स्मृतिमा पुष्करजी



टीपी शर्मा तिमिल्सिना
नेपाली पत्रकारिता जगत्का मूर्धन्य व्यक्तित्व पुष्करलाल श्रेष्ठको देहावसान नेपाली पत्रकारिता जगत्सँग सम्बन्धित कसैले पनि बिर्सन नसक्ने दुर्घटना हो। उहाँको निधनले पत्रकारितामार्फत कलमक्रान्ति गर्ने सशक्त र जुझारु योद्धाको अन्त्य भएको छ।

पुष्करलाल श्रेष्ठलाई नेपालको निजी क्षेत्रको पत्रकारितालाई संस्थागतस्वरूप दिने अग्रज पत्रकारका रूपमा स्मरण गर्न सकिन्छ। उहाँले एकल प्रयासमा चलिरहेको नेपाली पत्रकारितालाई संस्थागत आकार दिनुभएको थियो। उहाँले कामना प्रकाशन समूह नै बनाउनुभयो। उहाँ ‘टिम वर्क’मा विश्वास गर्नुहुन्थ्यो। एकल पत्रकारितालाई टिम वर्क पत्रकारितामा लैजाने श्रेय उहाँलाई नै जान्छ।

पुष्करलाल श्रेष्ठलाई हामीले पुष्करजी भन्ने गरेका थियौं। उहाँ ‘कामना’ सिने मासिक पत्रिकाको सम्पादन र प्रकाशन गर्नुहुन्थ्यो। अशोकमान सिंह र विजय उदय पाल्पालीको उहाँलाई सहयोग थियो। नयाँ सडकमा कार्यालय राखेर उहाँले पत्रिका चलाउनुभयो। पछि उहाँहरूले भीमसेनस्थानमा कार्यालय सार्नुभयो। त्यसपछि पुष्करजीले प्रदीपमान श्रेष्ठमार्फत मेरा मित्र हरि मञ्जुश्रीलाई कामनाको सम्पादक बन्न आमन्त्रण गर्नुभयो। उहाँ त्यहाँ जान थालेपछि कामना प्रकाशन समूहमा एउटा बलियो टिम बन्यो। त्यो टिममा अशोकमान सिंह, हरि मञ्जुश्री, कपिल काफ्ले, आरके धर्मस्थली, धर्मानन्द अधिकारी, उद्धवराज पुरी, बद्री तिवारी, विष्णुविक्रम गोङ्जु, लक्ष्मण अधिकारी आदि हुनुहुन्थ्यो। उहाँहरूसँग मेरो मित्रवत् सम्बन्ध भएकाले म पनि कामना प्रकाशन समूहमा पुगिरहन्थें। समूहका साथीहरूलाई मिलाएर लैजाने र साथीहरूका बीचमा कुनै विषयमा विवाद भयो भने त्यसलाई मिलाउने सामथ्र्य उहाँमा रहेको म पाउँथें।
मित्र हरि मञ्जुश्री पछि ‘साधना’को सम्पादक बन्नुभयो। उहाँहरूका टिमका साथीले सामूहिक निर्णय गरेर ‘अग्नि जंगम’ भन्ने नक्कली नाम राख्नुभएको थियो। त्यही नामबाट ‘साधना’मा मुख्य आलेख छापिन्थ्यो। त्यस आलेखका लागि प्रायः पुष्करजी नै विषय दिनुहुन्थ्यो। त्यस्ता केही छलफलमा मैले पनि भाग लिएको थिएँ र अग्नि जंगमको नामबाट छापिने आलेखहरूमा राख्ने सामग्री संकलन गर्ने कार्यमा मैले पनि सघाउन पाएको थिएँ।
‘महानगर’को प्रकाशन हुन थालेपछि पनि कामना प्रकाशन समूहमा मेरो सहयोग रही नै र≈यो। बरू ‘नेपाल समाचारपत्र’को प्रकाशन हुन थालेपछि चाहिँ मेरो सम्पर्क कम हुँदै गएको थियो।

