चौरजहारी अस्पताललाई तीन सय शैैयाको बनाईने



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारीमा रहेको ५० शैयाको अस्पताललाई तिन सय शैयाको बनाइने भएको छ । चौरजहारीमा भएको एक कार्यक्रममा अस्पताल प्रशासनले रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी ३०० शैयाको अस्पताल बनाउने योजना रहेको बताएको छ ।

अस्पतालले नयाँ भवन उद्घाटन समारोहमा आगामी योजना सार्वजनिक गरेको हो । कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले चौरजहारी अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाइने बताउनुभएको छ । अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री ज्वालाले रुकुम पश्चिम, सल्यान र जाजरकोटको केन्द्रमा रहेको यस अस्पताललाई सुविधासम्पन्न बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको हो ।

मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित यस अस्पतालले मातृ तथा शिशु स्वास्थ्यमा राम्रो काम गरेको भन्दै अझ गुणस्तरीय सेवा प्रदान गर्न मन्त्री ज्वालाले आग्रह गर्नुभयो । अस्पतालको साझेदारी संस्था डीएमएच जर्मनीको कूल तीनकरोड ३८ लाख रुपैयाँ लगानीमा अस्पतालले नयाँ भवन निर्माण गरेको हो ।

अस्पतालको अन्य भौतिक संरचनाको विकास गर्न स्थानीय आसपासका स्थानीय तहहरुले पनि साझेदारी गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भवन शिलान्यास कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यहरु गोपाल शर्मा, रातो कामी र देवी ओली, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा, चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, मानव विकास तथा सामुदायिक सेवाका संस्थापक एवं पूर्व निर्देशक डा. तिर्थ थापा, निर्देशक कपिल शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्