कहाँ हुनुहुन्छ पुष्करजी ?



बबिता बस्नेत
समय, परिस्थितिले टक्क पदमा पु¥याएका भन्दा आफ्नै दुखका खुटुकीला चढ्दै माथि उक्लिएका मानिस मलाई बढी निकट झैं लाग्छन । त्यस्ता मानिसमा ढोंग कम र वास्तविकता धेरै हुन्छ । पुष्करजीलाई भेट्दा सुरुमैं मलाई यो मान्छेमा कुनै लप्पन छप्पन छैन जस्तो लागेको थियो । कामना प्रकाशन समूह प्रालिका संस्थापक तथा नेपाल समाचारपत्रका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको बारेमा ‘सेल्फ मेड मान्छे’ भनी पहिल्यै देखि सुनेकी थिएँ । कहिलेकांही कसैका बारेमा सुनेको, देखेकोे र आफुले संगत गर्दाको ब्यवहारबीच ठुलो दुरी भेटिन्छ तर पुष्करजीको सवालमा जे सुनेको हो त्यो भन्दा थप राम्रो ब्यवहार पाएकी थिएँ ।

सुरुमा पुस्करजीका बारेमा उक्त ‘इम्प्रेशन’ दिने मध्ये देवप्रकाश त्रिपाठीजी र बरिष्ठ पत्रकार पी. खरेल सर हुनुहुन्थ्यो । पछि साउथ एशियन एडिटर्स फोरमका कार्यक्रममा भाग लिने क्रममा पुस्करजीसंग केही देशहरुको यात्रा गर्ने अवसर मिल्यो । इन्टरनेशनल प्रेस इन्स्टिच्युटमा उहाँ अध्यक्ष हुँदा कार्य समितिमा बसेर काम गरियो ।

सन २००१ मा आइपीआई कंग्रेसमा भाग लिन जाँदा हामी समूहमा थियौं, पुष्करजी, हेमराज ज्ञावाली, दुर्गानाथ शर्मा लगायतको ग्रुपमा थियौं हामी । सन २००२ मा साउथ एशियन एडिटर्स फोरमको कार्यक्रममा पाकिस्तानको कराँची जाँदा पुष्करजी र म मात्रै थियौं । भ्रमण कराँचीको भएपनि डाइरेक्ट फ्लाइट नभएकाले तय गर्नु पर्ने बाटो लामो थियो, काठ्माण्डौ—दुबई—कराँची । हवाइजहाजमा किताब पढ्नु मेरो शौख र बाध्यता दुबै हो । प्रायः प्लेनमा निन्द्रा नलाग्ने र त्यतिबेला अहिले जस्तो सिटमै बसेर सिनेमा हेर्ने सुबिधा नभएकाले म किताब पढ्थें । हिजोआज किताबको अलिकति ठाउँ सिनेमाले लिने गरेको छ ।

दुबईमा ट्रान्जिट समेत लामो भएकाले दुइ वटा किताब बोकेकी थिएँ तर प्लेनमा बसे देखि पुष्करजीले यति हँसाउँनु भयो कि किताब एक पल्ट पनि खोलिएन । श्रंखलाबद्ध जोक भन्न सक्ने र हरेक कुरालाई सुनुसुनु लाग्ने गरी प्रस्तुत गर्न सक्ने उहाँको खुबीसंग म त्यस अघि पूर्णतः बेखबर थिएँ । दुबई पुगुञ्जेल हामीले चिनेका जति आधाउधी मान्छेको बारेमा कुरा ग¥यौं । ट्रान्जिटमा पनि बोल्ने र सुन्ने क्रम जारी रह्यो । घरी घरी त हामी हाँसेको सुनेर अगाडी हिडी रहेका मानिसहरुले पछाडी फर्किएर पनि हेरे । म पनि साना तिना जोक भन्ने, उहाँसंग त खानी नै हुनुहुदो रहेछ । कराँची सम्म पुग्दा पुष्करजी धेरे बर्ष देखि यात्रा गरी रहेको साथी झैं लाग्यो । एक बिहान ब्रेक फास्ट खान जाउँ भनेर उहाँलाई फोन गरें । फोन उठाउनु भएपछि पुस्करजी तपाई कहाँ हुनुहुन्छ ? जाउँ अब ब्रेक फास्ट खान भनें । उहाँले फोनमा त केही भन्नु भएन तर ब्रेक फास्ट खाँदै गर्दा मलाई कसैले कोठामा फोन गरेर कहाँ हुनुहुन्छ? भनेर सोधेको चांही पहिलो पल्टनै हो भन्नु भो । हा…हा…हई…भन्दै हाँस्यौं ।

