गाउँपालिकाद्वारा तीन सय विपन्न परिवारको बीमा        



दमौली, तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न घरधुरीको स्वास्थ्य बीमा गराएको छ । आर्थिक रूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा ३०० घरपरिवारको बीमा गराएको हो ।

आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छ वडाबाट ५०÷५० घरधुरी छनोट गरी स्वास्थ्य बीमा गराइएको छ । स्वास्थ्य बीमाका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु सात लाख ५० हजार लगानी गरेको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरीब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिनुभयो ।

वार्षिक रुपमा ३०० घरपरिवारको रु सात लाख ५० हजार शुल्क गाउँपालिकाले बेहोर्नेछ ।

तनहुँमा विसं २०७४ भदौ १ गतेबाट स्वास्थ्य बीमा शुरुआत भएको थियो । तनहुँ जिल्लामा हालसम्म १० हजारभन्दा बढी घरधुरी स्वास्थ्य बीमामा आबद्ध भइसकेको स्वास्थ्य बीमा कार्यालयले तनहुँले जनाएको छ । तनहुँमा दमौली अस्पताल, बन्दीपुरस्थित बन्दीपुर अस्पताल, भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, भानु नगरपालिकाका पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।

तनहुँमा २२ प्रतिशत निजी आवास पुनःनिर्माण

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पको चार वर्ष पूरा हुँदा तनहुँमा २२ प्रतिशत निजी आवास पुनःनिर्माणको काम सम्पन्न भएको छ । लाभग्राहीको सूचीमा परेकामध्ये तीन हजार ९१ लाभग्राहीको निजी आवास निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ तनहुँले जनाएको छ ।

तनहुँमा पुनःनिर्माणतर्फ १३ हजार ८८१ र प्रवलीकरणतर्फ ४६६ लाभग्राही पहिचान भएकामा तीन हजार ९१ लाभग्राहीको घर निर्माण सम्पन्न भएको एकाइका निमित्त प्रमुख दीपेन्द्रकुमार रोहिताले जानकारी दिनुभयो । कार्यालयका अनुसार व्यास नगरपालिकामा ७३९, भानु नगरपालिकामा ७२०, बन्दीपुर गाउँपालिकामा २४१, आँबुखैरेनी गाउँपालिकामा ३३१, देवघाट गाउँपालिकामा ४२, घिरिङ गाउँपालिकामा ५८, भिमाद नगरपालिकामा ११२, म्याग्दे गाउँपालिकामा २६०, शुक्लागण्डकी नगरपालिकामा ३३४ र रिसिङ गाउँपालिकामा १०४ घर निर्माण सम्पन्न भएको छ ।

कार्यालयका अनुसार आँबुखैरेनी गाउँपालिकामा ७१०, बन्दीपुर गाउँपालिकामा ६०९, भानु नगरपालिकामा दुई हजार २१९, शुक्लागण्डकी नगरपालिकामा एक हजार ८५९, भिमाद नगरपालिकामा ९८७, घिरिङ गाउँपालिकामा २५४, रिसिङ गाउँपालिकामा ६८०, म्याग्दे गाउँपालिकामा एक हजार २९२, व्यास नगरपालिकामा दुई हजार ४८६ र देवघाट गाउँपालिकामा ७२५ लाभग्राही पुनःनिर्माणका लागि छनोट भएका छन् ।

कार्यालयका नासु रामहरि खनालका अनुसार १२ हजार ८६५ ले पहिलो, छ हजार ९७० ले दोस्रो र तीन हजार ९१ लाभग्राहीले तेस्रो किस्तावापतको रकम बुझेका छन् । प्रवलीकरणअन्तर्गत व्यास नगरपालिकाका १४९, भानु नगरपालिकामा १२, शुक्लागण्डकी नगरपालिकाका एक, म्याग्दे गाउँपालिकाका ३३, आँबुखैरेनी गाउँपालिकाका पाँच, बन्दीपुर गाउँपालिकाका ३२ र देवघाट गाउँपालिकाका सात लाभग्राहीले पहिलो किस्तावापतको रकम बुझेका छन् ।

