भएर घुम्नुस् यताको म सम्हालुला भनेको थिएँ। उहाँले तपाईंले सम्पादककै रूपमा काम गरिरहनुभएको छ तर, देखिने गरी प्रिन्ट लाइनमा नै नाम राख्न खोजेको के गरौं, सकिएला नि भन्नुभयो। गरिरहेकै काम भएकाले नसकिने भन्ने कुरै थिएन। त्यसैले मैले भनेको थिएँ– ‘प¥यो भने यो देश नै अहिलेको भन्दा निकै राम्रोसँग चलाउने हिम्मत छ। दैनिक पत्रिकाको सम्पादकीय नेतृत्व गर्ने कुरा मेरा लागि अब ठूलो कुरा रहेन। गरिरहेकै छु।’

खासमा प्रिन्ट लाइनमा नाम आउनु भनेको मेरा लागि थप टाउको दुखाइको विषय पनि थियो। नयाँ सम्पादक आएको अब केही गर्छ भन्ने अपेक्षा पनि मान्छेको बढ्न जान्छ। त्यसले गर्दा तपाईं विदेशबाट आउनुस् अनि प्रिन्ट लाइनमा नाम राखौंला भनेर मैले प्रस्ताव गरें। उहाँले अरू कुरा केही पनि मलाई ‘नो’ भनेको थाहा छैन, तर यो कुरामा ‘नो’ भन्नुभयो। अझै पनि घरसल्लाह गर्नुस् र मलाई एक दुई दिनमा भन्दा पनि हुन्छ भन्नुभयो। अफिसियल कुरामा मेरो घरसल्लाह गर्ने चलन छैन, निर्णय गर्ने मैले नै हो भरिसक्य अहिले प्रिन्ट लाइनमा नाम नराखौं भनें। अझै केही दिन सोच्नुस् न भन्नुभयो। यो कुरा साथीभाइलाई भन्नु जरुरी पनि ठानिनँ।

रात्री डेस्कको प्रमुख भएर होस् वा दिवा सेवामा संयोजन गरेर नै किन नहोस्, अघिल्ला तीन चार वर्षदेखि म सम्पादककै भूमिकामा थिएँ। तर, कार्यालयमा नै काम गरिरहेका मित्र ओमशंकर श्रेष्ठलाई पुष्कर सरले यस्तो प्रस्ताव राख्नुभयो म लिने पक्षमा छैन, के गरौं भनेर उहाँ काम गर्ने त्रिपुरेश्वरस्थित विश्वनिकेतन स्कुलमै गएर सल्लाह गरें। मैले उहाँलाई तपाई बन्नुहुन्छ भने म बाहिरबाट सहयोग गरौंला, पुष्कर सरलाई पनि मनाउँला भन्ने प्रस्ताव राखें। उहाँले तपाईंलाई पुष्कर सरले प्रस्ताव राख्नुभएकाले नो नभन्नुस् भन्ने सल्लाह दिनुभयो। उहाँले आफ्नो विद्यालयमा केही जिम्मेवारी भएकाले छाड्न नमिल्ने र समय दिन पनि नसकिने बताउनुभयो। त्यसपछि ल ठीकै छ भनेर मैले कम्मर कसें। पुष्कर सरसँग ओके गरिदिएँ र उहाँले पनि भनेकै मितिमा प्रिन्ट लाइनमा नाम दिनुभयो। कतिपय नेपाली मिडियामा दलका नेताको बैठक बसेर सम्पादक तय गरिन्छ भन्ने सुनिने गरे पनि हाम्रोमा न पहिला त्यस्तो थियो न मेरो पालामा नै। विशुद्धरूपमा कामकै आधारमा मूल्यांकन थियो। त्यो हिसाबले गर्दा पत्रकारितालाई कतै बन्धक बनाउनुपर्ने बाध्यताबाट म एक हिसाबले मुक्त पनि थिएँ। राम्रैसँग काम गरियो पनि।

