मेरो सम्झनामा पुष्करलाल श्रेष्ठ



उमेश श्रेष्ठ

पुष्करलाल श्रेष्ठसँग मेरो चिनजान २०४१ सालतिर भएको हो। २०३९ सालमा उहाँका जेठा छोरा दिरेकलाल श्रेष्ठ लिटिल एन्जल्स स्कुलमा भर्ना भए। त्यसपछि एक जना मित्र मात्र नभएर उहाँ मेरो स्कुलको अभिभावक पनि बन्नुभयो। उहाँका तीनवटै छोरा जेठो दिरेक, माइलो रकिन र कान्छो अनुज लिटिल एन्जल्स स्कुलबाटै एसएसली पास गरेर आआफ्नो क्षेत्रमा अघि बढिरहेका छन्। उहाँका तीनवटै छोरालाई आफ्नो स्कुलमा पढाउने मौका मैले पाएँ। यो उहाँले मलाई गरेको ठूलो विश्वास हो। उहाँसँग आफ्ना छोरालाई काठमाडौंका जुनसुकै स्कुलमा पढाउन सक्ने हैसियत थियो, तर लिटिल एन्जल्स स्कुल र मप्रति उहाँको विश्वाससँग म सधैं आभारी छु। उहाँका तीनवटै छोरा अत्यन्त इमानदार, अनुशासित र प्रतिभावान् छन्। अहिले पनि उनीहरू आआफ्नो क्षेत्रमा सफलतापूर्वक अघि बढिरहेका छन्। जेठा छोरा दिरेक त अमेरिकामा उच्च शिक्षा हासिल गरेर अहिले पिताको विरासतलाई धानिरहेका छन्। छोराहरूले लिएको यो असल मार्गको श्रेय पुष्करलालकै हो।

 

मित्र पुष्करलालका छोराहरू स्कुलमा पढ्न थालेपछि उहाँ निरन्तर स्कुलमा आउने, छोराहरूको शिक्षाबारे चासो राख्ने, विद्यालयलाई यसो ग¥यो भने अझै राम्रो हुन्छ भनेर मलाई सल्लाह दिने गर्नुहुन्थ्यो। मेरो सफलतामा उहाँको ठूलो सहयोग छ। यो कहिल्यै पनि बिर्सन चाहन्नँ। त्यसपछिका दिनहरूमा उहाँसँगको मेरो सम्बन्ध स्कुलको अभिभावकका रूपमा मात्र रहेन। एक असल मित्रका रूपमा पारिवारिक सम्बन्ध पनि अत्यन्त घनिष्ठ बन्न पुग्यो।

 

पुष्करलालजीसँगको मेरो सम्बन्ध विद्यालयको शुभचिन्तक, मिलनसार साथी र पारिवारिक दुःखसुख बाँड्ने हितैसीका रूपमा र≈यो। उहाँ अन्त्यन्त रसिक स्वभावको हुनुहुन्थ्यो। हाँसेर बोल्ने, रमाइलो कुराकानी गर्ने उहाँको स्वभाव थियो। कहिले मेरो घरमा, कहिले पुष्करलालजीको घरमा, कहिले प्रदीप श्रेष्ठ त कहिले मनोजबहादुर श्रेष्ठको घरमा हाम्रो पारिवारिक जमघट हुन्थ्यो। रमाइला रमाइला कुराकानी हुन्थे। ती पारिवारिक जमघट सम्झँदा अहिले म भावुक हुने गर्दछु। उहाँको परिवारसँगको भेट मलाई अहिलेजस्तै लागिरहेको छ। उहाँसँगको भेटमा मेरो पत्रकारिता, शिक्षा, राजनीतिका विभिन्न कुराकानी हुन्थे। भौतिक शरीर नरहे पनि उहाँको सम्झना अभैm पनि ताजै छ।

 