पछि हरि मञ्जुश्रीले कामना प्रकाशन समूह छोड्नुभयो। त्यस बेला हरि मञ्जुश्री र म दुवैजना बानेश्वरमा बस्थ्यौं। उहाँ लामो समयसम्म बिरामी परेर कार्यालय जान सक्नुभएन। त्यस बेला पुष्करजी उहाँलाई मासिक तलब बुझाउन हरेक महिनाको २ गते बानेश्वर डेरामै पुग्नुहुन्थ्यो। हरिजी काम नगरेको समयको तलब लिन मान्नुहुन्नथ्यो, पुष्करजी बिरामी भएको बेलाको तलब दिनु आफ्नो कर्तव्य हो भन्नुहुन्थ्यो। ३ महिनासम्म पनि काम नगरीकन तलब थाप्नुपरेकाले हरिजी खिन्न हुनुहुन्थ्यो। उहाँहरू दुवैजना आ–आफ्नो नैतिकतामा अड्नुभएको थियो। जागिर खाइरहेको कर्मचारीलाई बिरामी भएर काम गर्न नसकेकै कारणले तलब नदिनु मेरो सिद्धान्तविपरीतको काम हो भन्नुहुन्थ्यो पुष्करजी। बिनापरिश्रमको कमाइ खानुहुँदैन, काम नगरीकन तलब लिनु मेरो नैतिकता होइन भन्नुहुन्थ्यो हरिजी। चौथो महिनाको तलब लिने–दिने बेलामा पनि यही विवाद प¥यो। मैले उहाँहरू दुवैजनालाई मिलाउने प्रयास गरें। तर, दुवैजना आ–आफ्नो अडानमा बस्नुभयो। आखिर मेरै रोहबरमा हरिजीले कामना प्रकाशन समूहबाट राजीनामा दिनुभयो। राजीनामा लेख्ता हरिजीका आँखा डबडबाएका थिए र पुष्करजीका आँखा पनि रसिला थिए। यसबाट उहाँहरू दुईका बीचमा कस्तो मित्रता थियो भन्ने कुरा बुझ्न सकिन्छ। त्यो घटना मेरा लागि पनि अविस्मरणीय भएर रहेको छ।

पुष्करजीसँगको भेटमा उहाँ विशेष राजनीतिक दललाई बढी सहयोग गर्नुहुन्थ्यो भन्ने मलाई लागेन। राजनीतिक दलहरू सबैसँग उहाँको उत्तिकै राम्रो सम्बन्ध थियो। गणेशमान सिंह, पीएल सिंह, प्रकाशमान सिंह, पद्मरत्न तुलाधर, तीर्थमान ज्यापु, डा। बाबुराम भट्टराई, केपी शर्मा ओली, माधवकुमार नेपाल आदि सबैसँग उहाँको समदूरीको सम्बन्ध थियो। कलाकार र पत्रकारहरूसँग त उहाँको न्यानो आत्मीय सम्बन्ध छँदै नै थियो।

विसं २०४६ सालको जनआन्दोलनको पृष्ठभूमि तयार पार्ने, कांग्रेस र कम्युनिस्टहरूलाई पञ्चायतका विरुद्ध एकै ठाउँमा ल्याउने र कम्युनिस्ट शक्तिहरूका बीच संयुक्त मोर्चा बनाउने क्रममा नयाँ सडकमा नवीन श्रेष्ठको फोटो स्टुडियोमा बसेर विभिन्न नेता–कार्यकर्तासँग चरण–चरणमा वार्ताहरू भएका थिए। तीमध्ये केही वार्तामा म र हरिजी पनि सामेल भएका थियांै। वार्ताका क्रममा कांग्रेस र कम्युनिस्ट पक्षधर नेता–कार्यकर्ताका बीचमा विवाद भएका बखत पुष्करजी मध्यस्थकर्ताको भूमिका खल्नुहुन्थ्यो।
पुष्करजीका विषयमा अशोक सिलवालले ‘कलम’ नामक पुस्तक नै लेख्नुभएको छ। मैले त्यो पुस्तक पढेको छु। त्यसमा उहाँको संघर्षका गाथाहरू समेटिएका छन्। त्यस पुस्तकले पुष्करजीलाई राम्ररी चिन्न सघाउ पु¥याउँछ।

पुष्करजी पछिल्लो समयमा शारीरिकरूपमा अस्वस्थ हुनुभयो। त्यस बेला पनि उहाँसँग मेरो भेट भएको थियो। धेरै कार्यक्रममा उहाँको र मेरो वार्तालाप हुने गथ्र्यो।
तर, समयले असमयमा नै उहाँ जस्ता होनहार व्यक्तित्वलाई हाम्रा बीचबाट चुँडेर लग्यो। नेपाली पत्रकारिता जगत्ले एउटा राम्रो प्रतिभालाई गुमायो। उहाँको रिक्तताको पूर्ति हुन ज्यादै कठिन छ। म उहाँको आत्मशान्तिको कामना गर्दछु।
(लेखक तिमल्सिना नमोबुद्ध नगरपालिकाका प्रमुख हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्