न हन्यते हन्यमाने शरीरे



उज्ज्वल शर्मा
पुष्करलाल श्रेष्ठ अर्थात् मेरा आत्मीय पुष्करजीको सम्झनामा केही लेख्नु मेरा निमित्त अलिकति भावुकताको विषय हुन सक्छ। पुष्करजीको सामान्य स्वास्थ्य समस्याका बारेका म धेर–थोर जानकार नै थिएँ। उहाँले नाकको समस्यामा उपचार गराउनुभयो। त्यसपछि उहाँले मिर्गौलाको पत्थरी निकाल्न शल्यक्रिया गराउनुभयो। यो शल्यक्रियापछि उहाँको स्वास्थ्यमा केही समस्या देखिएको थियो। उहाँले आफ्नो स्वास्थ्य समस्याका बारे फोनमा संक्षेपमा बताउनुभएको थियो। उहाँले त्यसलाई सामान्य समास्याका रूपमा लिनुभएको थियो र क्रमशः ठीक हुँदै जानेमा विश्वस्त हुनुहुन्थ्यो। धेरै लामो समय होइन, करिब छ महिना आसपासको कुरा हो तर नियतिलाई उहाँको विश्वास स्वीकार्य भएन।

पुष्करजीसँग सशरीर अन्तिम भेट कामना प्रकाशनकै कामना फिल्म अवार्ड समारोहमा भएको थियो। समारोहको औपचारिकतापछि हाम्रो मित्रवत् अनौपचारिक भेट भयो। हामीबीच औपचारिकताको मेलोमेसो उति थिएन, आफ्नै पाराको शिष्टाचार चल्थ्यो। समारोहपछिको खानपिन र रमाइलोमा भुल्यौं। पुष्करजीसँग आमने–सामाने कुरा गर्ने अन्तिम अवसर यही भयो जो उहाँले नै जुराउनुभएको थियो।

यसपछि पुष्करजी अस्वस्थ हुनुभयो। नाकको शल्यक्रिय गराउनुभयो। यो शल्यक्रियापछि मैले फोन गरेर स्वास्थ्य अवस्थाको जानकारी लिएको थिएँ। भेट हुने अवसर जुरेन। यसपछि उहाँले पत्थरीको शल्यक्रिया गराउनुभएछ। मैले अलिक ढिलो गरी थाहा पाएर फोन गरें, स्वास्थ्यलाभको शुभकामना दिएँ। उहाँमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा कुनै द्विविधा थिएन। स्वास्थ्य सेवा र शल्यक्रियामा अहिलेको आधुनिक प्रविधिमा मिर्गौलाको पत्थरी निकाल्नु सामान्य घटना थियो। पुष्करजी यसमा ढुक्क हुनुहुन्थ्यो।

पुष्करजीको विश्वासविपरीत उहाँमा स्वास्थ्य समस्या बढ्दै गएछ। नेपालको नर्भिक इन्टरनेसनल अस्पताल हुँदै उहाँ भारतको मेदान्तसम्म पुग्नुभयो। मेदान्तामा रहुन्जेल म उहाँका पुत्ररत्न दिरेकलालसँग बारम्बार सम्पर्कमा थिएँ। कहिले निकै आशा र कहिले अलिकति निराशाको कुरा हुन्थ्यो। यता काठमाडौंका थुप्रै शुभेच्छुक ‘पुष्करलालजीको स्थिति के हो’ भनेर मसँग जिज्ञासा राख्थे। दिल्लीबाट पुष्करजीका परिवारजन स्वस्थ जीवनको भरपूर अपेक्षाका साथ फर्किएका थिए। तर, नियतिलाई यो अपेक्षा पनि मान्य भएन। आखिर पुष्करजी यो भूतललाई आफ्नो पार्थिव शरीर छाडेर सदाका लागि परिवारजन, आफन्त र हामी सबैबाट बिदा हुनुभयो।
प्रकृतिको शाश्वत नियम नमानेर धरै थिएन।

उहाँ आफ्नो परम्परागत पारिवारिक पेसा छाडेर पत्रकारिकतामा आउनु आफैमा एउटा फरक बाटो थियो। 
पुष्करजी चालीसको दशकको आरम्भमा फिल्मी पत्रिका ‘कामना’ लिएर नेपाली पत्रकारिता क्षेत्रमा आउनुभएको थियो। उहाँ आफ्नो परम्परागत पारिवारिक पेसा छाडेर पत्रकारिकतामा आउनु आफैमा एउटा फरक बाटो थियो। त्यो फरक बाटो सहज थिएन। त्यही असहज बाटोमा उहाँ खोजमूलक मासिक पत्रिका ‘साधना’ र सन्ध्याकालीन दैनिक पत्रिका महानगर लिएर अझ अघि बढ्नुभयो। उहाँको पत्रकारिता यात्राको संघर्षकै क्रममा मुलुकमा जनआन्दोलनबाट बहुदलीय प्रजातन्त्र पुनस्र्थापना भयो। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता फराकिलो भयो। उहाँले दैनिक पत्रिका ‘आजको समाचारपत्र’ शुरू गर्नुभयो। अहिले छब्बीसौं वर्षमा चलिरहेको ‘नेपाल समाचारपत्र’ त्यही ‘आजको समाचारपत्र’ हो।

