“अ कम्पिल्ट म्यान”



विमल केडिया

पुष्करलाल श्रेष्ठसंँग नियमित सम्पर्क हुन थालेको पनि दुई दशक बितिसकेको छ। यसबीचको कुराकानी, व्यवहारलाई सम्झिँदा, योग्यता र क्षमता समष्टिगतरूपमा भन्नुपर्दा पुष्करलाल एक बहुआयामिक व्यक्तित्व हुनुहुन्छ। एकै व्यक्ति प्रकाशक र प्रधान सम्पादक हुने क्षमता कम मानिसमा मात्र हुने गर्दछ । उहाँ ती कमैमध्ये पर्ने अद्भूत क्षमतका व्यक्तित्व हुनुहुन्थ्यो।

बाहिरबाट हेर्दा सरल, शान्त देखिने पुष्करलालको कुराकानी उतिकै गहन हुने गर्दथ्यो। झन्डै साढे तीन दशकको सक्रिय पत्रकारितामा रहनुभएकाले होला, विविध विषयमा बोल्न त्यतिकै पोख्त हुनुहुन्थ्यो। कुराकानीका दौरानमा पुष्करजी, राजनीतिक, प्रशासनिक, खेलकुद, आर्थिकलगायत विविध घटनाक्रम रोचक जानकारी र सूचनाको विश्वकोषझैं लाग्ने गर्दथ्यो।

उहाँको ख्यालठट्टा गर्ने बानी अहिले पनि मनमस्तिष्कमा झल्झल आइरहेको छ। धेरै जान्ने बुझ्ने मानिस भए पनि अरूको कुरा ध्यानपूर्वक सुन्ने उहाँको बानी थियो। आफ्नो कुराले कोही कसैको चित्त नदुखोस् भन्ने विषयमा हरबखत सजग हुनुहुन्थ्यो। राजनीतिक परिर्वतन तीव्र गतिले भए पनि जनताको दैनिक जीवनस्तरमा फेरबदल नभएको देख्दा उहाँमा निरासा र आक्रोशको भाव पनि थियो। अरूलाई रचनात्मक खबरदारी गर्नुपर्ने पत्रकारिता पनि ती नै राजनीतिक, दल, भ्रष्टाचार, कमिसनखोर, चाकडी, चाप्लुसीबाट अछुतो नरहेकोमा उहाँले गुनासो गरिहनुहुन्थ्यो।

कला र कलाकारिता बारे रांै–रौं केलाएझैं धेरै कुरा थाहा पाएको व्यक्तिको असामयिक निधनले मलगायत नेपालको निजी क्षेत्र ज्यादै मर्माहत भएको छ। काठमाडौं उपत्यकामा हुनेखाने कुलमा जन्मिनुभएका पुष्करजी पत्रकारितामा लागेर आफ्नो बाबु–बाजेको भन्दा पृथक् पेशामा आबद्ध हुनुभयो भने उद्यमी, व्यवसायीको पुस्तौंदेखिको गुणलाई पनि सँगसँगै हुर्काउँदै सञ्चार गृहलाई सामाजिक उत्तरदायित्वसहितको व्यवसाय बनाउन सिंगो जीवन नै समर्पित गर्नुभयो। पुष्करजी, पत्रकारिताको दृष्टिबाट हेर्दा पनि उत्तिकै पोख्त, उद्यमी व्यवसायीबाट हेर्दा त्यति क्षमतावान् व्यक्तित्व हुनुहुन्थ्यो। लगानी गर्ने, जोखिम मोल्ने, परिणाम नआएसम्म कडा मेहनत गर्ने स्वभाव उहाँमा थियो।

सीमित लगानीमा कामना प्रकाशन गृह चलाउनुभयो। कामना, साधना र महानगरसम्म आउँदा कामना प्रकाशन नाफाका हिसाबले राम्रै थियो। नेपाल समाचारपत्र प्रकाशित गर्ने भएपछि जति पैसा भए पनि नपुग्ने अवस्थाले गर्दा विभिन्न आर्थिक समस्या झेलेर दृढताका साथ अघि बढिरहनुभएको थियो। यस्तो अवस्थामा पनि सबैलाई पारिवारिक सदस्यझैं व्यवहार गर्नुहुन्थ्यो।

पत्रकार चतुर हुन्छन् भन्ने मेरो सोचलाई पुष्करलाल श्रेष्ठले बदलिदिनुभएको थियो। सरल शान्त र मीठो शैलीमा आफ्नो कुरा राख्नुहुन्थ्यो। मेरा अनन्य मित्र पुष्करजीबाट मैले मेरो जीवनकालमा धेरै कुरा सिक्ने मौका पाएँ। सधैं हँसिलो शैलीमा प्रस्तुत हुने उहाँ छोटो मीठो कुरा राख्न रुचाउनुहुन्थ्यो।

आर्थिक समस्यामा गुिज्रँदा पनि कामना प्रकाशनलाई निरन्तर चलाइरहनुभयो। सबैसँग मिलेर पारिवारिक हिसाबमा काम गर्ने÷गराउने उहाँको खुबी थियो। मेरो विचारमा उहाँ नेपाली पत्रकारिताको एक धरोहर हुनुहुन्थ्योे। मसँगको प्रायः हरेक भेटमा उहाँ देश विकासका कुरा एकदमै चिन्तित रहेको पाउँथें। उहाँको असामयिक निधनबाट मैले एउटा असल मार्गदर्शक साथी गुमाएको छु भने देशले एक कुशल पथप्रदर्शक, राष्ट्रवादी नागरिक गुमाएको मैले महसुस गरेको छु। उहाँले हामीलाई प्रत्यक्ष–अप्रत्यक्षरूपमा रहेर मार्गदर्शन र सहयोग गरिरहनुभएको थियो। आज उहाँ हामीमाझ भौतिकरूपमा नभए पनि उहाँले सिकाउनुभएको सदाचार र नैतिक पाठ म सधैं सम्झिरहनेछु।
(केडिया अर्गनाइजेसनका कार्यकारी निर्देशक विमल केडियासँगको कुराकानीका आधारमा)

प्रतिक्रिया दिनुहोस्