शैक्षिक प्रमाणपत्र लिएर युवालाई ऋण   



बेझाड, पाल्पा,  पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उहाँले सङ्गाल्नुभएको छ । अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ ।

अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई शैक्षिक प्रमाणपत्र धितोमा लिएर व्यवसाय गर्न ऋण दिने निर्णय ग¥यो । यो खबरबाट उत्साहित अधिकारीमा यो अवसरलाई उपयोग गर्ने सोच पलायो ।

गाउँपालिकाबाट रु एक लाख पाएपछि उहाँले गोलभेँडा खेती र माछापालन व्यवसाय शुरु गर्नुभयो । ऋणका लागि आफन्त, साथीभाइ कसैलाई पनि गुहार्न नपरेपछि खुशी हँुदै उहाँ व्यवसायमा लाग्नुभएको हो ।

“गाउँपालिकाले शैक्षिक प्रमाणपत्र धितोमा लिएर व्यवसाय गर्न ऋण सहयोग गरेपछि मलाई ठूलो हौसला मिलेको छ,” उहाँले भन्नुभयो – “यसरी ऋण सहयोग पाएपछि पढेर कुनै जागीर खानु नै पर्छ भन्ने छैन । पढाइका अनुभव समेतलाई उपयोग गर्दै व्यवसाय गरेर राम्रो कमाइ गर्न सकिन्छ ।”

उहाँले अहिले तीन वटा प्लाष्टिक टनेलमा गोलभेँडा खेती लगाउनुभएको छ भने दुई वटा पोखरीमा माछा पाल्नुभएको छ ।

तीन रोपनी क्षेत्रफलमा मकैको मूल बीउ उत्पादन गरिराख्नुभएकी उहाँले अघिल्लो वर्ष यसै व्यवसायबाट दुई लाख जति कमाइ गरेको जानकारी दिनुभयो ।

“पहिला जागीरका लागि प्रमाणपत्र हातमा लिएर धेरै ठाउँ भौँतारिएँ, योग्यता भन्दा पनि आफन्त र नजीकका व्यक्तिलाई मात्र स्थान दिँइदो रहेछ,” उहाँले भन्नुभयो – “अहिले गाउँपालिकाले शैक्षिक योग्यताको कदर गरेर व्यवसाय गर्न ऋण दिएको छ । मलाई निकै खुशी लागेको छ ।”

दश वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेर गाउँ फर्कनुभएका शोभाखर बस्यालले बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोकमा शैक्षिक प्रमाणपत्र धितो राखेर अन्य चारजना युवकका साथमा सामूहिक कृषि तथा पशुपालन व्यवसाय शुरु गर्नुभएको छ । उहाँहरूले एकीकृत कृषि तथा पशुपालन फार्म दर्ता गरी व्यवसाय थाल्नुभएको हो ।
शैक्षिक प्रमाणपत्र धितो राखेर गाउँपालिकाले रु चार लाख बिना व्याज दुई वर्षका लागि ऋण सहयोग गरेपछि आफूहरूलाई हौसला मिलेको बस्यालले बताउनुभयो ।

उहाँहरुले समूहमा ३३ रोपनी जग्गामा काँक्रा, करेला, घिरौंला, बोडी, सिमी, खुर्सानी लगायतका तरकारी लगाउनुभएको छ । छ वटा उन्नत जातका भैंसी र एउटा गाई पनि पाल्नुभएको छ । फार्मबाट हाल दैनिक ४० लिटर जति दुध बिक्री भइरहेको छ ।

“गाउँपालिकाले युवालाई घरमै बसेर व्यवसाय गर्न यो कार्यक्रम शुरु गरेकामा सा¥हैै खुशी लागेको छ,” बस्यालले भन्नुभयो – “अब विदेश पलायन हुने दरमा पनि कमी आउने छ । पढेर जागीर नै खानुपर्छ भन्ने पनि छैन ।”

