भुकम्पको चार वर्ष: ३४ प्रतिशत मात्रै विद्यालय निर्माण



बुद्ध नेपाली, सिन्धुली ।
सिन्धुली जिल्लामा भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम आधा पनि सकिएको छैन् । चार वर्षअघिको भूकम्पबाट भत्किएका विद्यालयको पुन निर्माणमा ढिलाइ हुँदा सामूदायिक विद्यालयका विद्यार्थीहरु अझै पनि अस्थायी टहरा र भग्नावशेष भवनमा बसेर पढ्न बाध्य छन् ।

विसं २०७२ साल बैशाख १२ र २९ गतेको भूकम्पले जिल्लामा क्षति भएका विद्यालय भवन मध्ये हाल सम्म ३४ प्रतिशत विद्यालय मात्रै निर्माण भएका छन् । भुकम्पका कारण जिल्लामा क्षति भएका कुल ५ सय ३५ विद्यालयको ३ हजार २ सय ४८ कक्षा कोठा मध्ये १ सय ८२ विद्यालयको १ हजार १ सय कक्षा कोठा मात्रै निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा)का इन्जिनियर तथा सुचना अधिकारी अनिल कुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार २ सय ११ विद्यालयका ७ सय ११ वटा कक्षाकोठा निर्माणाधिन अवस्थामा रहेका छन् । प्राधिकरणले १ सय ९९ विद्यालय, शिक्षा विकास तथा समन्वय इकाइले १३ वटा, अन्तर्रा्ष्ट्रिय तथा गैरसकारी संस्थाले ३४ विद्यालय र एशियाली विकास बैंक (एडिबी)ले २९ विद्यालयको पुनःनिर्माणको जिम्मा लिएका उहाँले बताउनुभयो ।

जिल्लाको भौगोलिक विकटताका कारण समयमा नै निर्माण सामग्री पु¥याउन नसक्नु, ढुवानी गर्न कठिन, दक्ष जनशक्ति अभाव जस्ता कारणले पुनः निर्माणको काममा ढिलाइ भएको उहाँले बताउनुभयो । यूएसएआईडीले पुनःनिर्माणको जिम्मा पाएको ३ वटा विद्यालय निर्माणको काम अझै सुरु नभएको उहाँले जानकारी दिनुभयो ।

एक बर्ष अगाडी देखि जिम्मा लिएको दिर्घ प्रदिप माध्यमिक विद्यालय खाल्टे, माध्यमिक विद्यालय लुम्ती पोखरी र भानु माध्यमिक विद्यालय रतनपुरको विद्यालय निर्माणको काम अहिले सम्म सुरु नभएको उहाँले बताउनुभयो ।

भूकम्पका कारण जिल्लाका ५ सय ४२ कक्षाकोठा पूर्णरूपमा क्षति हुनाका साथै अधिक क्षतिको संख्या १ हजार ६ सय ७२, सामान्य क्षतिको सङ्ख्या १ हजार ३ सय ६४ र क्षति नभएको कक्षा कोठा १ हजार ५ सय २४ छन् ।

प्रतिक्रिया दिनुहोस्