उड्ने, गुड्ने र बिलाउने एभेन्जरले के शिक्षा दिएको छ ?



झरना थापा

२ दशकभन्दा लामो समयसम्म विभिन्न फिल्ममा सफल नायिकाका रूपमा काम गरेपछि होम प्रोडक्सनको फिल्म ए मेरो हजुर–२ बाट निर्देशन यात्रामा अगाडि बढेकी झरना थापा डेब्यु फिल्मबाटै सफल भइन्। त्यसबाट हौसिएर फेरि होम प्रोडक्सनबाटै उनले निर्देशन गरेको दोस्रो फिल्म ए मेरो हजुर – ले वाहवाही मात्र पाएन, बक्स अफिसमा राम्रो कलेक्सन गरेर देखाइदियो। पछिल्लो समयमा नेपाली फिल्म व्यावसायिकरूपमा असफल भइरहेको समयमा उनको ए मेरो हजुर–३ ले भने आशाको किरण देखायो भने फिल्म राम्रो भए चल्छ भन्ने उदाहरण पनि देखाइदियोे।

तेस्रो सातामा समेत राम्रो व्यापार गरिरहेको बेला हलिउड फिल्म एभजेन्जर इन्ड गेमले नेपाली सिने बजारमा प्रवेश गरेपछि यसको शोज खुम्चिएको छ र पनि भएका शोजमा यसले दर्शक पाइरहेकै छ। यिनै विषयमा अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापासँग नेपाल समाचारपत्रका लागि संवाददाता रश्मी थापाले गरेको कुराकानी ः

ए मेरो हजुुर–३ को व्यापार कस्तो छ?

ए मेरो हजुर–३ ले एकदमै राम्रो व्यापार गरेको छ। यसले अहिले आफ्नो लगानी उठाइसकेको छ। यसको कथा, विषयवस्तु र अनमोल, सुहानालगायत टिमको काम दर्शकले मन पराइदिनुभयो।

ए मेरो हजुर–२ देखि ३ सम्म आइपुग्दा निर्देशकका रूपमा स्थापित भएजस्तो लाग्छ?

निर्देशकका रूपमा स्थापित भएँ भन्दा पनि आफूले गरेको काम सफल हुनुपर्छ भन्ने सबैलाई लाग्छ। ए मेरो हजुर–३ पनि सफल भयो। नेपाली फिल्म क्षेत्रमा मेरो २२÷२३ वर्ष एक्टिङको अनुभव थियो। यही अनुभवबाट निर्देशनमा लागें र मेरो काम दर्शकले मन पराउनुभएको छ।

ए मेरो हजुर–३ को सफलताबाट सबैभन्दा बढी फाइदा कसलाई भयो?

यो फिल्मको सफलताबाट सबै जनालाई फाइदा पुगेको छ। छोरी सुहानालाई लिएर काम गरेका थियौं। उसको काम दर्शकले मन पराइदिनुभयो। सुहाना, अनमोल, मलगायत फिल्मको सम्पादन पक्षदेखि टिम सबैलाई फाइदा पुगेको छ।

ए मेरो हजुर–२ देखि ३ सम्म आउँदा बाहिरको फिल्मबाट निर्देशनका लागि अफर छ कि छैन?

बाहिरको फिल्मबाट पनि अफर आएको छ। तर, एक डेढ वर्षको ग्यापमा एउटा फिल्म होम प्रोडक्सनबाटै बनाउने भन्ने सुनील (कुमार थापा) जी र मेरो सल्लाह भएको छ। वैशाख २६ गते अर्को फिल्म निर्माणको घोषणा गर्दै छौं, जसको नाम कि भागवत गीता कि ए मेरो हजुर–४ हुनेछ।

फिल्म राम्रो चलिरहेकै बेला हलिउड फिल्म एभेन्जरलले थिच्दा कस्तो लागेको छ?

हाम्रो फिल्म लागेर पनि सफल भइसकेको हुँदा यसले असर परेन। फिल्मले दर्शकबाट माया पाइसकेको छ। तर पनि नेपाली फिल्म बलिउड, हलिउड फिल्मको चपेटामा पर्न पर्न बाध्य छ। अहिले सबै हल हलिउड फिल्म एभेन्जसर इन्डगेमले क्याप्चर गरेको छ। त्यसका सबै टिकट सोल्ड भइसकेका छन्। नेपाली फिल्म समीक्ष्ँक तथा पत्रकारहरू एउटा नेपाली फिल्म प्रदर्शन हुने बेलामा तपाईंको फिल्म केबल मनोरञ्जनका लागि मात्र हो?

यसमा के सामाजिक कथा व्यथा बोकेको छ? समाज परिवर्तन ल्याउने के शिक्षा छ भनेर प्रश्न गर्नुहुन्छ। तर अहिले प्रदर्शन भइरहेको हलिउड फिल्मले चाहिँ के शिक्षा दिन्छ? पुरै उडिरहेको, गुडिरहेको र बिलाएको मात्र सिन समावेश भएको फिल्म दर्शकहरू यति क्रेजका साथ हेर्न जादाँचाहिँ हामीलाई यसले के शिक्षा दिएको छ भन्ने प्रश्न गर्न चाहन्छु।

प्रतिक्रिया दिनुहोस्