कलमका चर्चित पात्र पुष्करलाल: सम्झनामा



मोहन दुवाल
ठ्याक्कै याद भएन, पुष्करजीसँग कहिलेदेखि सम्पर्क भयो रु उनी मेरो आत्मीयताभित्र रमेर मेरो मनमा छाइरहेका प्रतिभावान् व्यक्ति त पक्कै हुन्। सोझो–सोझो देखिँदो तर आफ्नो अडान नछोडेर आफूले सिञ्चन गरेको बाटोमा निरन्तर हिँडिरहन रूचाउने एक जना वरिष्ठ पत्रकार हुन्।
रंग पत्रकारितामा कामनाको बिम्व खिचेर २०४१ मंसिर १५ मा आफ्नो छवि देखाउन सफल यिनी रंग पत्रकारिताका बगैंचाका सुन्दर माली पनि हुन्। साधनाका बिम्ब बिम्वमा अनेकौं विषयका आयाम खोपेर धन्य भएका पुष्करलाल व्यावसायिक पत्रकारितामा देखिएको चर्चित नाम हो भन्न सकिन्छ। पछि यिनकै सक्रियता र संयोजनमा महानगर दैनिकी समाचारपत्र भएर प्रकाशित भएको देखिन्छ।
त्यसपछि मात्र आफ्नो सोच, सिर्जना र सक्रियताबाट सिञ्चन भएका पत्रिकाका यी कामना, साधना र महानगरका सफलतामा रमेर यिनी नेपाल समाचारपत्र प्रकाशन गर्न जुर्मुराएका हुन्। विशाल बजारका ख्यातिप्राप्त व्यापारी भरतलाल श्रेष्ठकै निर्देशन, सल्लाह र सहयोग प्राप्त गरी यिनी पत्रकारितामा रमाएको देखिन्छ। किनभने यिनमा पत्रकार चेतना विकास भएकै कारणले यिनी कुनै व्यवसायमा लाग्न चाहेनन्। पत्रकारितामा यिनले धेरै खालका संघर्ष भोगे तर पनि यिनी विचलित भएनन्। साढे तीन दशक यिनले पत्रकारितामा नै बिताए। सिर्जनात्मक जिज्ञासा भएकै कारणले यिनी जस्तै संघर्ष गर्नु परे पनि पत्रकारितामा नै रमाउन चाहे।
आफैले समाचार संकलन गरेर, आफै लेखक बनेर, आफैले कम्पोज र प्रुफ हेरेर पत्रकारिता गरेर आएका पुष्करलाल पछि नेपाल मिडिया सोसाइटीका अध्यक्ष भएर, अन्तर्राष्ट्रिय प्रेस संस्थामा आवद्ध भएर पत्रकारिता जगत्का एक जना धरोहर बन्न आफूलाई सफल तुल्याएको देखिन्छ। व्यावसायिक पत्रकारका रूपमा आफूलाई समाहित तुल्याएर पत्रकारिताको इतिहासमा एउटा नयाँ बिम्ब कोर्न यिनी सफल रहेको देखिन्छ। यिनले रंग पत्रकारिता गरेर चर्चित रंगकर्मीहरू चिने, साधनामार्फत नेपालका थुप्रै विशिष्ट व्यक्तित्वलाई नजिकबाट सम्पर्क गर्न जाने र महानगरबाट महानगरका थुप्रै समस्या उजिल्याउन प्रयास गरे। यति मात्र नभई यिनले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमार्फत पत्रकारितामा रााष्ट्रिय नाम बनाउन सफल रहेको देखिन्छ।
जनतालाई चेतनशील बनाउने र सम्बन्धित निकायलाई खबरदारी गर्ने मनसायले प्रकाशित समाचारपत्र नै नेपाल समाचारपत्रको आफ्नो देखिने सुन्दर राष्ट्रिय अनुहार हो। सैद्धान्तिकरूपमा यिनले पत्रकारिता पढेको देखिँदैन, तर यिनले पढेर आएका पत्रकारभन्दा आफूलाई होचो कदको देखाएनन्। आफ्नै छुट्टै पहिचान, ओज यिनले समाचारपत्र प्रकाशनमा पनि देखाएरै छाडे।
नेवार भएर पनि नेपाली भाषाको पत्रकारितामा आफ्नो सुन्दर छवि देखाउन सफल यिनी पत्रकारितामा त्याग र तपस्याको भावना साँचेर, इमानदारीपूर्वक हिँडिरहेका एक जना पत्रकारिताका सफल नियात्राकार हुन्। कलममा पुष्करलालले तर्क गर्दै आफ्नो राय यसरी व्यक्त गरेका छन्– ‘चौथो अंगका मानिस भनेर सरकारले हामीलाई झन्डा र गाडी पनि दिँदैन, तर त्यसरी पाइएको सामाजिक परिचय र प्रतिष्ठा रकमले किन्न सकिँदैन। त्यसैले त्यति ठूलो पहिचान पाइसकेपछि सँगसँगै ठूलो आर्थिक लाभ पनि पाउनुपर्छ भन्ने मान्यता पत्रकारले राख्नु हुँदैन।’ कामनाका शुरूआतकालमा दिनको १८औं घन्टा खर्चेर, आफै सम्पादक, आफै कम्पोजिटर र आफै प्रुफरिडिङ गरेर पत्रकारिता गरेर संघर्ष गर्दै आएका यिनी पत्रकारिता क्षेत्रभित्रकै अग्रणी पत्रकारका रूपमा चीर परिचित छन्। जीवनका उर्वर क्षण यिनले पत्रकारितामा खर्चे मात्र होइनन् पत्रकारका रूपमा स्थापित हुन निकै संघर्षका कहर काटेको देखिन्छ।