दुःख गरी पढेर पनि धेरैले जागीर पाउँदैनन् । अर्कोतर्फ कतिपयसँग व्यवसाय गर्न पूँजी हुँदैन । युवा जमात बेरोजगारी समस्याको मारमा परिरहेको अवस्थामा यस्ता खालका कार्यक्रम उनीहरूका लागि ठूलो राहत भएको छ ।

गाउँपालिकाले युवा स्वरोजगारलाई लक्ष्य गरी आर्थिक वर्ष २०७४/७५ मा सात लाख रकम विनियोजन गरेको थियो जसमध्ये बगनासकाली युवा कृषक समूह बगनासकाली पोखराथोकलाई कृषि तथा पशुपालन व्यवसायका लागि रु चार लाख, बगनासकाली २ पोखराथोक बस्ने सचिना अधिकारीलाई माछापालन तथा तरकारीखेतीका लागि रु एक लाख र पोखराथोककै भगवान् गैरेलाई अण्डा उत्पादनका लागि रु एक लाख रकम उपलब्ध गराएको छ ।

बगनासकाली वडा नं ९ बस्ने हरि बस्याललाई बाख्रापालन शीर्षकमा रु एक लाख रकम उपलब्ध गराएको थियो । बस्यालले ऋण लिइसकेपछि बीचमै व्यवसाय छाडेकाले सो रकम फिर्ता लिइएको बगनासकाली कृषि शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिनुभयो ।

फिर्ता गरिएको रकम यस वर्ष बगनासकाली ६ यम्घामा सञ्चालित जागृत कृषि तथा पशु विकास फार्मलाई व्यवसाय विस्तारका लागि प्रदान गरिएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/७६ मा बगनासकाली ५ दर्लमडाँडा बस्ने देवेन्द्र कोइरालालाई तरकारीखेती गर्न रु एक लाख र बगनासकाली ६ यम्घाका खगराज बस्याललाई आधुनिक अकबरे खुर्सानी उत्पादनका लागि रु एक लाख प्रदान गरिएको छ ।

यस कार्यक्रमले कृषिमा युवाको आकर्षण एवं उत्साह बढाइदिएको छ । पछिल्लो समय कृषकले पनि व्यवसाय विस्तार गर्दै गएको पाइएको कृषि शाखा प्रमुख जिसीको अनुभव छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको रकम दुई वर्षभित्र बिना व्याज ऋणीले गाउँपालिकालाई बुझाउनुपर्ने प्रावधान छ ।
उद्देश्यभन्दा विपरीत काममा लगाएको पाइएमा लिएको रकममा पाँच प्रतिशत जरिवानासहित गाउँपालिकालाई बुझाउनुपर्ने छ । उद्देश्यअनुसार राम्रो गर्ने व्यवसायीलाई पाँच प्रतिशत रकम छुट दिइएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

“काम नपाएर पढेलेखेका युवा विदेश पलायन हुने दर बढ्न थालेपछि उनीहरुलाई आयमूलक व्यवसायमा उत्प्रेरित गर्न यो कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष बस्यालले भन्नुभयो ।

शैक्षिक प्रमाणपत्र धितो राखेर बिना व्याज दुई वर्षसम्मका लागि ऋण पाउने सुविधा भएपछि युवालाई यो कार्यक्रमले व्यवसाय थाल्न ऊर्जा थपिदिएको छ । शिक्षित युवामाझ स्वरोजगार सिर्जना गर्ने महत्वपूर्ण यो एउटा अचूक उपाय सावित भएको छ ।

विशेषतः उद्यम गर्ने चहाना भएका परिश्रमी तर पूँजी नभएर अन्यौलमा परेका युवाका लागि लक्ष्यित यो कार्यक्रमले रोजगारीका खोजीमा विदेश भौँतारिनु पर्ने बाध्यतालाई अन्त्य गर्न सक्छ भन्ने थुप्रै उदाहरण भेटिइसकेको छ । यस्ता कार्यक्रमले स्वदेशी श्रम र शीपलाई राष्ट्रको विकासमै उपयोग पनि अवसर पनि प्रदान गर्नेछ ।
रासस

प्रतिक्रिया दिनुहोस्