सात हजार गुनासो

पुनःनिर्माणको लाभग्राहीमा नपरेका सात हजार ७३४ लाभग्राहीले एकाइमा गुनासो दर्ता गरेकामा ८४१ लाभग्राहीको गुनासो फछ्र्यौट भएको छ । जसमध्ये छ हजार १४२ लाभग्राहीको सर्वेक्षण गर्नुपर्ने र ७५१ लाभग्राहीलाई गैरलाभग्राही कायम गरिएको एकाइ प्रमुख रोहिताले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार सबैभन्दा बढी गुनासो व्यास नगरपालिकाबाट र सबैभन्दा कम घिरिङ गाउँपालिकाबाट आएको छ । व्यास नगरपालिकाबाट २१८, भानु नगरपालिकाबाट १४४, शुक्लागण्डकी नगरपालिकाबाट ५६, भिमाद नगरपालिकाबाट १३३, रिसिङ गाउँपालिकाबाट ५१, म्याग्दे गाउँपालिकाबाट २१, आँबुखैरेनी गाउँपालिकाबाट १६०, बन्दीपुर गाउँपालिकाबाट ३५, घिरिङ गाउँपालिकाबाट सात र देवघाट गाउँपालिकाबाट १६ गुनासो दर्ता भएका थिए ।

यसैगरी एकाइले सडक निर्माण आयोजनातर्फ भिमाद भानुमती सडक स्तरोन्नतिको काम समेत गरिरहेको छ । १७.६७ किमी सडक स्तरोन्नतिको काममध्ये १६ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । सडक स्तरोन्नतिका लागि सपना महादेव खिम्ती जेभी काठमाडौँले २०७५ असार २९ गते रु ३० करोड २८ लाख ८१ हजार १२७ मा सम्झौता गरेको थियो ।

यसैगरी जिल्ला आयोजना कार्यान्वयन एकाइ गोरखा (भवन) मार्फत तनहुँमा दुई सरकारी कार्यालयका भवन निर्माण सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौली र डिभिजन वन कार्यालय तनहुँको भवन निर्माण सम्पन्न भएको एकाइका इञ्जिनीयर विपीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार घरेलुको भवन रु एक करोड ७७ लाखमा र डिभिजन वन कार्यालयको भवन रु दुई करोड ९२ लाखमा सम्पन्न भएको छ । एकाइमार्फत तनहुँमा दुई सरकारी भवन निर्माणाधीन अवस्थामा रहेको छ । जिल्ला कारागार महिला बन्दीगृह र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको भवन निर्माणको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । महिला बन्दीगृह निर्माणका लागि रु सात करोड ३१ लाख र खानेपानीको भवन निर्माणका लागि रु दुई करोड ५१ लाखमा सम्झौता भएको छ । दुवै कार्यालयको निर्माणकार्य ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

१६८ विद्यालय पुनःनिर्माण

तनहुँमा हालसम्म १६८ विद्यालय भवन पुनःनिर्माण भएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख सूर्यप्रसाद क्षेत्री रानाभाटका अनुसार भूकम्पले भत्किएका २९७ विद्यालयमध्ये १६८ विद्यालय भवन निर्माण सकिएको छ । चालू आवमा सक्ने लक्ष्यका साथ ४९ विद्यालयको भवन निर्माणको काम भइरहेको उहाँले जानकारी दिनुभयो । हालसम्म विद्यालय पुनःनिर्माणमा मात्र रु १२ करोड ७६ लाख ९१ हजार निकासा भएको छ । भूकम्पले भवनमा क्षति पु¥याएपछि पठनपाठनमा कठिन भएका विद्यालयलाई प्राथमिकता दिएर पुनःनिर्माण गरिएको उहाँले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्