पुष्करजी मात्र नभई नेपाल समाचारपत्र पनि प्याब्सनसँग घनिष्ट बन्न पुग्यो। नेपाल समाचारपत्रसँगको सहकार्यमा प्याब्सनले निरन्तररूपमा एकदशकभन्दा बढी सेन्डअप टेस्टको नतिजा प्रकाशन गरेको थियो। योसँगै प्याब्सनका हरेक गतिविधि तथा विज्ञापनहरू पनि पुष्करजीसँगको मित्रवत् व्यवहारकै कारण नेपाल समाचारपत्रमै छापिने गरेको स्मरण गर्न चाहन्छु। पनिकासँग सहकार्य गरी गोरखापत्रमा छापिँदै आएको एसएलसीको नतिजा पनि पुष्करजीकै कारण नेपाल समाचारपत्रमा छापिएको थियो।

 

पुष्कर मेरो असल मित्र त हुँदै हुनुहुन्थ्यो त्यससँगै एक जना वरिष्ठ पत्रकार, नेपाल मिडिया सोसाइटीका पूर्वअध्यक्ष तथा कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधानसम्पादकका रूपमा उहाँले समाजमा निकै ठूलो ख्याति कमाउनुभएको थियो। सरकार र विभिन्न संघसंस्थाबाट दर्जनौं पुरस्कार पाउनुभयो। जीवनमा समाज र राष्ट्रलाई केही न केही योगदान दिनुपर्छ र आफ्नो पहिचान पनि बनाउनुपर्छ भन्ने सधैं उहाँको सोचाइ थियो। उहाँ देश वा विदेश हरेक घटनाबारे जानकार हुनुहुन्थ्यो। साढे ३ दशकभन्दा लामो समयसम्म निरन्तर पत्रकारितामा क्रियाशील रहनुभयो। दिनभर आफैं समाचार खोज्ने र लेख्ने, राति १० बजेदेखि २ बजेसम्म पत्रिकाको सम्पादन र साजसज्जामा खटिने परिश्रमी र मेहनती हुनुहुन्थ्यो। मिडिया मालिकसँगै पत्रकारको जिम्मेवारीमा रहँदा भोगेका दुःखपीडा र पाएका सफलताबारे उहाँसँग भएका कुराकानी अहिले पनि ताजै छन्।

 

पुष्करलालले प्राप्त गरेको यो सामाजिक प्रतिष्ठा र ख्यातिका पछाडि थुप्रै परिश्रम, मेहनत र संघर्ष लुकेको छ। जसले उहाँलाई सफल बनायो। हुन त भौतिक सम्पन्नतालाई सफलताको आधार मान्ने कि सामाजिक प्रतिष्ठालाई या दुवैको योगफललाई भन्ने बहस चलिरहेकै छ। तर व्यक्तिको सफलता परिश्रम, निष्ठा र समाजलाई खुसी दिन गरिने प्रयासमै रहेको छ। ‘ढुंगाको काप फोडेर पनि उम्रन्छ पीपल’ भनेजस्तै मानिसको दुःख, संघर्ष र पीडाका अनगिन्ती कथाको समग्र योगफल नै प्रगति हो भन्ने लाग्छ मलाई। जिन्दगीको बाटोमा कोही अभाव र विपन्नताबाट संघर्ष गर्दै सम्पन्नता र सफलताको बाटोमा पुग्दछन्। कोही सम्पन्नता र सुविधाको परित्याग गरेर फरक रोजाइ र भोगाइबाट सफलताको सिँढी चढ्छन्। पुष्करलाल श्रेष्ठले पारिवारिक सम्पन्नता र सुविधाको जिन्दगी होइन, जोखिम र विद्रोहको बाटो रोजेर समाज र राष्ट्रलाई अतुलनीय योगदान दिएर जानुभयो।

 

 

काठमाडौंको भित्रीशहरमा जन्मिएका पुष्करलाल साहुमहाजन भनेर कहलिएका परिवारका सन्तान हुनुहुन्थ्यो। पुख्र्यौली पेसा व्यापार नै थियो। पितापुर्खाको परम्परा धानेर व्यापारमा सलग्न हुनु पुष्करलाललाई धेरै नै सहज र सुविधाको बाटो थियो, तर उहाँले फरक बाटो रोज्नुभयो। अझ भनौं पारिवारिक विद्रोहमा उत्रिनुभयो। पत्रिका निकाल्ने अनि पत्रकारितामा लाग्ने। छोराको यो निर्णय बुबा र हजुरबुबालाई खासै मन परेको थिएन। मसँगको भेटमा उहाँले हजुरबुबाले त मेरो नातिले दुःखले कमाएको सम्पत्ति पनि सक्ने भो भनेर रिसाउनुभयो भन्नुहुथ्यो उहाँ। तर उहाँ पत्रकारिताको दुनियाँमा प्रवेश गरेरै छाड्नुभयोे।