सन २००२ मैं हो, श्रीलंकाका समुन्द्रमा पुष्करजी खुब रमाउनु भएको संझना ताजा छ । म त उहाँको फोटो ग्राफर नै भएकी थिएँ, जतिबेला पनि ल अब यहाँ त एउटा फोटो खिच्नै प¥यो भनेर पोज दिइ हाल्ने । श्रीलंकाबाट फर्कदा हामी उहाँका नातेदारहरुसंग दुई दिन बस्यौं । उहाँहरु इन्डोनेशियामा केही बर्ष काम गरेर बैंककमा कुनै अन्तराष्ट्रिय संस्थामा काम गरि रहनु भएको थियो । एक दिन घुम्दै जाँदा बजारमा नरिवल पानी खाई रहेका थियौं । म नरिवल दिने ब्यक्तिलाई हेरि रहेकी थिएँ, उ यति छिटो नरिवलको टुप्पोमा गोलो बनाई रहेको थियो कि मैंले उहाँहरुलाई हेर्दै भनें हेर्नुस न यो मान्छेले कति छिटो नरिवल छिलेको? पुष्करजीले उसलाई हेर्दै भन्नु भो—‘भयो छोडिदिनुस, यसलाई सम्पादकीय लेख्न लगायो भनें मरेपनि लेख्न सक्दैन ।’ एयरपोर्टमा लगेज लिने बेलामा तपाई भन्दा म नै दह्रो छु भन्दै मैंले नै उहाँको ब्याग उचालेर निकाल्थे । श्रीलंका एयरपोर्टमा उहाँले मानिसहरुले मलाई यो मान्छे कस्तो रैछ, महिलालाई सुटकेश बोक्न लगायो भनें होला भन्नु भो । मैंले भनें—होइन, यस्तो लोडर साथमा लिएर हिडेको यो पक्कै पनि धेरै ठुलो मान्छे रै’छ भनें होला नि ।

शृंखलाबद्ध जोक भन्न सक्ने र हरेक कुरालाई सुनौं–सुनौं लाग्ने गरी प्रस्तुत गर्न सक्ने उहाँको खुबीसँग म त्यसअघि पूर्णतः बेखबर थिएँ । ं

स्लोभेनियामा जस्तो लाग्छ, यो पनि २००२ कै कुरा हो । बिहान कार्यक्रम स्थलतिर जादै गर्दा उहाँले हजुरबुवा, आमाले फोन गरेर बिउझाउनु भएको बताउनु भएपछि हामीले तपाई त बच्चै हुनुहुन्छ पुष्करजी भनेका थियौं । स्लोभेनियामा पद्मसिंह कार्की दाई (आइपीआइका तात्कालिन उपाध्यक्ष), मिडिया प्वइटका अर्जुन बिष्ट, म र पुष्करजी थियौं । फर्किदा उहाँ भियनामा आफन्तलाई भेट्न केही दिन बस्नु भो, हामी फर्कियौं । डाइभिटिजका कारण खानामा पुष्करजी अति ख्याल गर्नु हुन्थ्यो, ब्रेक फास्टमा सधै पाउरोटी । कहिलेकांही फोनमा कुरा गर्दा म पाउरोटी खानु भो? भनेर सोध्थें । किनमेलका लागि बजार जाँदा सबै भन्दा पहिला उहाँ आफ्नी पत्नी राजेश्वरीलाई सामान किन्नुहुन्थ्यो । प्रायः कुराकानीमा उहाँ पत्नीको कुरा गरी रहनुहुन्थ्यो । उहाँहरुको प्रेम र बिवाहको कथा पहिलो भ्रमणमैं सुनाउनु भएको थियो । मेरो श्रीमती यसो भन्छिन, उनलाई यो मन पर्छ भनी रहनुहुन्थ्यो ।

