प्रयोगधर्मी पत्रकार पुष्करलाल श्रेष्ठ



डा. महेन्द्र विष्ट
समकालीन नेपाली पत्रकारितामा पुष्करलाल श्रेष्ठलाई प्रयोगधर्मी पत्रकारका रूपमा लिन सकिन्छ । वर्षभरि हिसाव गर्दा पनि औंलामा गन्न सकिने गरी अत्यन्तै न्यून संख्यामा नेपाली सिनेमा बन्दै गरेका बेला सिने म्यागेजिन कामना लिएर नेपाली पत्रकारितामा प्रवेश गरेका पुष्करलालले त्यसलाई नयाँ आयामसहित विस्तार गर्दै लानुभयो ।

कामनाको सहप्रकाशन महानगर सन्ध्याकालीन पत्रिका अहिलेको जस्तो टेलिभिजनको ब्रेकिङ समाचार, न्युज फ्लास वा प्रत्येक घन्टाको समाचार बुलेटिन या अनलाइन, एफएम रेडियो वा सामाजिक सञ्जाल नभएका बेला सूचनाको अपडेट गराउने प्रमुख र लोकप्रिय माध्यम बनेको थियो । खोज पत्रकारिताको सशक्त हस्ताक्षरका रूपमा साधना म्यागेजिन पुष्करलालको अर्को नयाँ प्रयोग थियो । खोज पत्रकारितालाई साधनाले स्वास्थ्य क्षेत्रको विशिष्टीकरण प्रस्तुति दियो, जुन अर्को प्रयोग थियो नेपाली पत्रकारितामा ।

त्यतिमा सीमित थिएन पुष्करलालको प्रयोग । आजको समाचारपत्र ब्रोडसिट दैनिक पत्रिकाका रूपमा नेपालमा पहिलो प्रयोग नभए पनि नयाँ अभ्यास थियो । गोरखापत्रको एक्लो वर्चस्व तोड्दै कान्तिपुर निजी क्षेत्रको पहिलो ब्रोडसिटका रूपमा आएको थियो भने श्री सगरमाथा र लोकपत्रसँगै प्रतिस्पर्धामा उत्रिएको थियो– आजको समाचारपत्र, जुनसँगै आएका अरू पत्रिका बन्द भए पनि नेपाल समाचारपत्रका रूपमा अझै पनि निरन्तर छ ।

ब्रोडसिट पत्रिकासहित थुप्रै पत्रपत्रिकाको प्रकाशन गृहका सञ्चालक पुष्करलाल श्रेष्ठसँग मिडिया उद्यमी र प्रधान सम्पादक भएर मिडिया व्यवसायी र व्यावसायिक पत्रकारको सन्तुलित भूमिका एकसाथ निभाउने कुशल व्यक्तिको पहिचान पनि छ । पत्रकारिताको अभ्याससँगै मिडिया सोसाइटीको अध्यक्ष र अन्य हैसियतमा उहाँले पत्रकारितामा नेतृत्वदायी भूमिका पनि खेल्नुभएको छ, जुन अर्को प्रयोग र पहिचान हो । कलम पुस्तकले लेखकको चिनारी पनि थपिदिएको छ उहाँको खातामा छ ।

हरेक व्यक्तिका जीवनमा आरोह–अवरोह हुन्छन्, गुण र दोष हुन्छन्, मन पर्ने र नपर्ने कुरा पनि हुन्छन् । पुष्करलाल त्यसमा अपवाद हुनुहुन्थ्यो भन्नु अत्युक्ति हुन्छ । तर, त्यसको जोडघटाउ गर्दा पनि उहाँ एउटा असल, स्मरणीय र आदरणीय पत्रकारका रूपमा सम्झनामा रहिरहनुहुन्छ भन्न हिच्किचाउनुपर्ने अवस्था छैन । उहाँको अभाव नेपाली पत्रकारितामा लामो समयसम्म खड्किरहने छ ।

मेरो पत्रकारिताको करिव एकदशक समय नेपाल समाचारपत्रमा वितेको छ । त्यस क्रममा हार्दिक र घनीभूत सम्बन्ध रह्यो पुष्करसरसँग । कामको सम्बन्ध र सिलसिला मात्र थिएन हामीबीचमा । उठबस, अन्तरक्रिया, सुख–दुःख आदि अनेक क्रम रहे । कतिपय सन्दर्भमा गम्भीर विमति पनि रह्यो । तर, त्यसलाई व्यक्तिगतरूपमा नभई तत्कालीन सन्दर्भ र नियतिका रूपमा मात्र लिनु पर्दछ भन्ने लाग्दछ ।

नेपाल समाचारपत्र समकालीन नेपाली पत्रकारितामा भिन्न धारको पत्रिका हो । यसले बेलबखतमा अरूले नसोचेको र नआँटेको काम पनि गरेको छ । मदन भण्डारीको रहस्यमय मृत्युका बेलामा महानगरले गरेको कभरेज र दरबार हत्या काण्डमा नेपाल समाचारपत्रले गरेको ब्रेकिङ आज पनि नेपाली पत्रकारितामा महत्वपूर्ण अध्यायका रूपमा लिइन्छ । माओवादी जनयुद्धको समयमा पनि नेपाल समाचारपत्रको विषयवस्तु अन्य पत्रिकाभन्दा भिन्न र व्यावसायिक थियो । यो पुष्करलाल श्रेष्ठको भिजन, निडरता र सोचको प्रतिफल थियो ।

जन्मपछि मृत्यु अनिवार्य सर्त हो । यो अपरिवर्तनीय, अपरिहार्य र अकाट्य प्रक्रिया हो । यसलाई सार्न सकिन्छ कहिलेकाहीँ, तर टार्न सकिन्न । यो अन्तिम सत्य हो । हामी सबैले यो सत्यलाई आत्मसात गर्नै पर्दछ । पुष्करलाल श्रेष्ठले पनि यो प्रक्रियाबाट गुज्रिनैपर्ने थियो, तर छिटो भयो । केवल ६१ वर्षको उमेरमा उहाँको अवसानले मर्माहत बनाएको छ । उहाँबाट नेपाली पत्रकारिताले अझ धेरै पाउन सक्ने थियो, त्यो अवसर गुमेको छ । पुष्करलाल श्रेष्ठको असामयिक निधन परिवारका लागि मात्र होइन, सिंगो नेपाली पत्रकारिता र नेपाली समाजका निम्ति अपूरणीय क्षति हो ।

नेपाली पत्रकारितामा अलग पहिचानका साथ विशिष्ट योगदान पु¥याउनुभएका प्रयोगधर्मी पत्रकार पुष्करलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली एबं शोकाकूल परिवारजनमा गहिरो समवेदना ! अलबिदा पुष्कर सर !!!

(नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्ट नेपाल समाचारपत्रमा कार्यकारी सम्पादक हुनुहुन्थ्यो)

प्रतिक्रिया दिनुहोस्