समयक्रममा काममा खटाई २४ घन्टाजस्तै थियो। प्रिन्ट लाइनमा नाम आएपछि इज्जत राख्नका लागि पनि बढी मिहिनेत गर्नुपर्ने दबाब थियो। सामाजिक बन्धन अनेक थिए। दुई दशक लामो पत्रकारिताका क्रममा साँझका कुनै जमघटमा सहभागी हुन नपाउँदा ‘ठूलो भएको’ भन्ने पारिवारीक वृत्तबाट आउने आरोप थेगी नसक्नु हुन्थ्यो। घरमा बच्चाहरू सुतिसकेपछि पुग्ने, बिहान म नउठ्दै उनीहरू स्कुल गइसक्ने। महिनौंसम्म कुरा गर्न पनि नपाइने अवस्था थियो। आफू स्वयंलाई पनि चौबीसै घन्टा टाउको दुख्ने समस्या शुरू भयो।

चिकित्सकले दुई महिना औषधि खाएर आराम गर्न सल्लाह दिएका थिए। चिकित्सकका कागज र औषधिको पोको बोकेर मैले काम गर्न नसक्ने अवस्था आएको पुष्कर सरलाई सुनाएँ। उहाँले ठीकै छ बिदा लिनुस्, एकपटक डा। सुन्दरमणि दीक्षितलाई पनि देखाउनुस् उहाँले राम्रोसँग हेरिदिनुहुन्छ भन्नुभयो। तर, पुतलीसडकमा रहेका मेरा घरायसी डाक्टरको उपचारले नै मलाई काम गरिरहेकाले फेरि डा। दीक्षितलाई देखाउन म गइनँ। औषधिको भारी र मेरो अनुहार हेरेर उहाँ पनि तर्सिनुभयो नत्र मलाई छोड्न दिने मुडमा हुनुहुन्नथ्यो। उहाँले पछि आउनु प्रिन्ट लाइनमा नाम रहिरहन्छ भन्नुभए पनि मैले नै मानिनँ। स्वास्थ्य एकदमै बिग्रेकाले म अब पुरानो अवस्थामा फर्किन गाह्रो छ त्यसैले नाम हटाइदिनुस् भनें। उहाँले केही समय मान्नुभएन तर धेरै भनेपछि प्रिन्ट लाइनबाट नाम हटाइदिनुभयो। त्यसरी त्यो कार्यालयबाट भौतिक रूपमा म बाहिरिएको हुँ। केही महिनापछि मेरो स्वास्थ्य अवस्था अनपेक्षितरूपमा सुधार भएकाले पहिलाकै अवस्थामा फर्किन सकें। त्यसैले यी पंक्ति अहिले लेख्न सकेको छु। त्यस कार्यालयमा नरहे पनि पुष्कर सरसँग त्यसपछि पनि नियमित कुराकानी भइरहेकै थियो। उहाँले मिडिया सोसाइटीबाट राजीनामा दिने बेलामा पनि फोनमा लामो कुराकानी गर्नुभएको थियो। पछि बिरामी पर्नुभयो। भेट्न जाँदा अस्पतालले भेट्न नमिल्ने बताएपछि फर्किनुपरेको थियो। बाहिरबाटै हेरेर हामी फर्केका थियौं।

मृत्यु प्रकृतिको नियम हो। हामी त्यसलाई छेक्न सक्दैनौं। त्यसैले खुट्टा नकमाई उहाँका सपना पूरा गर्नेतर्फ लाग्नु नै उहाँका लागि सच्चा श्रद्धाञ्जली हुनेछ। कामनाका साथीहरू मनोबल उच्च बनाउनुहोला। अरूले गर्न सक्ने तर तपाईं हामीले मात्रै गर्न नसक्ने काम यो दुनियाँमा केही पनि छैन। देश, जनता र लोकतन्त्रको हितका लागि अझ प्रखर ढंगले लाग्नुस्। दुनियाँ बदल्ने तपाईं हामीले नै हो। मेरा आदरणीय गुरु पुष्कर सरलाई हार्दिक श्रद्धाञ्जली। सम्पूर्ण शोक सन्तप्त परिवारमा समवेदना

प्रतिक्रिया दिनुहोस्