यी त भए अनौपचारिक कुरा । कार्यक्रममा प्रायः उहाँको प्रस्तुती हुने गथ्र्यो, आफ्नो प्रस्तुती नसकिउन्जेल उहाँ आफुले बोल्ने कुराको तयारी गरि रहनुहुन्थ्यो । उहाँको प्रस्तुती छोटो तर धेरै कुरा समेटिएको हुन्थ्यो । राष्ट्रियता जहिले पनि उहाँको आधार लाईन थियो जस्तो लाग्छ । बिदेशमा देशको शानलाई कसरी उच्च राख्ने भन्ने कुरामा उहाँ धेरैनै सजग हुनुहुन्थ्यो । नराम्रा कुरा यीनीहरुलाई सुनाएर के हुन्छ र? सुधार हामी आफैले गर्ने हो भन्नुहुन्थ्यो । फर्किएपछि सधै कम्तिमा एउटा लेख लेख्नुहुन्थ्यो । म पनि लेख्ने, उहाँ पनि लेख्ने, लेखमा भ्रमण र कार्यक्रमका बारेमा हाम्रा आ–आफ्ना धारणा र दृष्टिकोणहरु हुन्थे । प्रकाशित भएपछि हामी एकार्काको तारिफ गथ्र्यौं । पुष्करजीसंग कार्यालय वा घरमा भेट्दा मात्र होइन फोनमा कुरा गर्दा पनि एक प्रकारको ‘पोजेटिभ भाइभ’ महशुस हुन्थ्यो ।

मैंले भेट्दा पुष्करजीहरु छाउनी नजिक बस्नुहुन्थ्यो । पछि भैंसिपाटीमा घर बनाउनु भयो । भैंसिपाटीको घर पहिलाको भन्दा ठुलो र आकर्षक थियो । हरेक कोठाका फरक बिशेषता बताउदै पुष्करजीले आफ्नो बुढेसकाल बिताउन बनाउनु भएको घर देखाउनु भएको संझिदा अहिले मनै चिसो भएर आउँछ । उहाँले परिकल्पना गर्नु भएको रिटायर्ड लाईफ सुरुनै नभई उहाँले संसार छोडेर जानु भयो । ब्यवसायिक जीवनमा सफल उहाँका पछाडी संघर्षको लामो कथा जोडिएको छ । ब्यवसायिक जीवनमा पत्रकारिता बाहेक उहाँले अर्को कल्पना गर्नु भो जस्तो लाग्दैन । त्यही ब्यवसायिक जीवनमा अल्झिएर घर परिवारमा समय दिन नसकेको कुरा उहाँले धेरै पल्ट बताउनु भएको थियो ।

अकस्मातै हामीबाट टाढा हुनु भएका पुष्करजीको जीवनबाट मात्र होइन मृत्युबाट पनि सिक्नु पर्ने पाठहरु धेरै छन । हामी रात दिन दौडधुप गर्छौं, आफ्नो बारेमा सोच्न र निकटवर्ती, आफन्तहरुलाई भेट्न हामीलाई फुर्सद छैन । हामी भबिष्यमा आनन्दले बस्ने भन्दा भन्दै बर्तमानमा राम्ररी बाँची रहेका छैनौं । तर हामीले सोचेको भोली नआउन पनि सक्छ जसरी पुष्करजीका भोलीका लागि देखेका अनेक सपनाहरु उहाँसंगै गए । उहाँ यति चाँडै हामीबाट यसरी टाढा हुनु होला भन्ने सोचेकै थिइन । उहाँ कहिल्यै नफर्किने गरी गइ सकेपछि अहिले सोध्न मन छ, कहाँ हुनुहुन्छ पुष्करजी?

प्रतिक्रिया दिनुहोस्