छोरालाई पनि पत्रकार बनाउन सफल यिनी पत्रकार भएर संसारका अधिकांश देश घुमेर आफूलाई चिनाएको देखिन्छ। अन्तर्राष्ट्रिय जगत्मा यिनले आफूलाई पत्रकारका रूपमा गोष्ठी, संगोष्ठीमा मात्र चिनाएनन्, सबैको मानसपटलमा आफूलाई पत्रकारका रूपमा चिनाउन सफल भए। पत्रकारिता, सिनेमा, उद्योग, खेलकुद र सामाजिक सेवामा आफूलाई सक्रिय र समर्पित तुल्याउँदै आएका यिनी ब्याडमिन्टन र फुटबल खेलका राष्ट्रियस्तरका चर्चित खेलाडी पनि हुन्।
अर्थशास्त्र विषय पढेर स्नातकसम्म उत्तीर्ण गरेका यिनी पत्रकार जगत्का निकै चर्चित, ख्यातिप्राप्त व्यक्तित्वका रूपमा परिचय बाँड्न सफल छन्। प्रेस काउन्सिल नेपाललगायत थुप्रै पत्रकारितासँग गाँसिएका संघसंस्था, कलेजका बोर्ड सदस्य भएर सेवा पु¥याएर गएका यिनी पत्रकार क्षेत्रका तपस्वी हुन्। यति मात्र नभई दलीय घेराभित्र बसेर पत्रकारिता नगरेका यिनी पत्रकारिता जगत्का छुट्टै मानकका रूपमा स्थापित छन्। देशकै पत्रकार जगतका एक योग्य, व्यावसायिक, अनुभवी र सक्रिय पत्रकारका रूपमा चिनिएका पत्रकार मित्र पुष्करलाल श्रेष्ठ ६० वर्षको उमेरमा २०७६ वैशाख ४ गते निधन भएकोमा श्रद्धाञ्जलिका दुई शब्द चढाएर अलबिदा भनिरहेछु।
मलाई सम्झना छ, करिब १० वर्ष जति भयो होला यिनीसँग मेरो गाढा सम्बन्ध भएको। उनीसँगको यो मित्रता गाढा बनाउन भूमिका खेलिन् बहिनी भगवती तिमिल्सिनाले। पुष्करजीकै घरमा धुलिखेलका समाजसेवी बेलप्रसाद श्रेष्ठसँग रमाएर हामीहरू खाना खाएको सम्झना सधैं आइरहन्छ। पुष्करजीसँग फोनमा कुरा भइरहन्थ्यो। यही क्रममा एकदिन भगवती बहिनीसँग भएर कामना कार्यालयमा पुगेको मलाई सम्झना छ।
२०७० पुस महिनाको कुनै एकदिन नेपाल समाचारपत्रमा ‘साहित्य’ पृष्ठ राख्ने सम्बन्धमा कुराकानी भयो। निर्णयको व्यहोरा उनैले लेखे। व्यहोरामा लेखिएको थियो– ‘साहित्य पृष्ठको संयोजकका रूपमा मोहन दुवालको नाम राख्ने। उक्त पृष्ठमा मोहन दुवालसँग सोधेर मात्र लेख रचना छाप्ने ’ यस्तै प्रसंगहरू जोडेर व्यहोरा लेखे। म आफू निःशुल्क पृष्ठ संयोजकको  रूपमा भर्ना भएँ अर्थात् २०७० माघ ४ गतेको नेपाल समाचारपत्रमा पुष्करलाल आफैले थम्याइदिए– पृष्ठ संयोजक वरिष्ठ साहित्यकार मोहन दुवाल। म रमाएँ, हालसम्म उक्त पृष्ठ संयोजन गरिरहेछु।
जनमतको मेरो यात्रामा मलाई प्रोत्साहन दिँदै आएका यिनी जनमतको वार्षिक कार्यक्रममा २०७३ चैतको कार्यक्रममा यिनले मलाई तारिफ गर्दै भनेका थिए– ‘मोहन दुवाल र जनमत पर्यायवाची शब्द भएर राष्ट्रभर नै फिँजिएको छ। जुन गौरव बनेपा र काभ्रेले आत्मसात गर्नुपर्छ।’ पत्रकारितामा साहित्यलाई ठाउँ दिएर अझ मलाई साहित्यकारको रूपमा समाचारपत्रमार्फत चिनाएर यिनले मलाई धन्य बनाएका छन्। भर्खरै मात्र करिब ६ महिनाअगाडि २०७५ असोज १३ गते मेरो सभापतित्वमा शुरू भएको प्रतिभा सम्मान प्रबन्ध गुठीको कार्यक्रममा माननीय सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग भएर तीन जना महिला पत्रकार कृष्णा ताम्राकार, भगवती तिमल्सिना र सिर्जना दुवाल श्रेष्ठको सम्मानमा उनले विशिष्ट अतिथिका तर्फबाट भनेका थिए– ‘सम्मानित हुनु भनेको समाजले दिएको मर्यादा हो।
उच्च कार्य नगर्नेहरू कहिल्यै सम्मानित हुँदैनन्। आज मैले सञ्चार र पत्रिका जगत्का महिला हस्तीहरूलाई सम्मान गर्न पाएँ, खुसी लाग्यो।’ ६ महिना मात्र नाघ्यो, अकल्पनीय भयो। त्यस कार्यक्रममा आउँदा, बस्दा देखेको त्यसताकाको त्यो फूर्तिलो अनुहार, जिउडाल उनको अवसान हुँदा पनि नपत्याउँदो गरी भूगोलपार्कमा राखेको पुष्कर–शवले हेरिरहेको जस्तो लाग्यो।

प्रतिक्रिया दिनुहोस्