 

 

२०४१ सालमा पत्रिका निकाल्नु र त्यही पेसामा संलग्न रहनु सहज पक्कै थिएन, जुन बेला पत्रिका किनेर पढ्ने चलन नै थिएन। अझ रंग पत्रकारिताको त बजार नै थिएन। उहाँले ५ हजार लगानी गरेर २०४१ मंसिर १५ गते ट्याब्लोइड साइजमा कामना पत्रिकाको पहिलो अंक छाप्नुभयो। त्यही जगमा उहाँले कामना प्रकाशन प्रालि र समाचारपत्र राष्ट्रिय दैनिकका माध्यमबाट पत्रकारिताको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभयो। आफै रिपोर्टर, आफै सम्पादक, आफै प्रकाशक अनि दिनको १६ घण्टासम्मको अथक मेहनतले पत्रकारिताको क्षेत्रमा नयाँ आयामको थालनी गर्न पुष्करलालले कुनै कसर बाँकी राख्नुभएन। पुष्करलाल मेरो मित्र त हुँदै हुनुहुन्थ्यो समाचारपत्र पनि मेरो मिडिया पार्टनर जस्तै थियो। मेरो स्कुल, कलेज र अन्य कम्पनीको विज्ञापन म समाचारपत्रमै छाप्ने गर्दथें। समाचारपत्रको स्तरोन्नतिमा सानोतिनो भए पनि सहयोग गर्न पाएकामा मलाइ गर्व लाग्दछ। एकातिर घर पारिवार, अर्कोतिर साथीभाइ, इष्टमित्र सबैसँग तालमेल मिलाउँदै उहाँले निरन्तर पत्रकारिता क्षेत्रमा योगदान दिनुभयो र सफल पनि बन्नुभयो।

 

पुष्करलालमा बहुमुखी प्रतिभा थियो। उहाँको बोली मीठो र कलम तिखो थियो। कलाकारको जीवनका भोगाइ उजागर गर्नेदेखि परिचित बनाउने अनि प्रोत्साहन गर्ने काममा कामना प्रकाशन गृहमार्फत पुष्करलालले गरेको योगदान बिर्सन सकिँदैन। हिरो हिरोइनका फोटा पत्रिकाको फ्रन्ट पेजमा छापिन्थे। उनीहरूको मेहनतका कथा, संघर्षपूर्ण जीवनका पाटाहरू र सफलताका कथाहरू प्रकाशित हुन्थे, जसले पाठकलाई भरपुर सूचना र मनोरञ्जन प्रदान गर्दथ्यो, कलाकारलाई उत्साह जगाउँथ्यो। चलचित्र या रंग पत्रकारिता नेपालको कला संस्कृतिको विकासका साथसाथै स्वतन्त्र पत्रकारिता र प्रजातन्त्र स्थापनामा पुष्करलाल श्रेष्ठको योगदान अतुलनीय छ।

 

उहाँको निधनले कामना प्रकाशनमा आबद्ध पत्रकार मात्र होइन समग्र नेपाली पत्रकारिता जगत, रंगमञ्च र नागरिक समाज सबैलाई स्तब्ध बनाएको छ। हामीले व्यावसायिक पत्रकारिताका हस्ती गुमाएका छौं। व्यावसायिक पत्रकारितामार्फत एउटा ख्यातिप्राप्त प्रकाशन गृह स्थापना गरेर उहाँले नेपालको पत्रकारिता क्षेत्रलाई चुचुरोमा पु¥याउनुभएको छ। मुलुकको राजनीति, न्याय प्रणालीमा सुधार तथा भ्रष्टाचार, बेथिति, अपराधको बोलवालाविरुद्ध उहाँले पत्रकारिताकै माध्यमबाट निरन्तर आवाज उठाइरहनुुभयो। उहाँको विचार र राष्ट्रप्रेमको अटुट निष्ठा सबैका लागि प्रेरणादायी रहेका छन्।

 