यस हिसाबले पुष्करजीले नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो जीवनमा ३५ वर्ष बिताउनुभयो। उहाँ कामना प्रकाशनका प्रकाशक हुनुहुन्थ्यो। नेपाली पत्रकारिता जगतले जानेमानेको कुरा हो, पुष्करजी प्रकाशकभन्दा बढी पत्रकार हुनुहुन्थ्यो। उहाँ आफू सम्पादक र प्रकाशका रूपमा ‘नेपाल समाचारपत्र’ एक्लैले ब्रेक गरेका देशका केही ठूला घटनाका समाचारले पत्रकारितमा उहाँको निष्ठा पुष्टि गर्छ। उहाँलाई मैले चालीसको दशकमा पत्रकारकै रूपमा चिनेको हुँ। त्यो समयको चिनजान औपचारिकमात्रै थियो, कतै भेट हुँदा हाँस्ने र हात मिलाउने।

‘आजको समाचारपत्र’ प्रकाशनको दुई वर्षजस्तो पछि ‘हिमालय टाइम्स’ शुरू भयो। यसपछि भने पुष्करजी र मेरो भेट र फोनवार्ता बाक्लिँदै गएको हो। दुई फरक प्रकाशनका प्रकाशकका रूपमा आपसी समस्या र चुनौती नै कुराकानीको मुख्य विषय हुन्थ्यो। पचासको दशकको अन्त्यतिर पुष्करजीले आफ्नो पहलमा प्रकाशकहरूको संस्था ‘नेपाल मिडिया सोसाइटी’ बनाउनुभयो। केही समय यो सुषुप्त थियो। विस्तारै, २०६० को हाराहारीमा त्यति बेलाका दैनिक पत्रिकाका प्रकाशकहरू नेपाल मिडिया सोटाइटीमा जोडियौं, पुष्करजीलाई नै संस्थापक अध्यक्ष मानेर।

यही नेपाल मिडिया सोसाइटीले पुष्करजी र मेराबीचको औपचारिक सम्बन्धलाई अनौपचारिक बनाइदियो। पछिल्लो पन्ध्र वर्षमा उहाँसँग फोनमा कुरा नभएको दिन विरलै हुन्थ्यो। बिहान एक चरण पत्रिका हेरेपछि करिब नौ बजेतिर फोनमा कुरा गर्नु दिनचर्याको एक अटुट अंग बनेको थियो। कुन पत्रिकामा के फरक समाचार आयो, कसले के विषयमा सम्पादकीय लेख्यो इत्यादि गफको विषय हुन्थ्यो। परिस्थितिअनुसार नेपाल मिडिया सोसाइटी गफको अर्को विषय हुन्थ्यो।

पुष्करजी मिडिया सोसाइटीलाई मिडिया सञ्चालकको बलियो र भरपर्दो संस्था बनाउन चाहनुहुन्थ्यो। आरम्भमा पत्रिका प्रकाशकहरूको मात्रै संस्थाका रूपमा रहेकोमा पछिल्लो समय यसमा टेलिभिजनहरू पनि जोडिएर फराकिलो बन्दै गएको छ। मिडिया सोसाइटीको संस्थागत विकास र सामूहिक हित प्रवद्र्धन उहाँको एकमात्र ध्येय थियो। खासगरी मिडियालाई सेवा उद्योगका रूपमा विकास गर्न उहाँ तल्लीन हुनुहुन्थ्यो। यसका निमित्त आवश्यक सहुलियतका लागि राज्यसँग संस्थागत प्रयास गर्न चाहनुहुन्थ्यो र आफ्नो कार्यकालमा त्यही दिशामा तल्लीन रहनुभयो।

पुष्करजी भरखर साठी वर्ष उमेरमा हुनुहुन्थ्यो। उहाँमा अचानक बढेको स्वास्थ्य समस्या र करिब छ महिनाभित्रैको दुःखद परिणामले हामी सबैलाई स्तब्ध पारेको छ। ‘जीवनको केही भर छैन आज हो कि भोलि’ भन्ने हाम्रो परम्परागत कथन यसै भनिएको होइन रहेछ जस्तो भएको छ। पुष्करजी आज हाम्रामाझ हुनुहुन्न भन्ने सत्य पत्याउन जति नै कठिन भए पनि नपत्याएर धरै पाएको छैन।

सनातन परम्पराले देहको अस्तित्व अनित्य अर्थात् अस्थायी मान्छ। देहको अन्त्य अवस्यम्भावी छ। श्रीमद्भगद्गीता अनुसार शाश्वत त आत्मामात्रै छ जो न कहिल्यै जन्मन्छ न मर्छ, यो त आजन्मा, नित्य, सनातन र पुरातन छ।

नजायते मृयते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः
अजो नित्यः शाश्वतो यं पुराणो
न हन्यते हन्यमाने शरीरे।
पुष्करजीले नेपाली पत्रकारिताका क्षेत्रमा साढे तीन दशकमा जे छाडेर जानुभएको छ त्यसले उहाँलाई चिरस्मणीय बनाइराख्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु। पुष्करजीको दिवंगत आत्माले शान्ति पाओस्।
हार्दिक श्रद्धाञ्जलि।
प्रतिक्रिया दिनुहोस्