जनप्रतिनिधिले नै दिए भारतीय नागरिकलाई नेपाली नागरिकताको सिफारिस



भद्रपुर ।
भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिन लागेको घटना झापामा सार्वजनिक भएको छ । कचनकवल गाउँपालिका २ का बमबहादुर गुरुङ् र उनका श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाई दिन लागेको घटना बाहिर आएको हो ।

आवश्यक कागजात पूरा गरी बमबहादुरले आफ्नो जेठो छोरा भन्दै भूपाललाई नागरिकता बनाउन वुधबार जिल्ला प्रशासन कार्यालय झापा लगेका थिए । भूपालमाथि शंका लागेर प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुंगेलले सोधपुछ गर्दा स्थायी ठेगाना भारत भएको र भारतीय मतदाता परिचयपत्र देखाएपछि घटना सार्वजानिक भएको थियो ।

प्रशासन कार्यालयमा खटिएका प्रहरी टोलीले भारतीय नागरिक भूपाससहित बमबहादुरलाई नियन्त्रण लिएको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ३५ वर्षीय भुपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला उल्लेख छ । उनको बुबाको नाम चन्द्रबहादुर गुरुङ भएको उनको मतदाता परिचयपत्रमा उल्लेख छ । नियन्त्रणमा लिएका भूपाल र बमबहादुरलाई प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताए ।

प्रहरी अनुसन्धानको क्रममा भूपालले आफू भारतीय नागरिक भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । दुवै जनालाई किर्ते कागजात र नागरिता ऐनसम्बन्धी मुद्दा लाग्ने डिएसपी श्रेष्ठको भनाई छ ।

मुचुल्कामा जिल्ला झापा कचनकवल गापा वडा नम्बर २ बस्ने बमबहादुर गुरुङको छोरा भूपाल गुरुङको मिति २०४० साल १० महिना ७ गते यस कचनकवल गापा वडा नम्बर २ मा जन्म भएको उल्लेख छ । हालसम्म जन्म दर्ता नभएकोले जन्म दर्ता गरिदिन हुन भनि निवेदन दिएका थिए ।

सर्जिमिन मुचुल्कामा कचनकवल २ का कविदास गुरुङ, सोही ठाउँका गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहाल, वडा सदस्य धनबहादुर गुरुङ, वडा कर्मचारी खगेन्द्रप्रसाद खतिवडाले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । बमबहादुर र चन्द्रकलाले छोरा भुपाल भन्दै वंशजको नाताले नेपाली नागरिकता प्रमाणपत्र दिएमा फरक नपर्ने भनी वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव र स्थानीय पाँच जनाले सही छाप गरेको देखिन्छ ।

मुचुल्कामा स्थानीयवासी कचनकवल २ बस्ने कविता गुरुङ, गङ्गाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना र शिवकुमार दाहालले नागरिकता नम्बर राखेर सही छाप गरेको छ । उनीहरूले सही छाप गरेको मुचुल्काको रोहवरमा वडा सदस्य धनबहादुर गुरुङ बसेका छन् । वडा अध्यक्ष मेखबहादुर भट्टराईले हस्ताक्षर गरेको मुचुल्का पत्रलाई कानुनी मान्यता दिन वडा सचिव हरिप्रसाद गौतमको सही छाप लागेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्