पुष्करलालको निरन्तरको मेहनतले कामना र समाचारपत्र दैनिक बजारमा निकै लोकप्रिय भएका थिए। शुरूमा पत्रिकामा नाम आउँछ भनेर भाग्ने कलाकार पछि पुष्करलाललाई खोज्दै कार्यालयमै आउँथे। समाचारपत्र दैनिकको पहिलो पृष्ठमा छापिएपछि मात्र समाचार सही हो भन्ने पाठकको मनोभाव बढ्न थालेको थियो। तत्कालीन राजा र दरबारको समेत ध्यान तान्न समाचारपत्र दैनिक सफल भएको थियो। पत्रकारिता गर्दा पुष्करलालले धेरै नै हन्डर ठक्कर र आरोप पनि सहनुप¥यो। पत्रकार आफैले लगानी गरेर चलाएको पत्रिकाको पत्रकारले नै आलोचना गरेको पनि सुनिन्थ्यो। पुष्करलालको ईष्र्या गर्नेहरू धेरै नै थिए। हिरोहिरोइनका ठूल्ठूला फोटा छापेपछि पत्रिका त चलिहाल्छ नि भनेर भनेको पनि सुनिन्थ्यो, तर उहाँ कहिल्यै विचलित हुनुभएन।

 

अनुसन्धानमा आधारित थुप्रै समाचार प्रकाशित गरेर कामनाले पाठकको मन जित्न सफल भएपछि २०४९ सालमा उहाँले साधनाको प्रकाशन पनि शुरू गर्नुभयो। साधनामा थुप्रै खोजमूलक सामग्री प्रकाशित भएका छन्। विसं २०५० सालमा उहाँले महानगर सन्ध्याकालीन दैनिक पत्रिका प्रकाशन गर्न थाल्नुभयो। यी सबैमा सफलता पाएपछि उहाँले २०५२ सालमा आजको समाचारपत्रको ९हाल नेपाल समाचारपत्र० प्रकाशन शुरू गर्नुभयो। चलचित्र पत्रकारिता र खोजमूलक पत्रकारिताका माध्यमबाट तत्कालीन राजदरबार, राजनीतिकदलका नेता, संसद् र अदालतका मात्र होइन कलाकारका यावत गतिविधि घटना, परिघटना उजागर गर्न कामना, साधना महानगर र नेपाल समाचारपत्र दैनिकमार्फत पुष्करलालले निर्वाह गर्नुभएको भूमिकाको जति प्रशंसा गरे पनि पूर्ण हुँदैन।

 

साढे तीन दशक लामो पत्रकारको जीवन। दिनभर समाचार खोज्न दौडने, राति १० बजेदेखि बिहान २ बजेसम्म समाचार सम्पादन र पेजको साजसज्जामा खटिने उहाँको दिनचर्या बनेको थियो। समाज र राष्ट्रप्रतिको समर्पण र जिम्मेवारीलाई उहाँले आफ्नो स्वास्थ्यभन्दा पनि महान् मान्नुभयो। पछिल्लो समय उहाँलाई सुगर, मिर्गौलाको पत्थरी र नाकमा संक्रमण देखियो स्वदेशका विभिन्न अस्पताल र भारतको मेदान्त अस्पतालमा समेत उहाँको उपचार गरियो, तर उहाँलाई बचाउन गरिएका सबै प्रयास विफल भए। मृत्युको अन्तिम क्षणसम्म पनि नेपालको पत्रकारिता चलचित्र, कला साहित्यका साथसाथै राष्ट्रियता, लोकतन्त्र, न्याय र समानताका पक्षमा पुष्करलालले गरेको अथक प्रयास चानेचुने पक्कै होइन। पुष्करलाल श्रेष्ठ आज भौतिकरूपमा हामीमाझ हुनुहुन्न, तर उहाँले समाजमा अविस्मरणीय छाप छोडेर जानुभएको छ। उहाँ नभए पनि उहाँले गरेको योगदानको सबैले चर्चा गरिरहनेछन्। ६० वर्षको उमेरसम्म श्रेष्ठले अनवरत गरेको संघर्ष र तय गरेको बाटोले समाजले उहाँलाई

युगौंयुगसम्म सम्झिरहनेछ।

प्रतिक्रिया दिनुहोस्